विद्युतीय कारोबारमा धेरै अवसर छन् «

विद्युतीय कारोबारमा धेरै अवसर छन्

नारायणप्रकाश भुजू
प्रमुख कार्यकारी अधिकृत, स्मार्टच्वाइस टेक्नोलोजिज् लिमिटेड
लामो समय बैंकिङ क्षेत्रमा सफ्टवेयर विकासमा काम गरिरहेका नारायणप्रकाश भुजू सन् २००० तिरबाट कुमारी बैंकमार्फत बैंकिङ क्षेत्रमा प्रवेश गरेका थिए । उनले कुमारी बैंकमा झन्डै १४ वर्ष काम गरेपछि माछापुच्छ«े बैंकमा काम थिए । त्यहाँ ६ वर्षको सेवा अवधि सकाएर उनी हाल स्मार्टच्वाइस टेक्नोलोजिज् लिमिटेड (एससिटी)मा प्रमुख कार्यकारी अधिकृत छन् । सन् २००१ मा कुमारी बैंकमा मोबाइल बैंकिङको सुरुवात हुँदा पनि उनले उक्त प्रोजेक्टको नेतृत्व गरेका थिए । त्यसपछि मोबाइल बैंकिङ, वालेट सिस्टमलगायतका प्रोडक्टहरूमा काम गरेको उनीसँग लामो अनुभव रहेको छ । यसैक्रममा नेपालमा पहिलोपल्ट कार्ड सेवा दिने आन्तरिक कम्पनी एससिटीमा उनको प्रवेश तथा एससिटीको आरोह अवरोहका बारेमा कारोबारले भुजूसंँग गरेको कुराकानीको सार :

बैंकिङ क्षेत्रबाट बढी प्राविधिक क्षेत्रमा छलाङ मार्दा कस्तो फरक पाउनुभएको छ ?
बैंकमा एउटा निश्चित प्रोडक्टभन्दा पनि विभिन्न किसिमका प्रोडक्टहरूलाई हेर्नुपथ्र्यो । त्यसैले हामीहरूले बैंकमा हुँदा मोबाइल बैंकिङ, कार्डदेखि लिएर अन्य प्राविधिक कुराहरू पनि हेर्नुपर्ने थियो । अर्थात् प्रविधीकरणका लागि धेरै काम गरियो । अहिले एससिटीमा भन्ने पूर्णरूपमा विद्युतीय भुक्तानीमा मात्र केन्द्रित भएर काम गरिरहेका छौं । त्यसैले अहिले सीमित ग्राहकहरूलाई मात्र नभएर समग्र बजारका लागि नै काम गर्नुपर्ने हुन्छ । तर, बैंकमा काम गर्नु र एससिटीमा काम गर्नु हाम्रो लागि खासै फरक क्षेत्र भने होइन ।

नेपालमा एससिटी कार्डको सुरुवात त राम्रो थियो तर, बीचमा हरायो । अहिले फेरि बजारमा यसको प्रचलन देखिन्छ । अहिले पुनः बजारमा आउँदा मानिसहरू प्रविधिप्रति कत्तिको सकारात्मक भएको पाउनुभएको छ ?
नेपालमा कार्ड व्यवसाय एससिटीले नै सुरु गरेको हो । तर, समयअनुसार परिवर्तन हुन नसक्दा बीचमा हराएको अवश्य पनि हो । अन्तर्राष्ट्रिय बजारमा चिप भएको कार्ड आए पनि एससिटीले त्यसमा जान समय लगाएको थियो । त्यसमाथि नेपालमा भिसा कार्ड प्रवेश हुँदा अन्तर्राष्ट्रिय कार्डमा गरिएको विश्वास गर्दा पनि बीचमा एससिटी हराउन पुगेको हो । त्यो समयमा एससिटी रणनीतिक रूपमा चल्न नसकेको कुरालाई हामीहरूले स्वीकार गर्नुपर्छ । एससिटीले त्यसको अनुभवलाई बुझेर पुनः चिप बेस कार्डको रूपमा बजारमा आएको छ । तर, बजार भिसा कार्डले क्याप्चर गरिसकेका कारण आउन समय लागेको हो । अहिलेको अवस्थामा हेर्ने हो भने हामीहरूसँग २० भन्दा बढी वित्तीय संस्थाहरू छन् । वाणिज्य बैंकमा पनि प्रभु, ग्लोबल, हिमालयनलगायतका ‘क’ वर्गका बैंकहरू पनि छन् भने ‘ख’ वर्गका विकास बैंक र ‘ग’ वर्गका वित्तीय संस्थाहरू पनि हामीहरूसँग छन् । त्योसँगसँगै हामीहरूले सहकारीहरूलाई बढी जोड दिएका छौं । हामीहरूले ६० भन्दा धेरै सहकारीलाई कार्ड दिइसकेका छौँ । त्यस्तै हामीहरूले देशकै ठूलो सहकारी राष्ट्रिय सहकारी बैंकलाई कार्ड जारी गर्न लागिरहेका छौं । अर्थात् आजको दिनमा एससिटी फेरि फर्ममा आइसकेको छ । हामीहरू बजारमा आएका छौँ । ग्राहकहरूलाई पनि एससिटीको कार्ड प्रयोग गर्नु र अन्य कुनै कार्ड प्रयोग गर्नमा खासै भिन्नता छैन ।

पहिला के फरक थियो र ?
आजको दिनमा हामीहरूले फरक छैन भनिरहेका छौं । यूपीआई चिप बेस कार्डमा आउनुअगाडि हाम्रो कार्डमा एसेप्टीबिलिटीको समस्या थियो । सबै बैंकहरूमा हाम्रो कार्ड चल्न सक्ने अवस्था थिएन । अब हामीहरूले पनि अन्तर्राष्ट्रियस्तरको कार्ड जारी गरेका छौँ । त्यसैले नेपालदेखि भारत जुनसुकै ठाउँमा पनि यो कार्ड चल्छ र प्रयोगका हिसाबले पनि कुनै भिन्नता छैन । भिसा कार्ड प्रयोग गरिरहेका बैंकहरूले पनि हाम्रो कार्ड पनि प्रयोग गर्छौं भन्ने कुराहरू पनि गरिरहेका छन् । पुँजी लगानीकै कुरा गर्ने हो भने पनि निकै न्यून खर्चमा सेवा दिइरहेका छाँै । त्यो हिसाबले बैंक तथा सहकारीहरूले रुचि देखाएका छन् । हामीहरू बजारमा पुन प्रवेश गरेका छौँ । हाम्रो सेवा अन्य प्रोडक्टको भन्दा भिन्न छैन ।

कार्ड प्रयोग गर्ने भएपछि त्यसको सुरक्षाका कुराहरू पनि आउँछन् । कति सुरक्षित छ एससिटी कार्ड ?
एससिटीको २० वर्षको इतिहासमा अहिलेसम्म त्यस्तो कुनै घटना भएको छैन । बरु अन्य कार्ड प्रयोग गर्नेहरूको भइरहेको भेटिन्छ । हाम्रो कार्डमा सुरक्षाको दृष्टिकोणबाट कुनै पनि सम्झौता गरेका छैनौँ । हामीले सुरक्षाका लागि सबै टुलहरू प्रयोग गरिरहेका छौँ । हामीहरू पीसीआई डिएसएसबाट अडिटेड छौँ । यसले सुरक्षाको ग्यारेन्टी गर्छ ।

अहिले कार्ड वाहकहरू बढे पनि कारोबार उल्लेख्य बढेको छैन भनिन्छ नि ?
कार्डमार्फत कारोबार पनि बढिरहेको छ । पुराना ग्राहकहरूले खाता खोल्दा कार्ड नलिए पनि, अहिलेको नयाँ पुस्ताहरू सबैले कार्डको प्रयोग गर्छन् । बैंकले विस्तारै पुराना ग्राहकलाई पनि कार्ड वितरण गरिरहेको छ । कार्डको एक्सेस हेर्ने हो भने धेरै राम्रो छ । कारोबारहरू बढिरहेका छन् । हाल ३०÷४० प्रतिशत कारोबार डिजिटल कारोबार हुन थलिसकेको छ ।

तर, डिजिटल कारोबार गर्न त शुल्क तिर्नुपर्छ नि ?
अहिलेको नेपाल राष्ट्र बैंकको नियमअनुसार कुनै पनि बैंकको कार्ड आफ्नै बैंकमा चल्यो भने त्यसमा कुनै पनि शुल्क लाग्दैन । तर, अर्कोमा प्रयोग गर्दा पनि महिनामा दुई पटकसम्म निःशुल्क हुन्छ । त्यसपछिको कारोबारमा भने शुल्क तिर्नु पर्दछ ।

कारोबार बढाउन त शुल्कलाई घटाउन वा शुल्क नलाग्ने बनाउनु पर्यो नि होइन र ?
अर्को बैंकको एटीएमबाट पैसा निकाल्दा २० रुपैयाँ शुल्क काटिन्छ । त्यसको कारण त्यसमा दुई–तीनवटा स्टेक होल्डरहरू हुन्छन् । एउटा एटिएम राख्ने बैंक, अर्को कार्ड इस्यु गर्ने बैंक, सेटलमेन्ट गर्ने बैंकहरू तथा अन्तर्राष्ट्रिय रूपमा जसले कार्ड जारी गरेको छ, त्यसको पनि रोयल्टी हुन्छ । त्यो सबैले हेर्दा २० रुपैयाँको शुल्कलाई धेरै मान्न सकिँदैन ।

घटाउँदा ग्राहकलाई सहज हुनछ । त्यसैले यसलाई घटाउने आधार होला नि ?
त्यो शुल्क नलिएसम्म बैंकहरू कसरी चल्न सक्छन् त ? विद्युतीय कारोबारकै कुरा गर्ने हो भने एउटा नचिनेको बैंकले जारी गरेको कार्डबाट अर्को बैंकले पैसा दिन्छ । अमेरिकाको कार्ड लिएर आएको एउटा पर्यटकले नेपालबाट पैसा निकाल्न सक्छ । त्यो कुन बैंकको कार्ड हो, हामीहरूलाई थाहा हुँदैन । त्यस्तै आन्तरिक बजारमा पनि एउटा बैंकले जारी गरेको कार्डबाट अर्को बैंकले पैसा तिरेको हुन्छ । त्यो हिसाबले एटिएम व्यवस्थापन गर्दाखेरिको उसको आफ्नो लागत, पूर्वाधार लागत, क्यास व्यवस्थापनको खर्च छ, मानव संसाधनको खर्च छ । त्यसैले धेरै खर्च बच्दैन ।

कोरोनाको समयमा कुनै पनि बैंकको कार्ड कुनै अन्य बैंकमा प्रयोग गर्दा शुल्क नलाग्ने गरिएको थियो । त्यसलाई निरन्तरता दिन सकिँदैनथ्यो ?
राष्ट्र बैंकले त्यो समयमा एटीएममा फ्री ग¥यो । तर, अन्य पेमेन्ट मिडियमहरूमा लगाउन सकेको छैन । जस्तै मोबाइल बैंकिङ छ, कनेक्ट आईपिएसहरू छ । त्यसमा छुट भएन ।

नेपाली प्रोडक्ट एससिटी र अन्तर्राष्ट्रिय प्रोडक्ट भिसामा के भिन्नता छ ?
प्रविधिको हिसाबले कुनै पनि भिन्नता छैन । तर, हाम्रो भिजन फरक छ । हामीहरूले डिजिटल पेमेन्टमा सबै ग्राहकलाई सेवा दिने हिसाबले कार्डबाहेक मोबाइल बैंकिङदेखि क्यूआरलगायतका प्रोडक्टमा काम गरिरहेका छौँ । नेपालको डिजिटल पेमेन्टलाई हरेक कुनासम्म पु¥याउने र विकास गर्ने भन्ने हाम्रो प्रतिबद्धता छ । हामीहरूले सर्ट टर्मभन्दा पनि लङ टर्मको हिसाबले यो व्यवसायलाई हेरिरहेका छौँ । अर्को ग्राहकहरूलाई हामीहरूले क्यूआरमा पनि बढी प्रोमोट गरिरहेका छौँ । अहिले बजारमा क्यूआरसँग मानिसहरू पनि आबद्ध हुँदै गइरहेका छन् । हाम्रो लक्ष्य सबैलाई डिजिटल कारोबारको पहुँचसम्म पु¥याउनु नै हो । सहकारीहरूलाई बढी जोड्नुको कारण पनि गाउँगाउँसम्म पुग्नुपर्छ भन्ने नै हो । सहकारीहरूलाई हामीहरूले निकै सस्तो दरमा सेवा दिने भनिरहेका छौँ । दिइरहेका पनि छौँ ।

डिजिटल कारोबार लागी विद्युत र कनेन्टिभिटी (इन्टरनेट) सँग सम्बन्धित हुन्छ । जहाँ विद्युत र इन्टरनेट छैन, त्यहाँ कसरी विसतार गर्न सकिन्छ ?
विद्युत र कनेन्टिभिटी (इन्टरनेट), यी दुई विद्युतीय कारोबारका ब्याक बोन नै हुन् । नेपालमा धेरै स्थानमा यी दुईको सुबिधा छ । त्यस्तै, आजकाल नेपालमा झन्डै ३० हजार सहकारी छन् । तीमध्ये अधिकांश कम्युटराइज भइसकेका छन् । तर, यी कार्ड कम्प्युटर नभएको सहकारीले प्रयोग गर्न सक्दैन ।

अफलाइन कारोबारको कुनै सम्भावना हुँदैन ?
हुँदैन । यो रियल टाइम बेसिसमा हुन्छ । आजकाल सहकारीलाई कार्ड जारी गर्दा पनि धेरैले जोखिम हुन्छ कि भनेर सोध्छन् । तर, हामीहरूले रियल टाइम प्रोसेस गरिरहेका छौँ । जोखिम पनि सोहीअनुसारले व्यवस्थापन गरिरहेका छौँ ।

कार्डको उपयोग पैसा निकाल्न र भुक्तानी गर्नका लागि मात्र हो या यसको कुनै अन्य उपयोग छ ?
कार्डको कार्य नै पैसा झिक्नु र भुक्तानी गर्नु नै हो । तर, हाल भने ई–कमर्सको लेनदेनहरूमा पनि प्रयोग गर्न सकिन्छ । जस्तै वेबसाइटहरूमा भुक्तानी गर्दा पनि यसको प्रयोग गर्न सकिन्छ । अहिलेसम्म कार्डको ९० प्रतिशत प्रयोग रकम झिक्नकै लागि भइरहेको छ । अर्को सामान किन्दा भुक्तानी गर्ने नै हो ।

प्वाइन्ट अफ सेल्स् (पस)मा धेरै प्रयोग हुन नसक्नुको कारण के हो ?
पसमा सेवा दिएवापत बैंकहरूले केही प्रतिशत शुल्क लिने भएकाले पनि व्यापारीहरूले त्यति रुचि देखाएका छैनन् । एउटा मेसिनको २५÷३० हजार रुपैयाँ लागत पर्छ । त्यसैले पनि बैंकहरूले कारोबार राख्दिएवापत केही प्रतिशत कमिसन लिन्छन् ।

राष्ट्र बैंकले ‘क्यास लेस सोसाइटी’ बनाउने भनेको छ । तपाईंहरू डिजिटलाइज बनाउन लाग्नुभएको छ । तपाईंहरूले राष्ट्र बैंकलाई भनेर त्यो कमिसन घटाउन सकिँदैन र ?
त्यसमा भौतिक सम्पत्तिकै लगानी भएको हुनाले शुल्कहरू लागेको हो । अन्यथा बैंकहरूले पस डिभाइस किन दिन्छन् होला र ? यसको अन्य कुनै बाटो खोज्नुपर्छ होला । यहाँ व्यापारीहरूले पनि आफ्नो आवश्यकताभन्दा पनि बैंकको आवश्यकता हो भन्ने कुरा बुझिरहेका छन् । तर, पस राख्नेबित्तिकै व्यापारीहरूको व्यापार ह्वात्तै बढेको हुन्छ । बजारमा जानुभयो भने र कार्ड प्रयोग गर्नुभयो भने तपाईंले झट्टै आवश्यक नभएको सामान पनि लिएर आउनुहुन्छ । अर्थात् व्यापारीलाई फाइदा हुन्छ । त्यस कारणले पनि बैंकलाई केही प्रतिशत तिर्नुपर्ने हो, तर नेपालमा तिर्दैनन् । अहिले भने केही कारोबार बढिरहेको छ । भाटभटेनीमा नै सोध्ने हो भने पनि ३० प्रतिशतभन्दा धेरै कार्डबाट नै भुक्तानी हुने गरेको बताउँछन् ।

एससीटीको नयाँ प्रोडक्ट के हो । अन्तर्राष्ट्रिय प्रोडक्टहरूसँग कसरी प्रतिस्पर्धा गर्न सकिन्छ ?
यसमा मानिसलाई चाहिने भनेको गुणस्तरीय सेवा हो । किनकि चाहिएको समयमा कार्डको प्रयोग भएन भने त्यसको कुनै उपयोगिता नै हुँदैन । एउटा त हामीहरूले गुणस्तरीय सेवामा फोकस गरिरहेका छौँ । अर्को मूल्य अभिवृद्धि सेवाहरू दिँदै जाने हो । हामीहरूले प्लास्टिकको कार्डलाई विस्तारै भर्चुअल कार्डमा परिवर्तन गरिरहेका छौँ । अहिले पनि भर्चुअल कार्ड बनाएर वालेटहरूलाई दिइरहेका छौँ । भोलि प्लास्टिकको कार्ड प्रयोग नै नगरीकन त्यो कार्डबाट एटीएमबाट पैसा निकाल्न सक्ने र मोबाइल बैंकिङ तथा क्यूआर कोडबाट भुक्तानी गर्न सक्ने काम गरिरहेको छौँ । अर्को एटीएममा पनि क्यूआरबाट पैसा निकाल्न सक्ने व्यवस्था गर्ने प्रक्रियामा छौँ । त्यसले प्लास्टिकको कार्डको पैसा पनि बचत गर्छ । हामीहरूले अर्को एटीएम कार्डलाई मल्टिपल प्रपोज कार्ड बनाउने प्रक्रियामा गइरहेका छौँ । जस्तै भोलि बस चढ्दा भुक्तानी गर्न सक्छौँ । त्यस्तै अन्य कामहरू पनि गर्न सक्छौँ । अबको दिनमा क्यास निकाल्ने मात्र होइन, त्योबाट अपग्रेड हुनुपर्छ, हामीहरू पनि सोही दिशामा छौँ ।

कनेक्ट आईपीएसले कत्तिको चुनौती दिएको छ ?
आजको दिनमा कनेक्ट आईपीएस केही प्रोडक्टहरूमा हाम्रो प्रतिस्पर्धी हो । जस्तै क्यूआर कोर्ड तथा मोबाइल बैंकिङमा हो । तर, हाम्रो लागि खतरा भने होइन, चुनौती हो । उहाँहरू पनि पिएसओ, हामीहरू पनि पिएसओ हो । उहाँहरूले जुन लिबरेज पाउनुभएको छ, त्यो हामीहरूले भने पाएका छैनौँ । उहाँहरूको आफ्नै राष्ट्रिय एजेन्डा छ । तर, अर्कातिर पिएसओहरूको प्रतिस्पर्धी भएर बस्नुभएको छ । उहाँहरू सेवाप्रदायकको रूपमा भन्दा पनि इन्टिग्रेटरको रूपमा आउनुपर्ने हो ।

तपाईंहरू यो बजारमा एकैपटक धेरै सेवा प्रदायक तथा प्रोडक्टहरूसँग भिडिरहनुभएको छ नि ?
हामीहरू नेपाल राष्ट्र बैंकबाट लाइसेन्स पाएको संस्था हो । हामीहरू एकमात्र यस्तो संस्था हो, जसले एटिएममा, क्यूआरमा, मोबाइल बैंकिङमा पनि आफ्नो काम गरिरहेका छौँ । अर्थात् धेरै प्रोडक्टहरू छन् । हामीले सेवा दिने भनेको बैंक तथा वित्तीय संस्थाहरूलाई नै हो । हामीले सिधै ग्राहकलाई सेवा दिन पाइँदैन । हामी मध्यस्थकर्तामात्र हो । सरकारी तथ्यांक हेर्ने हो भने ५ देखि १० प्रतिशतमात्र विद्युतीय कारोबार भएको छ । यहाँ धेरै अवसरहरू छन् । हामीहरूजस्तो एक–दुई वटाले मात्र सबै ग्याप पूरा गर्न सक्छौँ भन्ने पनि होइन । त्यो भएको करणले कोही आत्तिनुपर्ने देखिँदैन ।

मौद्रिक नीति आउँदै छ । विद्युतीय कारोबारसँग सम्बन्धित कुनै समस्या मौद्रिक नीतिले सम्बोधन गर्नु पर्ने छ ?
केही प्रतिशत शुल्क अन्तर्राष्ट्रिय सेवाप्रदायकलाई दिनुपर्ने भएकाले नेपालमा कारोबार शुल्क केही बढी लाग्ने गरेको हो । यसलाई अघिल्लो मौद्रिक नीतिमा केही सम्बोधन गरिएको छ । अब, आन्तरिक कारोबारमा अन्तर्राष्ट्रिय राउटिङ हुने भएकाले धेरै शुल्क लाग्ने गरेको छ । यदि आन्तरिक कारोबारमा अन्तर्राष्ट्रिय राउटिङ भएन भने केही खर्च कम हुन्छ । त्यसले ग्राहकलाई पनि फाइदा हुन्छ । त्यसका लागि राष्ट्र बैंकबाट केही नीति बनाइन्छ कि भन्ने कुराको अपेक्षा गरिरहेका छौँ । अर्को नेपालमा हामीजस्तो भुक्तानी सेवाप्रदायकलाई राष्ट्र बैंकले नै लाइसेन्स दिएर बढाइरहेको अवस्थामा भोलि उपभोक्ताहरूले बजारमा उपलब्ध प्रोडक्टहरू प्रयोग गर्नका लागि इन्ट्राअपलेबिलिटी हुनु जरुरी छ । राष्ट्र बैंकले सर्कुलर निकालेर हुनुपर्छ भनिरहेको छ, तर ब्यवहारमा आइसकेको छैन । तर, त्यसको विकास भएको छैन । त्यसलाई सोच्नुपर्छ ।
हामीहरू क्यास लेस सोसाइटीमा जान एउटा पूर्वाधारको विकास भइसकेको छ । त्यसलाई प्रोमोट गर्ने कामका लागि सरकारी तबरबाटै केही सुरुवात गरेर विद्युतीय भुक्तानी नै गर्नुपर्छ भनियो भने केही सहज हुन्छ ।
एससिटी निजी कम्पनी होइन । सार्वजनिक कम्पनी भइसकेको छ । ५० करोड पुँजीबाट बढिरहेको छ । पुँजीगत रूपमा हामीहरू सबैभन्दा ठूलो हो जस्तो लाग्छ ।

प्रतिक्रिया दिनुहोस्