चुरे संरक्षित क्षेत्रमा गिट्टी बालुवाको अवैध उत्खनन «

चुरे संरक्षित क्षेत्रमा गिट्टी बालुवाको अवैध उत्खनन

चुरे संरक्षित क्षेत्रभित्र पर्ने तनहुँको देवघाट गाउँपालिका–५ भुवनटार घाटमा गिट्टी बालुवाको अवैध रूपमा उत्खनन भएको पाइएको छ । तत्कालीन जिल्ला विकास समितिले हाते सामग्री मात्र प्रयोग गरी ढुंगा, गिट्टी र बालुवा उत्खनन गर्न टेन्डरमार्फत अनुमति दिए पनि ठेकेदारले नियमविपरीत जेसीभी र एक्जाभेटरको प्रयोग गरी मापदण्डभन्दा धेरै परिमाणमा नदीजन्य सामग्रीको उत्खनन र निकासी गर्दै आएका छन् ।
त्रिशूली नदी किनारका झारखानी, पिपलटार र क्युँदी भन्ने स्थानलाई डुबानमा पार्ने गरी हेवी इक्युपमेन्टको प्रयोगले ठेकेदारले जबरजस्ती गिट्टी बालुवा निकालेको एक स्थानीयले बताए । यस्तो गैरकानुनी कार्य रोक्न स्थानीयले इप्रका देवघाट र देवघाट गाउँपालिका–५ को कार्यालयमा जानकारी गराए पनि कुनै सुनुवाइ नभएको उनले बताए ।
इलाका प्रहरी कार्यालय देवघाटका इन्चार्ज प्रहरी नायव निरीक्षक राजेन्द्र वाग्लेले नदीजन्य वस्तु उत्खननका लागि जेसीभीको प्रयोग गर्न रोक लगाइएको बताए । उनले गाउँपालिकाले बाटो ग्राभेल गर्नका लागि गिट्टी झिकेका कारण आफूहरूले अहिलेसम्म कुनै प्रतिक्रिया नजनाएको भन्दै जिल्ला समन्वय समितिको अनुरोध पछि उत्खननमा प्रयोग गरिएको भनिएको सामग्री शनिबार नै नियन्त्रणमा लिइएको बताए ।
जिल्ला समन्वय समिति तनहुँका स्थानीय समन्वय अधिकारी अन्जनराज न्यौपानेले मापदण्डविपरीत कसैले पनि नदीजन्य सामग्री उत्खनन् र निकासी गर्न नपाइने बताए । आफूलाई पनि शनिबार स्थानीयवासीले यस विषयमा जानकारी गराउना साथ मेसिनहरू नियन्त्रणमा लिन निर्देशन दिइसकिएको बताए ।

कृष्ण न्यौपाने

प्रतिक्रिया दिनुहोस्