चेम्बर एक्स्पो २०२२ भृकुटीमण्डपमा सुरू
व्यापार घाटा न्यूनीकरण गर्नु मुख्य चुनौती: प्रधानमन्त्री

नेपाल चेम्बर एक्स्पो २०२२ काठमाडौंको भृकुटीमण्डपमा सुरू भएको छ । पाँचौ संस्करणको चेम्बर एक्स्पोको प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार उद्घाटन गरेका छन् ।
पाँचौं संस्करणको चेम्बर एक्स्पोको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले व्यापार घाटा न्यूनीकरण गर्नु मुलुकका लागि मुख्य चुनौती भएको बताए । स्वदेशी उत्पादनलाई बढी भन्दा बढी गुणस्तरीय बनाई निर्यात प्रर्वद्धनमार्फत व्यापार घाटा न्यूनीकरण गर्न पनि प्रधानमन्त्री देउवाले आग्रह गरेका छन् ।
“निर्यात प्रर्वद्धन तथा आयात प्रतिस्थापन दुवै विषय निजी क्षेत्रको सक्रिय सहभागित र सहकार्य विना सम्भवन हुँदैन,” उनले भने, “निकासी प्रर्वद्धन गर्दै व्यापार घाटालाई वान्छित सीमाभित्र राख्न सरकार निजी क्षेत्रसँग सहकार्य गरी अगाडी बढ्न तत्पर छ ।”
नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको प्रर्दशनीले स्वदेशी उत्पादनको प्रवद्र्धनमा सहयोग पु¥याउने प्रधानमन्त्री देउवाले बताए । एउटै प्रर्दशनीमा धेरै किसिमका वस्तुहरु अवलोकन तथा खरिद बिक्री गर्न पाइने भएकाले उपभोक्ता तथा अवलोकनकर्तालाई प्रत्यक्ष फाइदा पुग्ने देउवाको भनाइ छ । मुलुकको उद्यमशिलता विकास तथा निर्यात प्रवद्र्धनका लागि सरकारले निजी क्षेत्रसँग संधै हातेमालो गरेर अघि बढ्न चाहेको प्रधानमन्त्री देउवाले प्रतिवद्धता जनाए ।
चेम्बर एक्स्पोले वस्तुहरुको बजारीकरण र उपभोक्ताबीचको रुचि र प्रवृत्तिलाई तालमेल पु¥याउन सक्नेमा समेत प्रधानमन्त्री देउवाले जोड दिए । यस्तै एक्स्पोले उत्पादक र उपभोक्तालाई जोड्ने र उद्यमी व्यवसायीलाई आफ्नो वस्तुको बजार बिस्तार गर्न सहयोग पु¥याउनेमा प्रधानमन्त्रीले विश्वास व्यक्त गरे ।
नेपाल चेम्बर अफ कमर्ससका अध्यक्ष राजेन्द्र मल्लले कोभिड १९ पछिको असहज परिस्थितीकाबीच चेम्बर एक्स्पो गरिएको बताए । मुलुकको आर्थिक गतिविधिलाई चलायमान बनाउन पनि एक्स्पोले महत्वपूर्ण भूमिका निर्वाह गर्ने अध्यक्ष मल्लको भनाइ छ ।
सन् २०१५ देखि वार्षिक रुपमा आयोजना हुँदै आएको चेम्बर एक्स्पो कोभिड १९ महामारीका कारणले पछिल्ला केही वर्ष स्थगित गर्नु पर्ने बाध्यात्मक अवस्था सिर्जना भएको अध्यक्ष मल्लले बताए । “एक्स्पोलाई चेम्बरले अवदेखि नियमित वार्षिक कार्यक्रमका रुपमा निरन्तरता दिने पनि निवेदन गर्दछु” उनले भने ।
मुलुकभित्र आयोजना हुने अन्तर्राष्ट्रिय स्तरका ब्यापार मेला तथा प्रदर्शनीहरुले नवीनतम प्रविधि, उत्पादन, उपभोक्ताको चाहना एवं बजारीकरण आदि आर्थिक तथा व्यापारिक गतिविधिहरुको प्रत्यक्ष अवलोकन गर्न सकिने हुनाले चेम्बर एक्स्पोहरुले स्वदेशी उद्यमी व्यवसायी एवं आम उपभोक्ताहरुको लागि अत्यन्तै उपयोगी हुने अध्यक्ष मल्ललको भनाइ छ । मेलामा गुणस्तरीय सामान प्रयोग गर्न एवं उपभोक्ता हित सम्बन्धी जनचेतना अभिवृृद्धि गर्ने दायित्वलाई प्रर्दशनीले प्राथमिकता दिने अपेक्षा गरिएको छ । यस्तै निकासी अभिवृद्धि गर्नेमा पनि चेम्बर मेलाले सहयोग गर्ने विश्वास गरिएको छ ।
मेलामा घरेलु तथा स्वदेशी उत्पादनका साथै कृषि एवं जडिबुटीजन्य वस्तुहरु, इलोक्ट्रोनिक सामान, गार्मेन्ट्स एवं टेक्स्टायल, छाला जन्य बस्तुहरु, कस्मेटिक, खाद्य तथा दुग्धजन्य सामग्रीहरु प्रर्दशनीमा राखिएको छ ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय एवं व्यापार तथा निकासी प्रर्वद्धन केन्द्रको सहकार्यमा आयोजित अन्तर्राष्ट्रिय मेलामा बंगलादेश पार्टनर कन्ट्रीको रुपमा रहेको छ । मेलामा नेपाल, भारत, पाकिस्तानलगायत अन्य राष्ट्रका उद्योगी व्यवसायी समेत गरी १ सय ५० भन्दा बढी स्टलहरु रहेका छन् ।