‘बिमा ऐन २०७५’ संशोधनको गृहकार्य «

‘बिमा ऐन २०७५’ संशोधनको गृहकार्य

प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिमा सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६ माथि छलफल भएको छ ।
अर्थ समितिको बैठकमा बिमा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०७५ माथि पनि छलफल भएको हो । बैठकमा अर्थमन्त्री जनार्दन शर्माले विधेयकमाथि भएको छलफलको प्रतिवेदन समितिमा प्रस्तुत गरेका थिए । उनले विधेयकको विधि निर्माणपछि सच्याउनुपर्ने शब्दावलीहरुको बारेमा समितिलाई जानकारी गराएका छन् ।
२७ असार २०७५ मा दर्ता भएको बिमा सम्बन्धी विधेयक अहिलेसम्म पनि अघि बढ्न सकेको छैन । बिमा विधेयक लामो समयसम्म समितिमा अड्किएपछि समितिमा रहेका सदस्यहरुको लगानी विभिन्न जीवन र निर्जिवन बिमा कम्पनीमा रहेको आशंका गरिएको छ । बिमा विधेयकमा भएको बिमा प्राधिकरण गठन गर्ने विषयमा पनि निस्कर्ष ननिस्किँदा विधेयक अगाडि बढेको थिएन । तर अहिले समितिमा बिमा सम्बन्धी छुट्टै बिमा प्राधिकरण बनाएर अघि बढ्नेमा अनौपचारिक सहमति जुटेको बताइएको छ । 
सरकारले सञ्चालन गरेको स्वास्थ्य बिमा कार्यक्रमलाई अर्थ मन्त्रालयले प्राधिकरणको छाताभित्र ल्याउने कोसिस गरेपनि हाल चलिरहेको स्वास्थ्य बिमा कार्यक्रम यथावत अवस्थामा चल्न दिने गरी अर्थ समितिले लगभग सहमति जुटाएको छ । यद्यपी यो विषय छलफलकै क्रममा रहेकोले औपचारिक निर्णय भने भइसकेको छैन ।  

प्रतिक्रिया दिनुहोस्