राजापुरमा जग्गाधनी पुर्जा वितरण सुरु «

राजापुरमा जग्गाधनी पुर्जा वितरण सुरु

राजापुरमा जग्गाधनी पुर्जा वितरण सुरुराजापुरमा जग्गाधनी पुर्जा वितरण सुरुलक्ष्मण ढुंगाना बर्दिया, १५ माघबर्दियाको प्रमुख व्यापारिक केन्द्र राजापुर बजारमा जग्गाधनी पुर्जा वितरण प्रक्रिया सुरु भएको छ । वर्षौंदेखि लालपुर्जाविहीन राजापुरमा बहाल बिटौरीमा जग्गादर्ता समितिको कार्यालय खुलेर जग्गाधनी पुर्जा वितरणको प्रक्रिया सुरु भएको हो । सरकारको २०७४ पुस १३ गतेको निर्णयअनुसार बहाल बिटौरी विधिबाट जग्गाधनी पुर्जा वितरण हुने भएको छ । भूमिसुधार तथा व्यवस्थामन्त्री गोपाल दहितको विशेष पहलमा यो निर्णय भएसँगै वर्षौंदेखि जग्गाधनी पुर्जा अभावमा विभिन्न समस्या झेल्दै आएका राजापुरवासीले राहतको महसुस गरेका छन् ।

पुर्जा वितरणका लागि राजापुरस्थित मालपोत कार्यालयमा बहाल बिटौरी जग्गा दर्ता समितिको कार्यालयसमेत स्थापना भई काम अगाडि बढाएको छ । समिति गठन भएसँगै  समितिको बैठक बसेर विभिन्न निर्णय भएका छन् । दुई महिना अवधि तोकिएको समितिले जग्गा दर्ताका लागि सूचना प्रकाशित गर्ने र निवेदनहरू संकलन गर्ने काम भइरहेको जनाएको छ ।

यतिबेला जग्गाधनीहरूले राजापुर नगरपालिकाबाट सिफारिस लिएर समितिको कार्यालयमा निवेदन दर्तासमेत गर्न थालिसकेका छन् । समिति गठन भएदेखि हालसम्म तीनवटा बैठक बसी विभिन्न निर्णय गरिएको बताउँदै जग्गा दर्ता सम्बन्धमा राजपत्रमा उल्लेख भएका कुरा त्रुटिपूर्ण भएकाले सम्बन्धित विभाग तथा मन्त्रालयसँग समन्वय गरी काम अगाडि बढाइने राजापुर मालपोत कार्यालयका प्रमुख एवं बहाल बिटौरी जग्गा दर्ता समिति कार्यालयका अध्यक्ष वागेश्वरदत्त ओझाले बताए । “राजपत्रमा प्रकाशित सूचनामा केही त्रुटि भएको छ,” उनले भने, “प्रस्ट नखुलाइएका कुरालाई केन्द्रको समन्वयमा अघि बढाउने गरी अन्य काम सुरु गरेका छौं ।

”जग्गा दर्ता प्रक्रिया सुरु भएपछि वर्षौंदेखि पुर्जा पाउन नसकेका राजापुरवासी निकै खुसी भएका छन् । जग्गाधनी पुर्जाका लागि बर्दिया उद्योग वाणिज्य संघको पहलमा राजापुरवासीहरू पटकपटक विभिन्न निकायमा डेलिगेसन गएका थिए । अब जग्गाधनी पुर्जाकै लागि विभिन्न निकायमा धाउनुपर्ने अवस्थाको अन्त्य भएको बताउँदै यो समिति गठनमा मात्र सीमित नभएर पुर्जा वितरण कार्यले समयमै पूर्णता पाउनु पर्ने बर्दिया उद्योग वाणिज्य संघका उपाध्यक्ष चन्द्रस्वर सुवेदीले बताए । “समिति गठन गरेरमात्र हुँदैन,” उनले भने, “यसले निकास पनि पाउनुपर्छ ।” अन्यथा विभिन्न बहानामा समितिको आयुमात्र लम्ब्याउने काम भयो भने राजापुरवासीको दुर्भाग्य हुने उनको भनाइ छ ।

राजापुर टप्पालगायत कैलालीको सीमावर्ती गाविसको प्रवेशद्वारसमेत रहेको राजापुर कुनै बेलाको मध्य तथा सुदूरपश्चिमको व्यापारिक हब हो । २०१८ सालमा तत्कालीन बडाहाकिमको निर्देशनमा हालको बजार क्षेत्रमा अस्थायी पुर्जा दिएपछि यहाँ बस्ती विस्तार भएको हो । स्थानीयवासीले लाखौं करोडांै खर्चेर ठूलाठूला पक्की महल बनाए पनि करिब ५ सय घर धनीपुर्जा अभावमा समस्यामा छन् । जस्का कारण दैनिक करोडौंको कारोबार हुने बजारमा बैंकिङ कारोबार, सरकारी कामकाजलगायत व्यापार व्यवसायमा निकै समस्या भएको छ । भूमिसुधार तथा व्यवस्थामन्त्री गोपाल दहितले दुई महिनाभित्र पुर्जा वितरण गरिने बताए । “अब पुर्जा वितरणको प्रक्रिया सुरु भइसकेको छ,” उनले भने, “यस कार्यमा सबैको सहयोग रहे यसले चाँडै पूर्णता पाउने छ ।”

लक्ष्मण ढुंगाना

प्रतिक्रिया दिनुहोस्