ठूला सूचना प्रविधिमा लगानी ल्याउन आवश्यक : भट्ट «

ठूला सूचना प्रविधिमा लगानी ल्याउन आवश्यक : भट्ट

लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले सूचनाप्र विधि उद्योगका लागि वातावरण बनाउन नीतिगत पैरवी गरिदिने बताएका छन् ।
आईसीटी फाउण्डेसन नेपालले आयोजना गरेको डिजिटल नेपाल कन्क्लेभमा भट्टले लगानी बोर्ड शक्तिशाली संस्था भएको आधारमा पैरवी गरिदिने बताएका हुन् । आगामी आर्थिक वर्षको बजेटमा प्रत्यक्ष वैदेशिक लगानीको न्युनतम क्यापलाई ५ करोडबाट घटाएको सन्दर्भ जोड्दै लगानीको क्षेत्रमा पनि सरकारको नीति सही दिशातिर अगाडि बढिरहेको उनले बताए ।
यसैगरी सूचना प्रविधि क्षेत्रका लागि प्रतिकूल वातावरण र नीतिलाई सुधार गर्न आफ्नो संस्थाले पैरवी गरिदिने उनले बताए ।
“लगानी बोर्ड शक्तिशाली एजेन्सी हो । तपाईहरू छलफल गर्नुस्, अन्तरक्रिया गर्नुस् । यो दुई दिने कन्क्लेभको उद्देश्य पनि यही हो नि ?” उनले भने, “सूचना मन्त्रालयले गरेन या उद्योग विभागले गरेन या विज्ञान मन्त्रालयले गरिदिएन । कसैले नगरे हामी गरिदिन्छौँ । तर हामीलाई कन्भिन्सचाहिँ गर्नुहोस् । पर्याप्त छलफल, अध्ययन गर्नुहोस् ।”

प्रोजेक्ट आईडिया नोटको टेम्प्लेट आफूहरूले दिन सक्ने उनले बताए । सूचना प्रविधि क्षेत्रमा राम्रो अवसर भएकाले विदेशी तथा स्वदेशी लगानीकर्ता भित्र्याउन पहलकदमी भइरहेको बताए ।
“नेपालमा सूचना प्रविधि क्षेत्रमा लगानी भित्र्याउनका लागि हामीले पहलकदमी गरिरहेका छौँ”, उनले भने, “अबको भविष्य नै आइटी क्षेत्र भएकाले सबै मिलेर अघि बढ्नुपर्ने बेला भइसकेको छ ।”
लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत भट्टले सूचना प्रविधिको मात्रै विकास नगरेर अन्य पूर्वाधार पनि सँगसँगै अघि बढाउनुपर्ने बताए । उनले नेपालमा ठूला सूचना प्रविधिमा लगानी ल्याउनका लगानी बोर्डले सहयोग, सहजीकरण, समन्वय र सहकार्य गर्ने बताए ।
सूचना प्रविधिबारे अझै बुझ्न डिजिटल नेपाल कन्क्लेभमा सहभागी भएको उनले बताए । आईटीलाई उद्योगको रूपमा घोषित गर्नुपर्ने उनको भनाइ छ ।
“विश्व बैंकले शुक्रबार डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयनका लागि सहयोग गर्ने समाचार आएको छ । यसले ब्रोडब्याण्डको पहुँच गाउँगाउँमा पुर्‍याउँछ” उनले भने ।
एकद्वार प्रणाली वेबमा आधारित हुनुपर्ने उनले बताए । सरकारमा केही भएन भन्ने नभन्न समेत उनले आग्रह गरे । परियोजना लिएर बोर्डमा छलफल गर्न समेत आउन समेत उनले निम्तो दिए ।

प्रतिक्रिया दिनुहोस्