छात्रछात्राको शिक्षाका लागि राउन्ड टेबलको २० लाख सहयोग «

छात्रछात्राको शिक्षाका लागि राउन्ड टेबलको २० लाख सहयोग

गैरनाफामूलक संस्था राउण्ड टेबल नेपालले विद्यार्थीका लागि २० लाख रुपैयाँ सहयोग गरेको छ ।
संस्थाले धनगढीका दुई स्कुलका १८९ विद्यार्थीको वार्षिक ट्युसन शुल्क व्यहोर्ने भएको हो । कञ्चनपुरको पुनर्वासमा रहेको श्रीपशुपति शिक्षा मन्दिर र श्रीपशुपारि शिक्षा मन्दिर बेरुलीका विद्यार्थीको शिक्षामा कम्पनीले सघाउने भएको हो ।
यी विद्यार्थीहरु नर्सरीदेखि आठ कक्षासम्मका रहेका छन् । तीमध्ये कतिपय विद्यार्थीलाई परिवारले आर्थिक अभावका कारण विद्यालयबाट निकालेका छन् । यसअघि गत वर्ष पनि राउन्ड टेबल नेपालले घरपरिवारविहीन सय विद्यार्थीलाई शिक्षामा सहयोग गरेको थियो । संस्थाले सार्वजनिक विद्यालयको पूर्वाधार सुधारमा पनि सघाउँदै आएको जनाएको छ ।

उक्त संस्थाले देशका विभिन्न जिल्लाहरुमा शिक्षा र स्वास्थ्य क्षेत्रमा सामाजिक काम गरिरहेको छ । अहिलेसम्म राउण्ड टेबल नेपालले ३७३ कोठासहित ४० वटा शौचालय ५८ वटा विद्यालय र अनाथालयमा निर्माण गरिसकेको छ । राउण्ड टेबल इन्टरनेशनलसँग आवद्ध सन् १९९९ मा स्थापना भएको राउण्ड टेबल नेपाल, नेपालभर अहिलेसम्म ३२ च्याप्टरमा कुल ५१३ सदस्य रहेका छन् ।
१८ देखि ४० वर्ष उमेर समूहका युवाहरु मात्रै सक्रिय रहन पाउने यो संस्थाले राष्ट्रिय परियोजना सञ्चालन गरिरहेको छ । संस्थाले शिक्षा क्षेत्रमा देशको कुनै पनि स्थानमा विद्यालय सञ्चालन गर्न आवश्यक भौतिक पूर्वाधार (समग्र विद्यालाय भवन) देखि आवश्यकता अनुसार शिक्षा सामग्री, कम्प्युटर, लाइब्रेरी र ल्याब निर्माण गर्दै आएको छ ।
कक्षा १२ सम्म पढाइ हुने विद्यालय निर्माण गरेका छन् भने सो निर्माणमा अहिलेसम्ममा २५ करोड रुपैयाँभन्दा बढी खर्च गरिसकेको राउण्ड टेबल नेपालले जनाएको छ । शिक्षा क्षेत्रसँगै संस्थाले स्वास्थ्य क्षेत्रमा पनि काम गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्