ऊर्जा र जलस्रोतलाई १ खर्ब १५ अर्ब सिलिङ «

ऊर्जा र जलस्रोतलाई १ खर्ब १५ अर्ब सिलिङ

सरकारले आगामी आर्थिक बर्ष २०७६÷०७७ का लागि ऊर्जा र जलस्रोतका लागि १ खर्ब १५ अर्ब ३५ करोड ९३ लाख बराबरको बजेट सिलिङ दिएको छ । १४ खर्ब ९३ अर्ब बराबरको बजेटको सिलिङ प्रस्ताव गरेको सरकारले त्यसको झन्डै १० प्रतिशत बराबरको बजेट ऊर्जा तथा सिँचाइ क्षेत्रका लागि सिलिङ दिएको हो । सबै विकासका लागि ऊर्जालाई आधारभूत वस्तुको रुपमा विकास गर्ने तथा सिँचाइ पु¥याएर उत्पादन वृद्धि गर्ने लक्ष्य सरकारले राखेपनि तुलनात्मक रुपमा बजेटको सिलिङ भने कम हो । चालु बर्षमा सरकारले १ खर्ब १० अर्ब बराबर ऊर्जा तथा सिँचाइ क्षेत्रका लागि छुट्याएको छ ।
सरकारले आगामी आर्थिक बर्षका लागि ऊर्जातर्फ ८८ अर्ब ४५ करोड ५ लाख तथा जलस्रोतर्फ २६ अर्ब १३ करोड ३७ लाख रुपैयाँ बजेटको सिलिङ तोकेको छ । चालु बर्षमा ऊर्जातर्फ ८३ अर्ब ८९ करोड ५२ लाख बजेट छुट्याएको थियो भने सिँचाइतर्फ झण्डै २६ अर्ब थियो ।
मन्त्रालयका अनुसार ऊर्जातर्फ नेपाल विद्युत् प्राधिकरणका लागि वित्तियतर्फ ५९ अर्ब १० करोड ७२ लाख प्रस्ताव गरिएको छ भने बूढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजनाका लागि १८ अर्ब १० करोड सिलिङ तोकिएको छ । आयोजनाका प्रभावितहरूलाई मुआब्जा वितरणका लागि सो रकम प्रस्ताव गरिएको हो । त्यसैगरी वैकल्पिक ऊर्जाका लागि ३ अर्ब ५१ करोड ३ लाख, जलविद्युत् लगानी तथा विकास कम्पनीका लागि १ अर्ब ६१ करोड २० लाख, जलविद्युत् उत्पादन कम्पनीका लागि ५० करोड र ग्रीड कम्पनीलाई ५० करोड सिलिङ तोकिएको छ ।
विद्युत् विकास दशकका लागि २१ करोड ७२ लाख, जनताको जलविद्युत् कार्यक्रमका लागि वित्तियतर्फ ४ अर्ब ३३ करोड तथा चालूतर्फ १ करोड ९९ लाख बजेटको सिलिङ प्रस्ताव गरिएको छ । त्यसैगरी, विद्युत् विकास विभागलाई ३ अर्ब ७८ करोड २ लाख, जल तथा ऊर्जा आयोगलाई ४८ करोड ९१ लाख बजेट सिलिङ प्रस्ताव गरिएको हो । विद्युत् विकास विभागले बूढीगंगा जलविद्युत् आयोजना निर्माण गर्न लागेकोले सो आयोजनाका लागि समेत प्रस्ताव गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्