अर्घाखाँचीका विद्यार्थी गुल्मीमा «

अर्घाखाँचीका विद्यार्थी गुल्मीमा

अर्घाखाँचीको छत्रदेव गाउँपालिकाले गतवर्ष शिक्षामा सुधार गर्नका लागि सबै विद्यालयमा कक्षा १ बाट अंग्रेजी माध्यमबाट पढाइ सुरु ग¥यो । तर अंग्रेजी माध्यम सुरु गरेको एक वर्षको समयमा नै छत्रदेवका विद्यार्थी गुल्मीको तम्घास जान लागेका छन् । सरकारी विद्यालयमा राम्रो छवी बनाएको गुल्मीको तम्घासमा रहेको महेन्द्र माविले अर्घाखाँचीका विद्यार्थी तानेको छ । अर्घाखाँचीको छत्रदेव गाउँपालिकाको भगवती र अर्घातोषका विद्यार्थी राम्रो शिक्षा पाइन्छ भनेर महेन्द्र माविमा जान लागेका हुन् ।
स्थानीयले अर्घाखाँचीका विद्यार्थी तम्घास लगेको बताएका छन् । जिल्लाभित्र रहेका विद्यालयमा गुणस्तरीय शिक्षा नभएका कारण विद्यार्थीहरू तम्घास जाँदा पनि सुधार गर्न ध्यान नगएको स्थानीय सरोकारवालाको बुझाइ छ ।
महेन्द्र माविका प्रअ केशरबहादुर थापा भन्छन्, “न्यूनतम लागतमा बस सञ्चालन गरेका छौँ, दुई वटा बस भरिभराउ हुन्छन् । कोठाभाडा लिएर तम्घासमा बसेका विद्यार्थीलाई सहज गराउने गरी घरबाटै आउन जानसक्ने गरी बस सञ्चालन गरेका हौँ । बस सञ्चालन भएपछि थप विद्यार्थी विद्यालयतर्फ आकर्षण हुनु स्वाभाविक हो । सामुदायिक विद्यालयको आवाज बुलन्द गर्नका लागि बालमैत्री शिक्षा दिएको प्रअ थापाको भनाइ छ । कक्षा १० सम्म ८०० विद्यार्थी रहेको विद्यालयले गुणस्तरमा बोर्डिङ स्कुलसँग प्रतिस्पर्धा गरेको छ । यहाँ ६० जना शिक्षक कर्मचारी कार्यरत छन् । कक्षा १ बाटै अंग्रेजी माध्यममा पढाइ भएको र सरकारी शिक्षकबाटै व्यवस्थापन गरेको प्रअ थापाले बताए ।
अर्घाखाँचीका विद्यार्थीहरू तम्घास लगेपछि कतिपय आधारभूत विद्यालयमा विद्यार्थीहरू कम हुँदै गएका छन् । शिक्षा समन्वय तथा इकाई प्रमुख मणिराम पराजुली भन्छन्, “विद्यार्थीको स्वतन्त्र अधिकार हो, पढ्न पाउने अधिकार सबैलाई छ ।”
विद्यार्थीले जहाँ गएर पनि अध्ययन गर्न पाउँछन् । हामी सिन्डीकेटको विरोधी हौँ, आकर्षण गरेर विद्यार्थी लैजानु स्वाभाविक हो । महेन्द्र माविलाई टक्कर दिने गरी गाउँपालिका प्रतिस्पर्धामा उत्रिने छत्रदेव गाउँपालिका अध्यक्ष लेखनाथ पोख्रेलले बताए । उनले भने, “शिक्षकहरूलाई तालिम दिने, गत वर्षबाट सुुरु गरेको अंग्रेजी माध्यम यसवर्ष कक्षा २ सम्म लगेका छौँ । गाउँपालिकाभित्र रहेका सबै सरकारी विद्यालयमा अंग्रेजी माध्यममा पढाइ सुरु गरेको पोख्रेलले बताए । बालकक्षामा पढ्ने विद्यार्थीलाई बालमैत्री रूपमा निःशुल्क रूपमा पुस्तक वितरण गरेको, शिक्षकलाई साप्ताहिक कार्यक्रममा सहभागी बनाएको, तालिमहरू सञ्चालन गरेको उनले बताए ।
उनले छत्रदेव गाउँपालिकाले शिक्षालाई सुधार गरी विद्यार्थीलाई तम्घास जान नपर्ने गरी कार्ययोजना बनाएर अगाडि बढ्ने बताए । भगवती र अर्घातोषका विद्यार्थी तम्घास जानुमा पनि व्यापार, व्यवसाय, पेशा गर्नका लागि अभिभावक तम्घासमै बस्ने हँुदा विद्यार्थी जानु स्वाभाविक भएको पोख्रेलको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्