नेपाल र रुसबीच खेल क्षेत्रमा सहकार्य «

नेपाल र रुसबीच खेल क्षेत्रमा सहकार्य

युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले रुस–नेपाल खेलकुद सहयोग कार्ययोजनामा हस्ताक्षर गरेका छन् । रुसी सरकारको औपचारिक निमन्त्रणामा त्यहाँको भ्रमणमा रहेका मन्त्री गहतराज र रुसी खेलकुद मन्त्री आलेग भासिलिभिचले दुईपक्षीय कार्ययोजनामामा संयुक्त रुपमा हस्ताक्षर गरेका छन् ।
भ्रमणको दोस्रो दिन मन्त्री गहतराजसहितको प्रतिनिधि मण्डल र रुस का खेलकुद मन्त्री आलेग भासिलिभिचसँग शिष्टाचार भेटवार्ता भएको थियो । भेटवार्ताका क्रममा दुईदेशीय हितको विषयमा छलफल भएको थियो । छलफल पश्चात नेपालको उच्च पहाडी क्षेत्रमा खेल पूर्वाधार निर्माण, खेलाडी तथा प्रशिक्षकको क्षमता अभिवृद्धि, दुबै देशबिच मैत्रिपूर्ण तथा प्रतिष्पर्धात्मक खेलहरुको आदानप्रदान तथा नेपाली खेलाडी र विद्यार्थीलाई खेल विज्ञान पढ्नका लागि छात्रवृत्ति सहयोग लगाएत विषय समेटिएको रुस–नेपाल खेलकुद सहयोग कार्ययोजनामा दुबै देशका खेलकुद मन्त्रीले हस्ताक्षर गरेका छन् ।

नेपाल र रुसबीच खेल क्षेत्रमा सहकार्य


सो अवसरमा बोल्दै रसियाका खेलकुद मन्त्री आलेग भासिलिभिचले नेपाली खेलाडी तथा विद्यार्थीहरुलाई खेल विज्ञान पढ्न छात्रवृत्ति दिने, खेलाडी र प्रशिक्षकहरुलाई तालिम दिने तथा दुबै देशबिच मैत्रीपूर्ण खेल आयोजना गर्ने विषयमा रसिया उत्साहित भएको बताए । साथै नेपालको खेलकुद क्षेत्रमा सहयोग गर्ने प्रतिवद्धता समेत जनाए ।
मन्त्री गहतराजले नेपाल र रसिया बिचको ६६ वर्ष लामो कुटनीतिक सम्वन्धमा यस भ्रमणले खेलकुद डिप्लोमेसी मार्फत थप सुदृढ र सुमधुर सम्बन्ध स्थापित हुने विश्वास ब्यक्त गरे । उनले खेललाई कुटनीतिको प्रमुख अंग बनाउँदै आर्थिक, पर्यटन तथा अन्य विधासँग सामानजस्यता बढाउन आवश्यक रहेको उल्लेख गर्दै खेल पूर्वाधार र खेलका समग्र क्षेत्रमा रसियाले कायम गरेको आफ्नै विशिष्ट क्षमताको समेत प्रशंसा गरे ।

प्रतिक्रिया दिनुहोस्