संघीय र प्रदेशसभा निर्वाचन मंसिर पहिलो साता गर्ने तयारी

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन आउँदो कात्तिक मसान्त वा मंसिर पहिलो साता एकै चरणमा हुने गरी मिति घोषणाको तयारी भएको छ ।
नेपालको संविधान जारीपछिको दोस्रो प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको मिति घोषणाका लागि निर्वाचन आयोग र नेपाल सरकारसँग परामर्श भइरहेको छ । ती निर्वाचनका लागि लक्षित गरेर मतदाता नामावली संकलन तथा अद्यावधिक यही असार १ गतेदेखि खुला गरिएको छ । २०७४ मा भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको पाँच वर्षे अवधि मङ्सिर पहिलो साता सकिँदैछ । दुई पटकक विघटन भएर पनि सर्वाेच्च अदालतबाट पुन:स्थापित प्रतिनिधिसभाको कार्यकाल सकिने भएपछि सरकार र आयोग आवश्यक तयारीमा जुटेका छन् ।
आयोगका प्रवक्ता शालिकग्राम शर्मा पौडेलले निर्वाचनको मिति घोषणाका लागि नेपाल सरकारसँग औपचारिक र अनौपचारिक छलफल भइरहेको जानकारी दिए । उनले निर्वाचनको मिति घोषणा कम्तीमा १२० अगाडि नै हुने गरी गराउन आयोगले सरकारलाई आग्रह गरेको जनाउँदै मतदाता नमावलीमा नामावली नदोहोरिने गरी नाम दर्ता र संशोधनका लागि सम्बन्धित निर्वाचन कार्यालय र इलाका प्रशासन कार्यालयमा आवश्यक प्रबन्ध गरिएको बताए । नेपालको संविधानमा आयोगको परामर्शमा नेपाल सरकारले निर्वाचनको मिति घोषणा गर्ने व्यवस्था छ ।
मतदाता नामावली ऐन, २०७३ बमोजिम निर्वाचनको मिति घोषणा भइसकेपछि सो निर्वाचनको प्रयोजनका लागि मतदाता नामावलीमा नाम दर्ता नगरिने हुँदा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मिति निकट भविष्यमा घोषणा हुने सम्भावना रहेकाले सो घोषणा हुनुपूर्व नै मतदाता नामावलीमा नाम संकलन गर्न योग्यता पुगेका सबै नागरिकलाई आफ्नो नाम दर्ता गराउन आयोगले आग्रह गरेको छ ।

निर्वाचनमा मतदानका लागि मतदाता नामावलीमा नाम हुनु अनिवार्य भएकाले आयोगले नयाँ नाम दर्ता र अद्यावधिकका लागि पुन: समय दिएको छ । यसअघि गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचन अगाडि २०७९ वैशाख २९ गतेसम्म १८ वर्ष उमेर पुगेकाका लागि मतदानमा भाग लिन सकिने गरी सो निर्वाचनअगावै नामावली संकलन र अद्यावधिक कार्य खुला गरिएको थियो । सो निर्वाचनमा नयाँसहित एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता रहेका थिए ।
आयोगले अब हुने निर्वाचनका लागि सबै निर्वाचन कार्यालय र सबै जिल्ला प्रशासन कार्यालय एवं ७३ वटा इलाका प्रशासन कार्यालयबाट यही असार १ गतेदेखि मतदाता नामावली संकलन गर्ने, पेसा, व्यवसाय वा अन्य कुनै कारणले कुनै एक जिल्लामा बसोबास गरिरहेको नागरिकले निजको स्थायी ठेगानामा रहने गरी हाल अस्थायी बसोबास गरिरहेको जिल्लाकै निर्वाचन कार्यालय गई मतदाता नामावली दर्ता गर्नसक्ने र मतदाता नामावलीमा रहेको आफ्नो नाम, ठेगाना, जन्म मितिलगायतका विवरण सच्याउनलाई प्रमाणसहित निवेदन दिएमा नाम दर्ता अधिकारी (निर्वाचन अधिकारी) ले आवश्यक निर्णय गरी त्रुटि सच्याउने तय गरेको छ ।
आयोगका प्रवक्ता पौडेलका अनुसार कुनै मतदाताले झुट्टा विवरण दिई मतदाता नामावलीमा नाम समावेश गरेको भनी त्यस्तो नाम मतदाता नामावलीबाट हटाउनका लागि कुनै पनि व्यक्तिले प्रमाणसहित उजुरी दिएमा नाम दर्ता अधिकारीले छानबिन गरी त्यस्तो नाम हटाउने सम्बन्धमा निर्णय गर्ने, कुनै मतदाताले विवाह वा बसाइँ सरेको कारण मतदाता नामावलीमा रहेको आफ्नो ठेगाना परिवर्तन गर्न चाहेमा साविकमा नाम दर्ता भएको जिल्ला वा नाम सार्न चाहेको जिल्लाको निर्वाचन कार्यालयमा निवेदन दिन सक्नेछ । साथै निवेदन दर्ता भएको कार्यालयले प्राप्त निवेदनउपर आवश्यक निर्णय गरी अर्को जिल्लासँग सम्बन्धित भए सम्बन्धित जिल्लामा आवश्यक प्रमाणसमेत स्क्यान गरी पठाउने निर्णय भएको उनले जनाए ।