लालीगुराँसको प्राथमिकता शिक्षा «

लालीगुराँसको प्राथमिकता शिक्षा

प्रदेश : १
जिल्ला : तेह्रथुम
स्थानीय तह : लालीगुराँस नगरपालिका
केन्द्र : वसन्तपुर बजार
क्षेत्रफल : ९०.२७ वर्गकिलोमिटर
वडा संख्या : ९
घरधुरी संख्या : ३ हजार ४ सय ४६
जनसंख्या : १७ हजार ८ सय ५८
साक्षर : ७०.७ प्रतिशत
प्रमुख : अर्जुन माबोहाङ
उपप्रमुख : जमुना मगर कार्की

प्रदेश १ को तेह्रथुम जिल्लाका ६ पालिकामध्ये लालीगुराँस नगरपालिका एक हो । साबिकका वसन्तपुर, फुलेक, सोल्मा, सुङ्नाम र दांगपा गाविस मिलाएर लालीगुराँस नगरपालिका बनाइएको हो । नगरपालिकाको पूर्वतर्फ म्याङ्लुङ नगरपालिका, पश्चिमतर्फ धनकुटा, संखुवासभा जिल्ला, उत्तरतर्फ संखुवासभा जिल्ला र दक्षिणतर्फ छथर गाउँपालिका रहेको छ ।
तीनजुरे, मिल्के, जलजले (टीएमजे) क्षेत्रलाई लालीगुराँसको राजधानीका रूपमा संरक्षण भएअनुसार यो नगरपालिकाको नाम लालीगुराँस राखिएको हो । यस नगरपालिका नौवटा वडा छन् । ९०.२७ वर्गकिलोमिटर क्षेत्रफल रहेको नगरपालिकामा ३ हजार ४ सय ४६ घरधुरी, १७ हजार ८ सय ५८ जनसंख्या र ७०.७ प्रतिशत साक्षर रहेका छन् ।
स्थानीय निर्वाचन २०७९ सम्पन्न भएसँगै नवनिर्वाचित जनप्रतिनिधिहरूले नगरपालिकालाई शैक्षिक क्षेत्रमा अब्बल बनाउने लक्ष्यका साथ पहिलो प्राथमिकतामा शिक्षालाई राख्ने भएको छ । नगरपालिका क्षेत्रमा रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई शैक्षिक गुणस्तरमा सुधार गर्ने उद्देश्यले आर्थिक वर्ष २०७९-०८० मा पहिलो प्राथमिकताका साथ शैक्षिक क्षेत्रलाई राखेको नगरप्रमुख अर्जुन माबोहाङले बताए ।
माबोहाङ भन्छन्, “हामीले नगरपालिकालाई शैक्षिक रूपमा अगाडि लैजान नयाँ रणनीतिका साथ कार्यक्रम ल्याउने तयारी गरेका छौं । सामुदाय र विद्यालयलाई जोड्दै विद्यालय र समुदायको अवस्थालाई नियाल्ने, साथै अभिभावक शिक्षा सञ्चालन गरी आधारभूत विद्यालयलाई अनुसन्धानमुखी बनाउँदै लैजाने सोचका साथ हामीले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेका छांै ।”
नगरपालिकामा १० माध्यमिक विद्यालय, २२ आधारभूत विद्यालय, संस्थागत २ माध्यमिक विद्यालय, ४ आधारभूत गरी ३८ वटा विद्यालय रहेका छन् ।
भौतिक पूर्वाधार क्षेत्रमा गति लिँदै गरेको यो नगरपालिकालाई पर्यटन क्षेत्रमा भने पूर्वकै अब्बल नगरपालिकाका रूपमा लिइन्छ । स्थानीय निर्वाचनपछि जनप्रतिनिधि आएसँगै नागरिकका समस्यालाई प्राथमिकतामा राख्दै भौतिक पूर्वाधार, पर्यटन विकासले गति लिन थाले हो ।
भर्खरै सम्पन्न निर्वाचनबाट आएका जनप्रतिनिधिले विगतमा अधुरा रहेका योजनाहरूलाई सम्पन्न गर्दै नगरपालिकालाई समृद्ध बनाउन अहोरात्र लागिरहने बताएका छन् । भौतिक पूर्वाधार क्षेत्रमा पालिकाको सबै वडा र टोलसम्म जोडिने सडक निर्माण गरिएका छन् ।
सडक निर्माणसँगै सवारी साधन पुगेपछि गाउँगाउँमा सञ्चालन हुँदै आएका छन् । भौतिक पूर्वाधार विकासका लागि स्काभेटर, जेसीबी नै खरिद गरी सडक निर्माणलाई तीव्रता दिँदै आएको पालिकाले जनाएको छ ।
अन्य पालिकाहरूको तुलनामा यो पालिका स्रोतसाधनले सम्पन्न छ । ग्रामीण क्षेत्रका नागरिकलाई सेवा दिने उद्देश्यका साथ पालिकाले नगर बस खरिद गरी सेवा दिँदै आएको छ ।
पालिकाको आफ्नै एम्बुलेन्स, दमकल, नगरबस, जेसीबीलगायतका स्रोतसाधन जोडेको छ । कुनै पालिकामा एउटा एम्बुलेन्ससम्म जुटाउन नसक्दा यो पालिका स्रोतसाधनमा सम्पन्न बन्दै गएको छ ।
आर्थिक, सामाजिक, सांस्कृतिक, ऐतिहासिक, धार्मिक, पर्यटकीय एवं अव्यवस्थित रूपमा रहेको पूर्वाधारलाई प्राथमिकता दिँदै आएको नगरपालिकाले जनाएको छ । पूर्वाधार विकासपछि नगरपालिकाको सोल्मा, सुङ्नाम, फुलेक, दांगपा तथा वसन्तपुरको तल्लो क्षेत्रमा यातायातका सवारी साधन सञ्चालन आएका छन् ।
नगरपालिकाको विभिन्न वडामा नयाँ ट्र्याक तथा सोलिङ र स्तरोन्नतिका काम भइरहेका छन् । नगरपालिका र वडा केन्द्रहरू मात्र नभई गाउँगाउँसम्म सडक पुगेका छन् ।
नगरपालिकामा बसोबास गर्दै आएका विभिन्न जातजाति, भाषा, धर्म–संस्कृतिलाई संरक्षण तथा संवद्र्धनका लागि मन्दिर, गुम्बा, माङहिमलगायतका पूर्वाधार निर्माण भएका छन् । पर्यटन विकासको क्षेत्रमा चोलुङ पार्क निर्माण गरिएको छ ।
तेह्रथुमका अरू पालिकाहरूभन्दा यो पालिकाले विकासमा निकै फड्को मारेको सरोकारवालाहरू बताउँछन् । मध्यपहाडी लोकमार्गले छोएको छैन, पूर्वकै परिचित पर्यटकीय गन्तव्य गुराँसको राजधानी (टीएमजे) तीनजुरे, मिल्के, जलजले क्षेत्रको प्रवेशद्वार नै यो पालिका हो ।
हिउँ पर्ने सिजन र गुराँस फुल्ने बेला नेपालको विभिन्न जिल्लाका साथै भारत तथा विभिन्न देशका नागरिकहरू यहाँ आउने गरेका छन् । पर्यटकीय रूपमा परिचित टीएमजेसँगै चोलुङ पार्क निर्माण अझ पर्यटकहरूको आकर्षण थपिएको छ ।
यहाँ आउने पर्यटकहरू चोलुङ पार्क, देउराली, आरआर गार्डेन, घुर्बिसे, पाथीभरा, तीनजुरे, पाँचपोखरी, चौकी, मंगलबारे, गुफापोखरी तथा मेन्छ्यायेम डाँडालगायतका स्थानहरूमा पुग्ने गरेका छन् ।
नगरपालिकाले शैक्षिक क्षेत्रमात्र नभई भौतिक पूर्वाधार विकास, कृषि पर्यटन, पशुपालनका साथै समग्र नगरको विकासलाई जोड दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्