बिरामी खाना खर्च भुक्तानी नहुँदा लमजुङ अस्पतालमा समस्या «

बिरामी खाना खर्च भुक्तानी नहुँदा लमजुङ अस्पतालमा समस्या

सदरमुकाम बेसीशहरमा रहेको लमजुङ जिल्ला अस्पतालमा बिरामीको खाना खर्च बापतको रकम उपलब्ध नहुँदा समस्या भएको छ । करिब तीन वर्ष अघिदेखि जिल्ला अस्पतालमा सुरु भएको विरामीलाई निशुल्क खाना बापत चालू आर्थिक वर्षको करिव १५ लाख रुपैया पाउन बाँकी रहेको अस्पताल प्रशासनले जनाएको हो ।
गण्डकी प्रदेश स्वास्थ्य तथा जनसँख्या मन्त्रालयमार्फत पाउनुपर्ने विरामी खाना खर्च नपाउदा गत साउनदेखि उधारो खाना खुवाउदै आएको अस्पतालले जनाएको छ । अस्पतालमा भर्ना भएका विरामीका लागि नियमित रुपमा खाना खुवाउदै आए पनि चालू आर्थिक वर्ष सुरु भएदेखि हालसम्म कुनै रकम नपाएको अस्पताल प्रशासन प्रमुख हेमन्त श्रेष्ठले बताए ।
अस्पतालका अनुसार गत श्रावण महिना देखि जेष्ठको तेश्रो सातासम्म अस्पतालमा भर्ना भएका चारहजार ३ सय ५१ जना बिरामीका लागि अस्पतालले खाना खुवाएको छ । सो अवधीमा खानाको मात्रै १४ लाख ९० हजार सातसय ६८ रुपैयाँ पुगेको र हालसम्म रकम प्राप्त नहुँदा तिर्न नसकेको अस्पतालले जनाएको छ ।
प्रदेश सरकारसँग निरन्तर ताकेता गर्दा पनि रकम निकासा नभएको अस्पतालले जनाएको छ । विरामी खाना खर्च बापतको रकम उपलब्ध गराउन माग गर्दै तीन पटक सम्म पत्राचार गरिएको अस्पताल प्रमुख श्रेष्ठले बताए ।

जिल्ला अस्पतालमा भर्ना भएका विरामीलाई निशुल्क खाना खुवाउने कार्यक्रम प्रदेश सरकारको भएको र प्रदेश सरकारले सोहीअनुसार बजेट व्यवस्थापन गरेपनि रकम निकासा नभएको हो । रकम निकासा नहुँदा खाना उपलब्ध गराउदै आएका व्यक्ती निकै समस्यामा परेको अस्पताल प्रशासनले जनाएको छ । एउटै व्यक्ती करिव बर्षदिनसम्म लाखौं रुपैयाँ उधारो कारोवार गर्दा व्यसायिक समस्या भएको हो ।
जिल्ला अस्पताल लमजुङमा तत्कालिन सामुदायिक अस्पताल हुँदाको अवस्थामा तीन वर्ष अघिबाट भर्ना भएका बिरामीका लागि निशुल्क खानाको व्यवस्था हुँदै आएको हो । विरामीको निशुल्क खानाको लागि शुरुको वर्षमा अस्पताल रहेको स्थानिय तह बेसीशहर नगरपालिकाले केहि रकम उपलब्ध गराएको थियो । जिल्ला अस्पताल प्रदेश मातहतमा गएसँगै दायित्व पनि प्रदेश सरकारले नै लिएको हो ।
अस्पताल प्रदेश सरकार मातहत आउनुअघि नेपाल सरकार स्वास्थ्य मन्त्रालयको कार्यक्रम अन्तर्गत अस्पतालमा भर्ना भएका विरामीहरूलाई नियमीत दुईछाक खाना खुवाउन शुरु गरेको हो । अस्पतालले विरामीको अवश्यकता र चिकित्सकको सल्लाह अनुसार विहान र बेलुका निशुल्क खाना उपलब्ध गराउँदै आएको थियो ।
बिरामीहरूलाई सामन्यतय: दाल भात, अण्डा वा जाउलो व्यवस्था गर्दै आएको छ । अस्पताल भित्रै सञ्चालन गरिएको क्यान्टिनबाट सो सेवा उपलब्ध गराउदै आएको छ । अस्पतालले विरामीलाई खानाको व्यवस्था गरेपछि आफन्तहरूलाई बाहिर होटल खोज्नुपर्ने खाना ओसार्नुपर्ने जस्ता झन्झट हटेको छ ।

प्रतिक्रिया दिनुहोस्