Logo

स्थानीय तहले चलाए डोजर आंतक

जिल्लाका अधिकांश स्थानीय तहले वातावरणीय मूल्यांकन र कार्यविधि बिना नै डोजर लगाएर विकास निर्माणका कार्य गर्न थालेका छन् । स्थानीय तहहरूले सडक निर्माण, फिल्ड निर्माण र अन्य विकास निर्माणका काममा डोजर लगाउने गरेका हुन् ।
कालिकोटमा रहेका ६ गाउँपालिका र ३ वटा नगरपालिकामध्ये अधिकांश गाउँपालिका र नगरपालिकामा सडकलगायतका भौतिक पूर्वाधारका काममा डोजर प्रयोग भइरहेको पत्रकार पवित्रकुमार शाहीले बताए । “स्थानीय तहले डोजरको प्रयोग गरेर विकास निर्माणकार्यमा तीव्रता दिएका छन्,” उनले भने, “यसरी डोजर प्रयोग गर्दा कार्यविधि बनाएको पाइएको छैन ।”

कहाँकहाँ भएका छन् डोजर प्रयोग
जिल्लाको कालिका गाउँपालिकाको भर्ता सेरीघाट सडकखण्ड, तिलागुफा नगरपालिकाको चिल्खाया सडकखण्ड, रास्कोट नगरपालिका विभिन्न सडकखण्ड र खाँडाचक्र नगरपालिकाले डोजरको प्रयोग गरेका छन् । जिल्लामा कति डोजर कहाँ प्रयोग भइरहेका छन् भन्ने एकिन जानकारी कसैसँग नभए पनि स्थानीयका अनुसार ठूला ठेकेदार, राजनीतिक दलका उच्च नेताहरूले स्थानीय तहमा आफ्ना कार्यकर्तामार्फत डोजर परिचालन गरिरहेका छन् ।

 रोजगारी गुम्यो
स्थानीय तहले जथाभावी रूपमा डोजरको प्रयोग गर्दा स्थानीय तहमा आएको विकासे रकम दुरुपयोग हुनुका साथै स्थानीयको रोजगारी समेत गुमेको स्थानीयको भनाइ छ ।
सिंहदरबार गाउँगाउँमा आएपछि रोजगारीको अवसर पनि गाउँगाउँमा आउने आशा गरेका थियौं, तर गाउँगाउँमा आएको सिंहदरबार डोजरका मालिकलाई मात्र आएको रास्कोट नगरपालिका–५ का लजवीरे सुनार बताए । “काठमाडौंको सिंहदरबार गाउँगाउँमा आयो भनियो,” उनले भने, “यो सिंहदरबार दलाल र ठूलाठालुका लागि आएको रहेछ ।”

कर्णाली राजमार्ग जोखिममा
जथाभावी प्रयोग गरिएको डोजरका कारण कर्णाली राजमार्ग जोखिम परेको छ । कर्णाली राजमार्ग आसपासबाट डोजरमार्फत सडक निर्माण गर्दा आएको पहिरोका कारण कर्णाली राजमार्ग जोखिममा परेको हो ।
कर्णाली राजमार्ग आसपासमा जथाभावी डोजरको प्रयोगले गर्दा कर्णाली राजमार्गमा पहिरोले जोखिम बढ्दै गएको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ । स्थानीय तहका जनप्रतिनिधिहरूकै मिलेमतोमा डोजरको प्रयोग भए पनि स्थानीय जनप्रतिनिधि भने यसबारे बोल्न चाहेनन् ।

प्रतिक्रिया दिनुहोस्