संस्था गाभ्ने-गाभिने प्रक्रियामा कारोबार रोक्का नगरौं «

संस्था गाभ्ने-गाभिने प्रक्रियामा कारोबार रोक्का नगरौं

पछिल्लो समय आधा दर्जन वाणिज्य बैंक आपसमा गाभ्ने-गाभिने प्रक्रियामा गएका छन् । बाँकी आधा दर्जन वाणिज्य बैंक पनि एकआपसमा प्रारम्भिक सम्झौताका लागि तीव्र रूपमा गृहकार्यमा व्यस्त छन् । ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डूबीच एकआपसमा गाभ्न-गाभिनका लागि बिहीबार प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर भएको छ । त्यसअघि नबिल बैंक तथा एनबीबी एवं नेपाल इन्भेस्टमेन्ट बंैक तथा मेगा बैंक पनि गाभ्ने-गाभिने प्रक्रियामा गएका छन् । यसरी गाभ्ने-गाभिने प्रक्रियामा जाँदै गर्दा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा हाल एक दर्जनभन्दा बढी सूचीकृत कम्पनीहरूको सेयर कारोबार रोक्का छ । गाभ्ने तथा गाभिनेसँग सम्बन्धी स्पष्ट नीति नभएका कारण सूचीकृत कम्पनीको धेरै समयसम्म कारोबार रोक्का राखिँदा लगानीकर्ताहरूलाई मर्का परेको गुनासो आउन थालेको छ । दुई वा दुईभन्दा बढी इजाजतपत्र प्राप्त संस्था एकआपसमा गाभिने तथा नयाँ संस्था बन्ने प्रक्रियामा अथवा एउटा संस्थाले अर्को संस्था प्राप्ति गर्ने प्रक्रियामा सेयर कारोबार रोक्का राख्ने प्रचलन ‘बैंक तथा वित्तीय संस्था एकआपसमा गाभ्ने-गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिसन) सम्बन्धी विनियमावली, २०७३’ को संशोधित संस्करण, २०७५ मा रहेको छ । सो विनियमावलीमा मर्जर तथा प्राप्तिमा जाने वित्तीय संस्थाहरूले प्रारम्भिक सम्झौतामा हस्ताक्षर गरिसकेपछि नेप्सेमा ती संथाहरूको सेयर कारोबार रोक्का राखिनुपर्ने प्रावधान उल्लेख गरिएको छ । तर, लामो समयसम्म यसरी सेयर कारोबार रोक्दा यसबाट सेयरधनीहरूमा पर्ने प्रभावका बारेमा सोचिएको देखिएन । बिमा कम्पनीहरू पनि हालैको बिमा समितिको निर्देशनअनुरूप गाभ्ने-गाभिने प्रक्रियामा जाँदै छन् । जसका कारण अब तिनीहरूका कारोबार पनि नेप्सेमा रोक्का हुनेछ, जसका कारण सेयर लगानीकर्ताहरूले अब आफ्नो आवश्यकताअनुरूप सेयर बेच्ने वा किन्ने गर्न पाउनेछैनन् । यसबाट लगानीकर्ताहरूको सम्पत्ति बन्धक बनेको छ । कुनै समय करिब २ सय ९० बैंक तथा वित्तीय संस्थाहरू रहेकामा हाल संख्यात्मक रूपमा घट्दै जाँदा सेयर बजारमा यसै पनि मागभन्दा बढी सेयरको आपूर्ति भइरहेको छ । सूचीकृत संस्थाहरू स्वस्थ प्रतिस्पर्धा गर्दै आ–आफ्ना कम्पनीका सबल पक्षका कारण सेयर लगानीकर्ताका लागि आकर्षक लगानी हुने हुन् । लगानीकर्ताले कम्पनीको संस्थागत सुशासन, पुँजीकोष, कर्जाको गुणस्तर तथा प्रतिफलको क्षमताजस्ता विभिन्न सूचक हेरेर आफ्नो लगानी निर्णय गर्ने हुनाले सूचीकृत कम्पनीको सेयर कारोबार रोक्नुपर्ने आवश्यकता त्यति देखिँदैन ।
सेयर बजारमा सूचीकृत बैंक तथा वित्तीय संस्थाहरू गाभ्ने वा गाभिने कार्यलाई प्रोत्साहन गर्न केन्द्रीय बैंक तथा सरकारले विभिन्न निितगत व्यवस्थाहरू गरिदिएका कारण तथा अर्थतन्त्रले ठूला पुँजीका बैंक तथा वित्तीय संस्थाहरूको आवश्यकता महसुस गरेका कारण बैंक तथा वित्तीय संस्थाहरू धेरै गाभ्ने वा गाभिने प्रक्रियामा गएका हुन् । त्यसैले गाभ्ने तथा गाभिने प्रक्रियालाई प्राकृतिक मान्नुपर्छ । त्यसो हो भने ती बैंक तथा वित्तीय संस्था वा अन्य सूचीकृत संस्थाहरू प्राकृतिक प्रक्रियामा जाँदा तिनका सेयर कारोबार रोक्का राखेर लगानीकर्तालाई आफ्नो लगानी योजनाअनुरूप छनोट गर्न दिनु आवश्यक छ । त्यसैले सूचीकृत कम्पनीलाई गाभ्ने वा गाभिने प्रक्रियामा सहजीकरण गर्ने, कानुनी तथा नीतिगत व्यवस्थाहरू सरलीकरण गर्ने तथा सेयर बजारमा लगानीकर्ताको विश्वसनीयता बढाउनेतर्फ केन्द्रीय बैंकलगायत नियामक निकायले सोच्नु व्यावहारिक हुन्छ । नेप्सेले पनि सेयर कारोबार रोक्कामा ध्यान दिनुको साटो बजारमा हुने चलखेल तथा विकृति सुधार गर्नु आजको आवश्यकता हो । यस्तै, सेयर बजारको नियामक निकाय धितोपत्र बोर्डले पनि लगानीकर्ताको हितभन्दा अन्य कुरामा चासो राख्नु सट्टा लगानीकर्तालाई प्रोत्साहन गर्ने, तथ्यांक विश्लेषण गर्ने, बजारमा भएका विकृति रोक्ने कार्यमा जोड दिन आवश्यक छ । धितोपत्र बोर्डको गैरजिम्मेवारीका कारण पनि लगानीकर्ता बढी प्रताडित भएका छन् । त्यसैले धितोपत्र बोर्डले पुराना तथा अनावश्यक ऐन, नियम, विनियमावली समयअनुकूल परिमार्जन गर्ने तथा लगानीकर्ताको सुरक्षामा ध्यान दिने गर्नु बुद्धिमानी हुन्छ । अन्यथा डिम्याट खाताको संख्याले नेपाली सेयर बजार सुरक्षित, स्वस्थ, कुशल तथा सक्षम एवं विस्तार भएको भ्रम मात्र हुनेछ ।

प्रतिक्रिया दिनुहोस्