Logo

संघीयता मन नपराउने प्रवृत्ति कर्मचारी प्रशासनमा पनि छ : प्रचण्ड

नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली जनताको त्याग र बलिदानबाट प्राप्त उपलब्धीलाई मन नपराउने प्रवृत्ति कर्मचारी प्रशासनभित्र पनि रहेको टिप्पणी गरेका छन् ।
जनताका पक्षमा राजनीतिक नेतृत्वले गरेका कामलाई प्रभावकारीरुपमा कार्यान्वयन हुन नदिने तथा त्यसको मर्मलाई आत्मसात् गर्न नचाहने प्रवृत्तिकाविरुद्ध कर्मचारीले नै सकारात्मक हस्तक्षेप गर्नुपर्ने उनको भनाइ छ ।
नेपाल राष्ट्रिय कर्मचारी महासंघको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले कर्मचारीतन्त्रको यस्तो प्रवृत्तिलाई निरत्साहित गर्न कर्मचारीभित्रै अभियान चलाउनुपर्ने र सशक्त प्रतिवाद गर्नुपर्ने बताए ।
परिवर्तन संस्थागत गर्ने सङ्घर्षमा हामी सबैको साझा प्रयास र संकल्प आवश्यक रहेको उनको भनाइ छ । विगतमा विभिन्न कारणले फरकफरक कित्तामा रहेका पूर्वमाओवादी क्रमश: एक ठाँउमा उभिने वातावरण बन्दै गएकामा अध्यक्ष दाहालले प्रसन्नता व्यक्त गरे ।

त्यस अभियानलाई क्रमश: सफलतामा पुग्ने वातावरण सिर्जना भएको तथा त्यसले विस्तारै सफलता हासिल गर्ने उनले विश्वास व्यक्त गरे । पार्टी टुटफुट हुँदा विभिन्न समूहमा विभक्त भएका पूर्वमाओवादी क्रमश: एकीकृत रुपमा अगाडि बढ्ने वातावरण कर्मचारी संगठनमा पनि बनेकामा अध्यक्ष दाहालले खुसी व्यक्त गरे ।
संघीय निजामति विधेयकलाई कर्मचारीकै माथिल्लो तहबाट अवरोध भएको भन्ने सूचना आफूले प्राप्त गरेको भन्दै उनले त्यस प्रवृत्तिका विरुद्ध दबाव दिन कर्मचारीलाई अनुरोध गरे ।
अध्यक्ष दाहालले संगठन निर्माण गर्दै त्यसलाई गतिशील बनाउन आग्रह गरे । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले कर्मचारी प्रशासनभित्र देखिएको समस्या समाधान गर्न पार्टी लागिपरेको बताइन् ।

प्रतिक्रिया दिनुहोस्