अनलाइन सिष्टममा समस्या हुँदा राहदानी सेवा प्रभावित दैनिक ३० जनालाई मात्रै सेवा «

अनलाइन सिष्टममा समस्या हुँदा राहदानी सेवा प्रभावित दैनिक ३० जनालाई मात्रै सेवा

विद्युतीय राहादानीका लागि अनलाइन सिष्टममा समस्या हुँदा जिल्ला प्रशासन कार्यालय लमजुङमा राहदानी सेवा प्रभावित भएको छ । विगत दुईसाता अघिदेखि विद्युतीय राहादानीका लागि अनलाइन सिष्टममा समस्या भएसँगै सेवाग्राहिको भीड बढि हुँदा सेवा प्रवाह प्रभावित भएको हो ।
जिल्लामा दैनिक दुई सयभन्दा बढी सेवाग्राही राहदानीका लागि मात्रै आउने गरेको जिल्ला प्रशासन कार्यालय लमजुङले जनाएको हो । तर, कार्यालयले भने दैनिक ३० जनालाई मात्रै सेवा दिन सकेको लमजुङका प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले बताए ।
विद्युतीय राहदानीका लागि सेवाग्राही आफंैले अनलाइनमार्फत निवेदन दिनसक्ने भए पनि पछिल्लो दुई सातादेखि सिष्टममा समस्या आएको प्रजिअ वैद्यले बताए । अनलाइन सिष्टममा समस्या आएसँगै निवेदन दिने तथा फारम भर्नका लागि सेवाग्राही प्रशासन कार्यालयमै आउनुपर्ने बाध्यता हुँदा सेवा प्रवाह प्रभावित भएको प्रजिअ बैद्यको भनाइ छ ।
यसअघि सेवाग्राहीहरूले आफैंले वा प्रशासन कार्यालय भन्दा बाहिर अनलाइन आवेदन दिने तथा फर्म भर्ने गर्दा प्रशासनमा सेवा दिन सहज भएको थियो । अहिले फारम भर्नेदेखि सबै काम प्रशासन कार्यालयबाटै गर्नुपर्ने हुँदा सेवा प्रवाहमा समस्या भएको जिल्ला प्रशासन कार्यालय लमजुङका सूचना अधिकारी जगदिश मिश्रले बताए ।
पछिल्ला दिनहरूमा जिल्ला प्रशासन कार्यालयमा राहदानी सेवाका लागि सेवाग्राहिहरू बिहानैदेखि लाइन बस्ने गरेका छन् । दैनिक ३० जनाले मात्रै सेवा पाउने भएपछि टोकन लिनकै लागि बिहान ५ बजेदेखि नै लाइनमा बस्ने गरेको सेवाग्राहिहरूले बताएका छन् ।

प्रशासन कार्यालयमा राहदानी सेवा प्रवाहका लागि जनशक्ति र आवश्यक संरचना तथा उपकरण नहुँदा तत्कालका लागि सो संख्याभन्दा बढी सेवा प्रवाह गर्न नसकिने प्रशासनले जनाएको छ । अनलाइन सिष्टममा समस्या आएसँगै अन्य केही जिल्लाहरूमा भने राहदानी सेवा प्रवाहनै बन्द गराएको तर लमजुङमा भने सेवा प्रवाह बन्द नगरिएको प्रजिअ वैद्यले बताए ।
सकेसम्म सेवाग्राहिहरूले सेवा पाउन भन्ने उद्देश्यले थोरै संख्यामा भए पनि क्षमताले भ्याएसम्मको सेवा प्रवाह गरिरहेको प्रशासनले जनाएको छ । अनलाईन समस्या समाधान हुने वित्तिकै सहज तरिकाले सेवा प्रवाह गर्न सकिने प्रजिअ वैद्यको भनाइ छ ।
ई–पासपोर्ट लिनका लागि राहदानी बिभागको वेबसाइटबाट घरमै बसेर पनि भर्न सकिन्थ्यो । तर हाल अनलाइन सिष्टममा समस्या आएको छ । यसअघि अनलाइन भरेको फारम प्रमाणीत गर्नका लागि मात्रै सेवाग्राही जिल्ला प्रशासन कार्यालय आउनुपर्ने थियो ।
सरकारले गत मङ्सिरदेखि एमआरपी वितरण बन्द गर्ने निर्णय गरी विद्युतीय राहदानी प्रचलनमा ल्याएको हो । राहदानी विभागका अनुसार ३४ पृष्ठको राहदानीका लागि ५ हजार रुपैयाँ शुल्क लाग्ने र ढिलोमा १५ दिनभित्र राहदानी पाउन सक्ने व्यवस्था गरेको छ । विभागले ६६ पृष्ठको राहदानी १० हजार रुपैयाँ शुल्क तिरेर लिन सकिने व्यवस्था गरेको छ । एकदमै छिटो राहदानी आवश्यक पर्नेका हकमा भने १२ हजार रुपैयाँ शुल्क तिरेर दुई दिनभित्र पाउने गरी फाराम भर्नसक्ने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्