क्षति न्यूनीकरण गर्न सूचना दिने व्यक्ति खटाइने

वर्षायाम सुरु भएसंँगै म्याग्दीका मुख्य नदीहरूको अवस्थाबारे जानकारी गराउने सम्पर्क व्यक्ति खटाउने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालयमा आयोजित जिल्ला विपद् ब्यवस्थापन समिति एवम् सरोकारवाला निकायको बैठकले विपद् जोखिमका दृष्टिले उच्च सम्भाव्यता रहेका क्षेत्रमा विशेष निगरानीसहित पूर्वतयारी गराउन वर्षायाममा नदीको अवस्था जानकारी गराउने व्यक्ति राख्ने निर्णय गरेको हो ।
प्राकृतिक विपत्तिबाट उच्च जोखिममा रहेकालाई सुरक्षित स्थानमा सार्ने, जिल्लाका ६ वटै स्थानीय तहले कालिगण्डकी, म्याग्दी र रघुगंगा नदी तटका बस्तीलाई बाढीबाट हुने धनजनको क्षति न्यूनीकरण गर्न सहज हुने गरी सम्पर्क व्यक्ति खटाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले जानकारी दिए । नदीको तटीय क्षेत्रको अवस्था नियमित जानकारी गराउन अन्नपूर्णले दाना, रघुगंगाले चिमखोला, बेनीले गलेश्वर, मंगलाले बाबियाचौर, मालिकाले दरवाङ र धवलागिरिले मुना र मुदीमा सम्पर्क व्यक्ति राख्ने भएको छ ।

बैठकमा जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसी, बेनी नगरका मेयर सुरत केसी, रघुगंगाका अध्यक्ष भवबहादुर भण्डारी, अन्नपूर्णका अध्यक्ष भरत पुन, मंगालाका अध्यक्ष सतप्रसाद रोका, मालिका अध्यक्ष बेगप्रसाद गर्वुजा, धवलागिरिका अध्यक्ष प्रेम पुन र राजनीतिक दलका प्रतिनिधिको उपस्थिति थियो । सदरमुकाम बेनी बजारसहित जिल्लाका ४५ वडामध्ये २९ वटा वडा बाढीपहिरोको उच्च जोखिममा छन् ।
नदीको तटीय क्षेत्रमा रहेका बस्ती अन्नपूर्णको दाना, भुरुङतातोपानी, तिपल्याङ, गलेश्वर सदरमुकाम बेनी, सिंगातातोपानी बाबियाचौर, दरवाङलगायतका बस्ती नदी कटानको उच्च जोखिममा छन् । नदी कटानबाट जनधनको क्षति न्यूनीकरण गर्न वर्षायाममा नदीको बहाव जानकारी दिने व्यक्ति स्थानीय तहले खटाउने छन् ।