‘सुरक्षाका लागि मेलम्ची खानेपानी आयोजनाको सुरुङ बन्द’ «

‘सुरक्षाका लागि मेलम्ची खानेपानी आयोजनाको सुरुङ बन्द’

खानेपानीमन्त्री उमाकान्त चौधरीले अर्बौंको लगानीमा निर्माण गरिएको मेलम्ची खानेपानी आयोजनाको सुरुङ सुरक्षाका लागि वर्षा यामसम्ममा त्यहाँको पानी काठमाडौं उपत्यका ल्याउन बन्द गर्नुपरेको स्पष्ट पारेका छन् ।
मंगलबार प्रतिनिधिसभा बैठकमा आफ्नो मन्त्रालयअन्तर्गतको विनियोजन शीर्षकमाथि सांसदहरूले उठाएको प्रश्नको जवाफ दिने क्रममा मन्त्री चौधरीले सो स्पष्टीकरण दिएका हुन् । उनले जल तथा मौसम विभागको प्रक्षेपण, मौसमविद्हरूको सुझाव र सो स्थानमा जडित अर्लि वार्निङ सिष्टम, विज्ञबाट प्राप्त सूचना र सुझावको आधारमा सो आयोजनाको पानी काठमाडौं ल्याउन वर्षा यामसम्मका लागि बन्द गरिएको जानकारी गराए । मन्त्री चौधरीले वर्षायाम सकिनेबित्तिकै सो आयोजनाको पानी काठमाडौं ल्याउने काम सुरु हुने मन्त्रालयको योजना रहेको उनको भनाइ थियो । यस अवधिमा काठमाडौंबासीलाई पानीको अभाव हुन नदिन बागमतीबाट सुन्दरीजल पानी प्रशोधन केन्द्रमा पानी पठान्तर गर्ने, केयूकेएलअन्तर्गतका बोरिङहरूको क्षमता अभिवृद्धि गर्ने र अन्य स्रोतको उपयोग गर्ने कार्य भइरहेको उनले बताए । मन्त्री चौधरीले काठमाडौं उपत्यकाको दिगो खानेपानी व्यवस्थापनका लागि मकवानपुरको सिस्नेरी खोला, ललितपुरको ठोस्ने र भक्तपुरको महादेउ खोलाबाट काठमाडौं उपत्यकामा पानी आपूर्ति गर्न अध्ययन भइरहेको समेत बताए ।

मन्त्री चौैधरीले काठमाडौं उपत्यकाको चक्रपथभित्र खोनपानीमा सबैको सुरक्षित पहुँच पुर्‍याउनका लागि पाइपलाइन सञ्चाल विस्तारको काम भइरहेको पनि बताए । उनले स्वच्छ खानेपानीको उपयोग गर्न पाउने नागरिकको मौलिक अधिकार भएको उल्लेख गर्दै सोहीअनुसार खानेपानीको व्यवस्था गर्न सरकार प्रतिबद्ध रहेको दोहोर्‍याएका थिए ।

प्रतिक्रिया दिनुहोस्