पूर्वाधार विकास र शैक्षिक सुधारमा २१ करोड लगानी «

पूर्वाधार विकास र शैक्षिक सुधारमा २१ करोड लगानी

जुम्ला : माथिल्लो कर्णालीका तीन जिल्लाको शैक्षिक सुधार र विद्यालयको शैक्षिक पूर्वाधार विकासमा (कर्णाली शिक्षा परियोजना)ले बितेको तीन वर्षमा २१ करोड बढी बजेट लगानी गरेको छ । कर्णालीका जुम्ला, डोल्पा र कालिकोट जिल्लाका आडवटा स्थानीय तहका विद्यालयको पूर्वाधार विकास र शैक्षिक अवस्था सुधार तथा कर्मचारीको तलब, अनुगमन निरिक्षणमा २१ करोड ७८ लाख ६८ हजार २ सय १८ रुपैयाँ लगानी गरेको पाइएको हो ।
प्लान इन्टरनेसनल नेपालको आर्थिक सहयोग र तीन जिल्लास्थित किर्डाक नेपालको साझेदारीमा कर्णाली शिक्षा परियोजनामार्फत विद्यालय पक्की भवन निर्माण, शौचालय, खानेपानी निर्माण तथा शैक्षिक सामग्री वितरण र शिक्षकहरूलाई पठनसीपसम्बन्धी तालिमलगायतका कार्यका लागि साढे २१ करोड बढी बजेट लगानी भएको प्लान नेपाल जुम्लाका परियोजना विज्ञ दिपेन्द्रसिंह सामन्तले बताए ।
उनले भने, “किर्डाक नेपालको साझेदारीमा तीन वर्षे कर्णाली शिक्षा परियोजना मुगु कालिकोट र जुम्लामा सञ्चालन भएको हो । तीन वर्षे कार्यवधि पूरा भएर परियोजना समाप्त भएको छ । तीन वर्षमा विद्यालयको भौतिक शैक्षिक अबस्था र शैक्षिक गुणस्तर सुधारमा उल्लेखनीय सुधार आएको प्रतिक्रिया पाएका छौं । माग आवश्यकताअनुसार पुनः परियोजनालाई निरन्तरता दिइने छ ।”

कर्णाली शिक्षा परियोजना समाप्त
पूर्वाधार विकास र शैक्षिक सुधारमा २१ करोड लगानी


तीन वर्षे कर्णाली शिक्षा परियोजनाको पहिलो वर्षमा तीन जिल्लामा दुई करोड ५६ लाख ७१ हजार ३ सय ७० रुपैयाँ, दोस्रो वर्षमा सात करोड ८५ लाख, ७० हजार, ७ सय ५५ रुपैयाँ र तेस्रो वर्षमा ११ करोड ३६ लाख ७६ हजार २ सय ४१ रुपैया गरी २१ करोड ७८ लाख ६८ हजार बढी बजेट छ । शिक्षा क्षेत्रको पूर्वाधार विकास, शैक्षिक सुधार र कर्मचारीहरुको तलब, अनुगमन निरीक्षणमा लगानी भएको प्लानका परियोजना विज्ञ सामन्तले जानकारी दिए ।
मंगलबार जुम्लामा शिक्षा परियोजनाका तीन वर्षे उपलब्धिबारे समीक्षा गरिएको छ । समीक्षाका क्रममा जुम्लाको हिमा, सिंजा र कनकासुन्दरीका २६ वटा विद्यालयको शैक्षिक गुणस्तर सुधार, पूर्वाधार विकासमा करिब चार करोड लगानी भएको छ भने जुम्लामा तीनवटा पक्की विद्यालय भवन र ६ वटा पक्की शौचालय निर्माण भई हस्तान्तरण गरिएको परियोजनाका फिल्ड सुभर भाइजर भीमप्रसाद उपाध्यायले बताए । उनले भने, “शौचालयको समस्याले महिनावारी हुँदा किशोरी विद्यालय नआउने, माटोमै विद्यार्थी बस्ने, पर्याप्त खानेपानी धारा नभएको स्थिति थियो भने शिक्षकहरूलाई तालिम अभाव थियो । हामी पूर्वाधार विकास र शैक्षिक गुणस्तर अपेक्षित लक्ष्य हासिल गरेका छांै ।”
महिनावारी स्वच्छता व्यवस्थापन सामग्री, घरमा पढाइ कुना निर्माण, अपांता भएका बालबालिकालाई घरमा पढाउने, कम्प्युटर शिक्षा लागू तथा शैक्षिक सामग्रीसमेत वितरण गरेको उपाध्यायको भनाइ छ । साथै परियोजनाबाट कालिकोटमा नौ शौचालय, तीन विद्यालय भवन, डोल्पामा दुई विद्यालय भवन र दुई शौचालय निर्माण भएका छन् ।
हिमा गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख शंकर धितालले कर्णाली शिक्षा परियोजनाले विद्यालय बाहिर रहेको बालबालिकाको विद्यालयको पहुँच वृद्धि भएको बताए । छापामय कक्षा कोठा निर्माणदेखि भौतिक पूर्वाधार विकासमा समेत किर्डाकको उल्लेखनीय भूमिका रहेको उनको भनाइ छ ।
जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आर्चायले किर्डाकले कर्णालीको क्षिक्षा, स्वास्थ्य, बालअधिकार र सुशासनका क्षेत्रमा उल्लेखनीय काम गरेको बताए । कर्णाली शिक्षा परियोजनाले शिक्षाको सुधार र पूर्वाधार विकासमा करोडौ लगानी गरे पनि शैक्षिक गुणस्तरमा अपेक्षित सुधार नभएको उनको भनाइ छ ।
शिक्षकहरू रूपान्तरण हुन जरुरी छ । उलने भने, “सरकारी र गैससको शिक्षा क्षेत्रमा लगानी उल्लेखनीय भए पनि उपलब्धि अपेक्षित नहुनु दुःखद पक्ष हो । सीपको कार्यान्वयन र पूर्वाधारको उपभोग गरी शिक्षा क्षेत्र सुधार आवश्यक छ । त्यसतर्फ ध्यान दिनुप¥यो ।”

प्रतिक्रिया दिनुहोस्