हुन्डी कारोबारमा कडाइ गर «

हुन्डी कारोबारमा कडाइ गर

कोरोना कहरमा घटेको वैदेशिक रोजगारीमा जाने नेपाली युवाको संख्या बिस्तारै बढ्दै छ । चालू आर्थिक वर्षको जेठ मसान्तसम्ममा श्रमस्वीकृति लिएर विदेश जाने श्रमिकको संख्या ५ लाख ५५ हजार पुगेको छ । यसरी हेर्दा श्रमस्वीकृति लिनेको संख्या आर्थिक वर्ष २०७४-०७५ पछिको सबैभन्दा बढी हो भने गत वर्षको जेठ मसान्तसम्मको भन्दा तेब्बर बढी हो । हुन त गत वर्ष कोरोना कहरकै बीच वैदेशिक रोजगारीको माग बढेको थिएन । त्यसैले ठ्याक्कै तुलना गर्न त मिल्दैन, तर पनि गत वर्षको जेठ मसान्तसम्ममा १ लाख ४६ हजार युवाले विदेशमा रोजगारीमा जान श्रमस्वीकृति लिएका थिए । त्यसमध्ये कति गए तथा कति कोरोना कहरका कारण रोकिए । तर, पछिल्लो एक वर्षमा कोभिड खोपको पहँुच र स्वास्थ्य मापदण्डमा आएको सुधारका कारण कोरोना संक्रमण मत्थर नभए तापनि नेपालबाट वैदेशिक रोजगारीमा जाने युवाको संख्या उल्लेख्य वृद्धि भएको छ । चालू आर्थिक वर्षको सुरुमा वैदेशिक रोजगारीमा जाने युवाको संख्या खासै वृद्धि भएका थिएन । तर, चालू आर्थिक वर्षको छैटौं महिनासम्ममा आइपुग्दा वैदेशिक रोजगारीका लागि श्रमस्वीकृति लिने युवाको संख्या ह्वात्तै बढेको देखिन्छ र उक्त संख्या केही घटेर जेठतिर आयपुग्दा पुनः बढेको छ । कोरोना संक्रमणको तेस्रो लहरपछि चालू आर्थिक वर्षको चैतमा नै सबैभन्दा बढी युवाले श्रमस्वीकृति लिएको पाइएको छ । किनकि चालू आर्थिक वर्षको साउन महिनामा २३ हजार ३७ ले विदेश जान श्रमस्वीकृति लिएकोमा उक्त संख्या चैतमा ५२ हजार पुगेको थियो । त्यसयता कोरोना कहरका कारण घटेको वैदेशिक रोजगारीमा जाने श्रमस्वीकृति फेरि बढेको छ । श्रमस्वीकृति चालू आवको ११ महिनासम्म आउँदा पाँच वर्षयताकै उच्च देखिँदा उनीहरूबाट आउने रेमिट्यान्स आय पनि वृद्धि हुनुपर्ने हो । तर, सरकारको तदारूकतामा कमी तथा केन्द्रीय बैंक तथा प्रहरी प्रशासनको चुस्ततामा कमी आएका कारण चालू आर्थिक वर्षको पछिल्ला महिनामा रेमिट्यान्स आय उल्लेख्य रूपमा बढ्न सकेको छैन ।
कोरोनाविरुद्धको खोप सहज व्यवस्थापन भएपछि श्रमस्वीकृति लिने युवाको संख्या नघट्दा रेमिट्यान्स आय बढ्नुपर्नेमा नबढेका कारण बिटक्वाइन वा अन्य कारणभन्दा पनि पछिल्लो समय हुन्डी नै हो । किनकि पुनः कोरोनाको तेस्रो लहर सुरु भएपछि पनि आघिल्लो पहिलो तथा दोस्रो लहरमा भन्दा पनि श्रमस्वीकृति लिनेको संख्या उल्लेख्य घटेको थिएन । श्रमस्वीकृति लिनेको संख्या माघ र फागुनमा भने सामान्य मात्र घटेको पाइएको थियो । कोरोनाको तेस्रो लहरमा कतिपय रोजगारदाताले नेपाल पठाएको मागपत्र रद्द गरेका कारण बीचमा श्रमस्वीकृतिको संख्या घटेको भए तापनि अघिल्ला वर्षहरूमा भन्दा बढी नै थियो । त्यसमाथि जेठ महिनामा भने श्रमस्वीकृति लिनेको संख्या वैशाखको तुलनामा बढेको छ । वैशाखमा ४५ हजार रहेको श्रमस्वीकृति संख्या जेठमा ५७ हजार पुगेको छ । त्यसैले सरकारले रेमिट्यान्स आय किन घटिरहेको छ र यसको समाधान के हो भनेर खोज्नुपर्ने आवश्यकता छ । यसअघि विभिन्न कारणले रेमिट्यान्स आय मुलुकबाहिरै रहेको मानिए तापनि पछिल्लो समय विश्व बजारमा आएको मन्दी तथा बिटक्वाइनजस्ता भर्चुअल कारोबारमा ठूलो गिरावट आएका कारण रेमिट्यान्स आय नेपालतिरै फर्कनुपर्ने हो । तर, नेपाल राष्ट्र बैंकको तथ्यांकअनुुसार चालू आर्थिक वर्षको दसौं महिनामा आइपुग्दा नवौं महिनाको भन्दा कम रेमिट्यान्स आएको छ । चालू आर्थिक वर्षको नवौं महिनामा करिब ९४ अर्ब भित्रिएको रेमिट्यान्स दसौं महिनामा ८७ अर्बमात्र भित्रिएको छ । राष्ट्र बैंकको तथ्यांकअनुसार वैशाखसम्ममा कुल रेमिट्यान्स आय ८ खर्ब ११ अर्ब ७९ करोड पुगेको छ । नेपालमा विदेशी मुद्राको पहिलो तथा प्रमुख स्रोत रेमिट्यान्स आय भएको कारण यसको वृद्धिदर घट्नासाथ विदेशी मुद्रा सञ्चितिमा दबाब परेको छ, जसका कारण सरकार तथा केन्द्रीय बैंकले विभिन्न वस्तुको आयातमा निषेध तथा कडाइ गरेको छ । चालू आर्थिक वर्षको अन्त्यसम्म अर्थात् असार मसान्तसम्मका लागि वस्तु आयातमा कडाइ तथा निषेध गर्दा पनि अझै आयातको वृद्धिदर रोकिएको छैन, जसका कारण विदेशी मुद्रा सञ्चितिमा दबाब बढ्दो छ । त्यसैले यसको उपाय भनेको हुन्डीमा कडाइ नै हो ।

प्रतिक्रिया दिनुहोस्