वीरगन्ज महानगरद्वारा श्वेतपत्र जारी गर्न समिति गठन «

वीरगन्ज महानगरद्वारा श्वेतपत्र जारी गर्न समिति गठन

वीरगन्ज महानगरपालिकाले श्वेतपत्र जारी गर्नका लागि श्वेतपत्र तर्जुमा समिति गठन गरेको छ । महानगरपालिकाले डा. दीपेन्द्रकुमार चौधरीको संयोजकत्वमा नौ सदस्यीय श्वेतपत्र तर्जुमा समिति गठन गरेको हो ।
वीरगन्ज महानगरपालिकाको वास्तविक अवस्थाको जानकारी महानगरवासीलाई दिनका लागि महानगरपालिकाले श्वेतपत्र जारी गर्न लागेको हो । वीरगन्ज महानगरको आर्थिक, शैक्षिक, सामाजिक, पूर्वाधार विकास, स्वास्थ्य क्षेत्र तथा विभिन्न परियोजनाको वर्तमान अवस्थालगायत विषयलाई समेटेर श्वेतपत्र जारी हुने नगर प्रमुख राजेशमान सिंहले जानकारी दिए ।

वीरगन्ज महानगरपालिकाको श्वेतपत्र २०७९ तर्जुमा गर्नका लागि डा. चौधरीको संयोजकत्वमा संदीप रौनियार, वासुलाल कर्ण, सत्यराज घिमिरे, अरविन्दलाल कर्ण, हरिशंकर प्रसादकुर्मी, रुपनारायण राउत, रामकुमार कुश्वाहा सदस्य रहने गरी समिति गठन गरेको छ । समितिको सदस्य सचिवमा महानगरका कानुन अधिकृत इश्वर बराल रहने महानगर प्रमुख सिंहको सचिवालयले जनाएको छ ।
समितिलाई श्वेतपत्र तर्जुमा गरी सात दिनभित्र महानगरपालिकामा पेश गर्न समयसीमा तोकिएको छ । महानगरपालिकाले गरेका र बाँकी रहेका कामको अवस्था जस्ताको तस्तै आमनागरिकलाई जानकारी गराउनका लागि श्वेतपत्रले महत्वपूर्ण भूमिका खेल्ने समितिका संयोजक डा. चौधरीले बताए ।

प्रतिक्रिया दिनुहोस्