सिटिजन्स लाइफले पायो अन्तिम स्वीकृति

चालू आर्थिक वर्ष ०७४/७५ मा नै नयाँ जीवन बिमा कम्पनीले ३ सयभन्दा बढी शाखा सञ्चालन गर्ने भएका छन् । बिमा समितिका अनुसार हालसम्म ६ वटा नयाँ जीवन बिमा कम्पनीले २०५ वटा शाखा विस्तारको अनुमति पाइसकेका छन् । बाँकी रहेका दुइटा जीवन बिमा कम्पनीले पनि सोही अनुपातमा अनुमति लिने हो भने ३ सयभन्दा बढी हुने देखिएको छ ।
समितिका अनुसार आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले ५५ वटा शाखा सञ्चालनका लागि समितिबाट अनुमति लिएको छ । सिटिजन्स लाइफ इन्स्योरेन्स कम्पनीले ४० वटा, रिलायवल लाइफ इन्स्यारेन्स कम्पनीले ३८, युनियन लाईफ इन्स्योरेन्सले ३७, ज्योति लाइफले १९ र सन् नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले हालसम्म १६ वटा शाखा सञ्चालनका लागि अनुमित लिएको समितिले जनाएको छ ।
विमकहरूले बिमा विनियमावली २०४९ को नियम १७ को उपदफा २ बमोजिम शाखा विस्तार गर्दै आएका छन् । उक्त विनियमावली अनुसार शाखा खोल्ने ठाउँको सम्भाव्यता अध्ययन गरी समितिबाट स्वीकृति लिएर शाखा विस्तार गर्न सकिने प्रावधान छ । तर, अझै पनि बिमा कम्पनीहरू ग्रामीण क्षेत्रमा पुग्न नसकेकोे समितिले बताएको छ । समितिको तथ्यांकअनुसार आव २०७२÷७३ सम्ममा जीवन बिमा कम्पनीहरूको शाखा ५९३ पुगेको छ । त्यस्तै, निर्जीवन बिमा कम्पनीहरूको शाखा ३२४ पुगेको छ ।
त्यस्तै सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले पनि समितिबाट कारोबारको अन्तिम स्वीकृति लिएको छ । कम्पनीले गत कात्तिक १ गते समितिबाट व्यवसाय सुरुवातका लागि अन्तिम स्वीकृति लिएको हो भने आगामी केही दिनमा औपचारिक सुरुवात गर्ने बताएको छ । कम्पनीको कर्पोरेट कार्यलयमा थापाथलीमा रहने भएको छ ।
हालसम्म समितिबाट व्यवसायको अन्तिम स्वीकृति लिएका कम्पनीमध्ये आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले गत भदौ १ गतेदेखि कारोबार शुरुवात गरेको हो । त्यस्तै, सन नेपाल र युनियन लाइफ इन्स्योरेन्स कम्पनीले गत असोज ६ गतेदेखि कारोबार सुरुवात गरेका भने ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले असोज ८ गते औपचारिक शुभारम्भ गरेको हो । त्यस्तै, रिलायबल लाइफ इन्स्योरेन्स कम्पनीले असोज २९ गतेदेखि कारोबारको सुरुवात गरेको हो ।