Logo

बाहिरी चक्रपथ निर्माणमै अन्योल

सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले बाहिरी चक्रपथ निर्माण कार्यका लागि अहिले कुनै पनि काम हुन नसकेको बताएको छ ।
बुधबार प्रतिनिधिसभाको बैठकमा आगामी वर्षको विनियोजित बजेटमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री झाँक्रीले यस्तो बताएकी हुन् । उनले अहिले बनाउने भनिएको ठाउँमा बाहिरी चक्रपथ बन्ने हो कि होइन भन्नेमा अन्योलता रहेको पनि बताइन् । मन्त्री झाँक्रीले चोभारदेखि सतुंगलसम्मको ६ किलोमिटरमा धेरै ठाउँमा सरकारी भवन बनेको बताइन् । उनले ६ किलोमिटरमा सरकारले मुआब्जा दिने हो भने साढे तीन खर्ब खर्च हुने बताइन । बाहिरी चक्रपथ बनाउने क्षेत्रमा अत्यधिक जग्गाको कित्ताकाट भएको भन्दै मन्त्री झाँक्रीले त्यसको पुनः अध्ययन आवश्यक देखिएको बताइन् । मन्त्री झाँक्रीले काठमाडौं उपत्यकामा चार वटा स्याटलाइट सिटी बन्ने भने पनि बन्न नसकेको बताइन् । उनले अघिल्लो सरकारले धेरै गफ गरे पनि काम भने धेरै नगरेको जिकिर गरिन् । त्यसका लागि उत्तरपूर्वी इसान सहरको भौतिक योजना तयार भएर मन्त्रिपरिषद्मा जाने प्रक्रियामा रहेको मन्त्री झाँक्रीले बताइन् । उनले बाँकी तीनवटा सहरको सम्भाव्यता अध्ययन कार्य जारी रहेको उल्लेख गरिन् ।
मन्त्री झाँक्रीले युटिलिटी करिडोरको कानुन चालू आवमा संसद्मा ल्याउने तयारी रहेको बताइन् । उनले यो कानुन बनेमा सडक बन्ने र खन्ने क्रम तत्काल रोकिने दाबी गरिन् । सडकदेखि बाटोका झुण्डिएको तारको व्यवस्थापन पनि यसले गर्नेकुरा अन्योल रहेको भन्दै नयाँ ऐनले सबै व्यवस्थापन गर्ने दाबी गरिन् । मन्त्री झाँक्रीले नगर विकास कोषलाई छुट्टै २० अर्बको पुँजी भएको वित्तीय निगम बनाएर नगर विकासको काम गर्ने ऐन ल्याउन लागेको बताइन् । उनले उक्त कानुन मन्त्रिपरिषद्बाट पास गरेर कार्यान्वयनमा ल्याउने तयारीमा सरकार रहेको बताइन् ।
मन्त्री झाँक्रीले सरकारी भवन निर्माणमा एकरूपता ल्याउन नीतिगत व्यवस्था गरिन लागेको पनि बताइन् । उनले देशभर करिब ३२ वटा सभाहल निर्माण सम्पन्न हुने क्रममा रहेको र ती सभाहल सञ्चालनमा अन्योलता भएको बताइन् । मन्त्री झाँक्रीले सुरक्षित नागरिक आवास कार्यक्रमलाई नहटाइएको समेत जिकिर गरिन् ।

प्रतिक्रिया दिनुहोस्