काठमाडौंमा राष्ट्रिय परिचयपत्र वितरण सुरु
सरकारले १ असारदेखि देशैभर मतदाता नामावली संकलन र राष्ट्रिय परिचयपत्र वितरण गरेको छ ।
निर्वाचन आयोगले संघ र प्रदेश निर्वाचनलाई लक्षित गरी मतदाता नामावली संकलन सुरु गरेको छ भने मतदाता नामावलीसँगै राष्ट्रिय परिचयपत्र वितरण पनि सुरु गरेको हो । सरकारले परिचयपत्र वितरण सुरु गरे पनि सेवा लिन आउने जनताले भने सहज नभएको भन्दै गुनासो गरेका छन् ।
काठमाडौं महानगरपालिकाभित्रका नागरिकका लागि राष्ट्रिय सभागृहमा राष्ट्रिय परिचयपत्र बनाउने व्यवस्था गरको छ । परिचयपत्र बनाउनका लागि सर्वसाधरणहरू बिहान ४ बजेदेखि लाइनमा बसे पनि बेलुका चार बजेसम्म पालो नआएको काठमाडौ महानगरपालिका–२ का जगतमोहन श्रेष्ठले बताए । उनले अनलाइन फर्म भरेर आएपछि फोटो खिच्ने काम भए पनि धेरै समय लागेको बताए । श्रेष्ठले सरकारले नागरिकता र राष्ट्रिय परिचयपत्र एउटै काम गर्ने भए नागरिकता र परिचयपत्र दुवै काम नभएको भन्दै राष्ट्रिय परिचयपत्र खारेज गर्नुपर्ने बताए ।
अर्का सर्वसाधारण हिमबहादुर बोहोराले जिल्ला प्रशासन कार्यालयले सभागृहमा पठाए पनि सभागृहमा तुरुन्त काम नहुने बताए । उनले आफ्नो छोरीको समेत राष्ट्रिय परिचयपत्र बनाउन लागेको बताए । बोहोराले बिहानदेखि लाइन बसियो तर पालो आएपछि कर्मचारीले आज तपाईंको काम नहुने भो भनेपछि फर्किन लागेको बताए । उनले छोरी विदेश पढ्न जानका लागि नागरिकताले मात्रै राहदानी नबन्ने भएकाले राष्ट्रिय परिचयपत्र बनाउन आएको बताए ।
बोहोराले स्थानीय निकायको निर्वाचनमा सबै काम वडाबाट नै गर्छाैं भन्ने तर अहिले सभागृह जानु भनेर निर्देशन दिनु राम्रो नभएको बताए ।