बूढीगण्डकी प्रभावितले बैंकको मुआब्जा रकम झिक्न पाएनन्

बूढीगण्डकी जलविद्युत आयोजना प्रभावितले बैंकहरूले मुआब्जा रकम झिक्न नदिएको गुनासो गरेका छन् ।
पछिल्लो समय आयोजनाले डुबान क्षेत्रका बासिन्दालाई दिएको घर, गोठ, संरचना र बोटबिरुवाको मुआब्जा रकम आफूहरूले बैंकबाट झिक्न नपाएको उनीहरूको गुनासो छ । बूढीगण्डकी वातावरण, मुआब्जा, पुनर्वास तथा पुनस्थापना इकाईले प्रभावितको बैंक खातामा रकम पठाएको १५ दिन भइसक्दा पनि बैंकले रकम झिक्न नदिएको डुवानबासीले गुनासो गरेका छन् ।
बूढीगण्डकी जलविद्युत आयोजना राष्ट्रिय सरोकार समितिले सोमबार एक विज्ञप्ति जारी गरी बैंकहरूले मुआब्जा रकम खाताबाट झिक्न नदिएकोमा आपत्ति जनाएको हो । आफ्नो खातामा आएको मुआब्जा रकम प्रयोग गर्न दिनबाट वञ्चित गर्ने बैंकहरूको यस कार्यकोे समितिका संयोजक हरेराम ढकालले भत्र्सना गरेका छन् ।

प्रभावितको आफ्नो खातामा आएको रकम झिक्न नपाउनाले कार्यालयका जिम्मेवार व्यक्ति र बैंकका कर्मचारीको मिलेमतोमा कमिसनको खेल हुनसक्ने उनको आशंका छ । विज्ञप्तिमार्फत उनले डुबानबासीलाई आफ्नो खातामा आएको मुआब्जा आफ्नो चाहनाअनुसार प्रयोग गर्न दिन आग्रह गरेका छन् । डुबानबासीलाई आफ्नो घर, गोठ, संरचना र बोटबिरुवाको मुआब्जा दररेट थाहा दिन र यदि घर, गोठ, संरचना र बोटबिरुवाको मुआब्जा दिन छुटेको भए मुआब्जा पाउने सुनिश्चित गर्न पनि सरोरकार समितिले माग गरेको छ ।
“मुआब्जा नपाउनेहरूले छिटो पाउनु र मुआब्जा पाएकाले आफ्नो घर, गोठ, संरचना र बोटबिरुवाको के कति दररेटअनुसार कति मुआब्जा पाएको हो भनी थाहा पाउनु डुबानबासीको अधिकार हो,” सरोरकार समितिका संयोजक ढकालले भने, “बूढीगण्डकी मुआब्जा, वातावरण, पुनर्वास तथा पुनःस्थापना इकाईले डुवानबासीलाई आफ्नो घर गोठ, संरचना र बोटबिरुवाको के कति दररेटमा कति मुआब्जा दिएको हो भनी जानकारी दिन अस्वीकार गरेको छ । यो गैरजिम्मेवारीपन हो । मुआब्जा दिने क्रममा आफ्नो घर, गोठ, संरचना र बोटविरुवा छुटपुट भएको अवस्थामा पनि डुबानबासीलाई चुप बस्न बाध्य पारिएको छ ।”
डुबानबासीलाई आफ्नो घर, गोठ, संरचना र बोटबिरुवाको मुआब्जा दररेट थाहा दिन र यदि घर, गोठ, संरचना र बोटबिरुवाको मुआब्जा दिन छुटेको भए मुआब्जा पाउने सुनिश्चित गर्न पनि सरोकार समितिले माग गरेको छ । डुबान क्षेत्रका बासिन्दाको जायज माग र गुनासोलाई बेवास्ता नगर्न सरोकार समितिले आयोजनाको ध्यानाकर्षण गराएको छ ।