निःशुल्क स्वास्थ्य शिविरले वृद्धवृद्धा खुसी «

निःशुल्क स्वास्थ्य शिविरले वृद्धवृद्धा खुसी

शनिबार बिहानीको चर्को घाम लागिरहेको थियो । वरपरको वातावरण देख्दा चिकित्सक तथा स्वयम्सेविकाहरू आ–आफ्नो जिम्मेवारी निर्वाह गरिरहेका देखिन्थे । कोही टेबुलमा नाम दर्ताका लागि रजिस्टर गरिरहेका थिए भने कोही स्वयम्सेविकाहरू आफ्ना सम्पूर्ण स्वास्थ्य सामग्री सम्बन्धित चिकित्सकहरूको विभागमा पु¥याउँदै गरेका देखिन्थे । तर, केही वृद्धवृद्धाहरू छेउमा नै टुसुक्क आफ्नो पालो कुरिरहेर बसिरहेका थिए भने स्थानीय मानिसहरूको पनि चहलपहल बाक्लिँदै गइरहेको थियो ।
यो हो काठमाडौंको कागेश्वरी मनोहरास्थित वडा नम्बर ९ स्थित तुलसीमेहेर महिला आश्रम, काँडाघारीमा शनिबार देखिएको दृश्य । यहाँ कागेश्वरी मनोहरा नगरपालिकाको आयोजनामा मेयर ज्येष्ठ नागरिक निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको थियो । यो कागेश्वरी मनोहरा नगरपालिकाको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालनमा भएको हो । कागेश्वरी मनोहरा नगरपालिकाभित्र बसोबास गर्ने आमनागरिकलाई घरदैलोमा विशेष स्वास्थ्यसेवा दिने उद्देश्यले शिविरको आयोजना गरिएको कागेश्वरी मनोहरा नगरपालिका प्रमुख उपेन्द्र कार्कीले बताउनुभयो ।
हरेक शनिबार सञ्चालन हुने यो शिविरमा अप्रेसनबाहेकका विशेषज्ञ सेवा प्रदान गरिने भएको छ । उक्त शिविरमा औषधि व्यवसायी माधव गौतमले पनि ४ लाखबराबरको स्वास्थ्य सामग्रीसमेत सहयोग गर्नुभएको थियो । शिविरमा मुटुरोग, छाती रोग, रेडियोलोजिस्ट, हाड तथा जोर्नी, स्त्रीरोग, फिजिसियन, जनरल फिजिसियन, दाँत र आँखा रोगसम्बन्धी विशेषज्ञले सेवा दिने कागेश्वरी मनोहरा नगरपालिकाले जनाएको छ । शनिबार मात्रै २ सय जनाभन्दा बढी वृद्धवृद्धा तथा ज्येष्ठ नागरिकहरूले निःशुल्क स्वास्थ्य सेवा लिएको स्वास्थ्य अधिकृत लक्ष्मी कोइरालाले जानकारी दिनुभयो । स्वास्थ्य शिविरवरपरको माहोल देख्दा साँच्चै नै धेरै वृद्धवृद्धाहरू लाभान्वित भएका देखिन्थे भने सबै वृद्धवृद्धाको मुहारमा खुसीसमेत देखिएको थियो । सबै जना अनुशासित भएर रोलैक्रमले क्रमबद्ध रूपमा पालैपालो सेवा लिइरहेका देखिन्थे ।
कागेश्वरी मनोहरा वडा नम्बर ९ निवासी एक वृद्धाले भन्नुभयो, “हामी कुनै रोग लागेर अस्पताल जाँदा निकै खर्च हुने र कुनै रोगको लक्षण देखा परेमात्र अस्पताल धाउने चलनले गर्दा आज धेरै वृद्धवृद्धा असहायहरू रोगको सिकार हुनुपरेको छ । आज हाम्रै दैलोमा निःशुल्क रूपमा आफूले आफ्नो स्वास्थ्य परीक्षण गर्न पाउँदा निकै खुसी लागेको छ र आवश्यक परेमा केही वृद्धवृद्धालाई औषधिसमेत दिएर पठाएका छन् । सबैको मुहारमा खुसीसमेत देखिएको छ । पुण्य कमाउन धर्मकर्म गर्नै पर्दैन । यसरी नै स्वस्थ्यमा चासो राख्दै जाने हो भने यही नै हो पुण्य । हामी वृद्धवृद्धालाई स्वास्थ्यसम्बन्धी यति राम्रो चासो राख्ने, पुण्य कमाउने ।” यसै नगरका नगर प्रमुख उपेन्द्र कार्कीलाई विशेष धन्यवाद दिनुभयो, मुलुकभित्रका सम्पूर्ण स्थानीय पालिका, जहाँ दुर्गम ठाउँहरूमा पनि यसैगरी निःशुल्क शिविर सञ्चालनमा आए धेरै वृद्ध बाआमा रोगले थला पर्ने अवस्था आउँदैनथ्यो । सबै जनाले स्वास्थ्य परीक्षण गर्ने अवसर पाउँथे ।
शिविरमा कागेश्वरी मनोहरा नगरपालिकाको स्वास्थ्य टोली, विभिन्न रोगको विशेषज्ञ चिकित्सक, स्थानीय जनप्रतिनिधि, स्थानीय बासिन्दाहरूको पनि उल्लेख्य उपस्थिति रहेको थियो भने धेरै अशक्त, असहाय वृद्ध बाआमाहरूलाई बिस्तारै शिविरसम्म ल्याउनका लागि आ–आफ्नो परिवारका सदस्यहरूले समेत सहयोग गरिरहेका देखिन्थे । हो, यसरी नै अब मुलुकका धेरै दुर्गम ठाउँमा राज्यले स्थानीय निकायलाई पूर्ण रूपमा सहयोग गरी हप्तैपिच्छे वृद्ध बाआमाहरूलाई निःशुल्क स्वास्थ्य शिविरको व्यवस्था गर्नु जरुरी देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्