Logo

बंगलादेशसँगको व्यापार घाटा बढ्यो

पछिल्लो समय बंगलादेशसँगको व्यापार घाटा बढेर गएको छ । पूर्वी नाका काँकडभिट्टाबाट बंगलादेश निर्यात हुने सामानको तुलनामा बढी आयात भएको तथ्यांक मेची भन्सार कार्यालयले सार्वजनिक गरेसँगै बंगलादेशसँगको व्यापार घाटा बढेर गएको हो ।
चालु आर्थिक वर्ष २०७८-०७९ मा बंगलादेशबाट ९ अर्ब ९० करोडको विभिन्न वस्तु आयात भएको र नेपालबाट ५३ करोडको मात्र विभिन्न वस्तु बंगलादेश निर्यात भएको भन्सार कार्यालयका प्रमुख केशवराज ओलीले बताए । प्रत्येक वर्ष नेपाली सामानको निर्यात घट्दै गएको र बंगलादेशी सामानको आयात बढेको उनले बताए ।
आर्थिक वर्ष २०७७-०७८ मा नेपालबाट ६७ करोड ३८ लाख ९१ हजारको निर्यात भएको थियो भने बंगलादेशबाट सात अर्ब १५ करोड ७२ लाख ३४ हजारको सामान आयात भएको उनले बताए ।
त्यस्तै आर्थिक वर्ष २०७६-०७७ मा ९५ करोड ४१ लाख ७५ हजारको सामान आयात हुँदा चार अर्ब ९५ करोड ३४ लाख ८६ हजारको नेपाली उत्पादन निर्यात भएको उनले बताए ।
आर्थिक वर्ष २०७१-०७२ सम्म बंगलादेशबाट आयातको तुलनामा नेपालमा उत्पादित कृषिजन्य सामग्री बंगलादेश बढी निर्यात हुने गरेपनि बंगलादेश सरकारले अलंैची, चियालगायतका कृषिजन्य सामानमा अत्याधिक कर लगाएका कारण निर्यात कम भएसँगै आयात बढेको उनले बताए ।
बंगलादेशबाट औषधि, कपडा, बिस्कुट, जुसलगायतका विभिन्न वस्तु आयत भएको र नेपालबाट बंगलादेशमा अलैंची, चिया दाल, अदुवा, चिराइतो, जडीबुटी, तिलको पिनालगायत निर्यात हुँदै आएको उनले बताए । मेची भन्सार कार्यालय हुँदै भारतको पानीट्यांकी–फूलबारीबाट बंगलादेशको बंगलाबन्धबाट व्यापार हुँदै आएको मेची भन्सार कार्यालयका प्रमुख केशवराज ओलीले बताए ।
उनले भने, “ भारतले फूलबारी–बंगलाबन्ध नाका नेपाल–बंगलादेशबीचको व्यापारका लागि उपलब्ध गराएको ‘ट्रान्जिट’ हो । पूर्वी नाका काँकडभिट्टाबाट करिब ८० किलोमिटरको दूरीमा बंगलादेश छ । जसले गर्दा बंगलादेशसंग व्यापार गर्न सहज छ ।”
नेपालबाट आयात हुने वस्तुमा बंगलादेशले १ सय १० प्रतिशतसम्म भन्सार महसुल लिने गरेपनि बंगलादेशबाट आयात हुने वस्तुमा भने नेपालले ३० प्रतिशत मात्रै भन्सार लगाएको बताउँदै ओलीले सरकारी नीतिकै कारण बंगलादेशसँगको व्यापार घाटा अत्यधिक बढेर गएको जनाए । अत्यधिक भन्सार महसुलकै कारण नेपालबाट बंगलादेशका लागि निर्यात ठप्पै हुने अवस्थामा पुगेको बताउँदै सरकारीस्तरबाटै कूटनीतिक पहल गरेर बंगलादेशले नेपालबाट आयातित वस्तुमा लगाएको उच्च भन्सार महसुल घटाउनुपर्नेमा उनले जोड दिए ।

प्रतिक्रिया दिनुहोस्