लुम्बिनीलाई भारतका बौद्ध सम्पदासँग जोड्न सके धार्मिक पर्यटक वृद्धि हुनेछ
चन्द्रप्रकाश श्रेष्ठ (सीपी)
अध्यक्ष
सिद्धार्थ होटल संघ नेपाल (सान)
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले लुम्बिनी भ्रमण गरेसँगै गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि भारतीय पर्यटकको आगमनमा वृद्धि हुने अपेक्षा गरिएको छ । प्रधानमन्त्री मोदीले बुद्धजयन्तीका दिन (जेठ २ गते) लुम्बिनी भ्रमण गरेका थिए भने गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सोही दिन जजिरा एयरले भैरहवामा व्यावसायिक उडान गरेको थियो । प्रधानमन्त्री मोदीको भ्रमणले धार्मिक पर्यटकको आगमन वृद्धि र तेस्रो मुलुकका पर्यटकको आगमन वृद्धि हुने आशा गरिएको छ । नेपाल पर्यटन बोर्डको तथ्यांक हेर्न हो भने सन् २०२२ को पाँच महिनामा साढे ४७ हजार भारतीय पर्यटकले नेपाल भ्रमण गरेको तथ्यांक छ । मे महिनामा मोदीको भ्रमणपछि भारतीय पर्यटकको आगमनदर वृद्धि भई साढे २६ हजार भारतीय पर्यटक नेपाल आगमन भएको छ । मोदीले सन् २०१८ मेको दोस्रो हप्ता जनकपुरपछि मुक्तिनाथको भ्रमण गरेका थिए । योसँगै मुक्तिनाथ भ्रमण गर्ने भारतीय तथा बाह्य पर्यटकको आगमन नेपालमा बढेर गएको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुर ओर्लेर आपूm प्रधानमन्त्रीको रूपमा नभएर प्रधान तीर्थयात्रीको रूपमा नेपाल भ्रमण गरेको बताएका थिए । भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणपछि मुक्तिनाथ यात्रा गर्ने भारतीय तीर्थयात्रीको संख्यामा दोब्बरले वृद्धि भएको थियो ।
नेपालका धार्मिक पर्यटन स्थलहरू पशुपतिनाथ, जनकपुरधाम, मुक्तिनाथको भ्रमण गरिसकेका मोदीको लुम्बिनी भ्रमणलाई भने पर्यटन व्यवसायीहरूले निकै सकारात्मक रूपमा लिएका छन् । भ्रमणले भैरहवा तथा लुम्बिनी क्षेत्रको धार्मिक तथा सांस्कृतिक पर्यटनमा टेवा पुग्ने विश्वास लिइएको छ । प्रधानमन्त्री मोदीको लुम्बिनी भ्रमणसँगै गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि यस क्षेत्रको पर्यटन उद्योगको विकासका बारेमा सिद्धार्थ होटल संघ नेपालका अध्यक्ष चन्द्रप्रकास श्रेष्ठ (सीपी)सँग कारोबारकर्मी दीपेन्द्र थापाले गरेको कुराकानीको सार ः
लामो समयपछि सरकारले दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याएको छ । यसले भैरहवा र लुम्बिनी क्षेत्रको विकासमा कस्तो भूमिका खेल्छ ?
दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको रूपमा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ । यसले लुम्बिनी, भैरहवा तथा समग्र नेपालको पर्यटन उद्योगको विकासमा ठूलो योगदान पु¥याउनेछ । यो क्षेत्र भनेको लुम्बिनी, जहाँ भगवान् गौतम बुद्धको जन्मभूमि हो । संसारभर एक अर्ब ३० करोड बुद्धिस्ट छन् । कोभिड–१९ का कारणले नेपालको समग्र पर्यटन उद्योगको अवस्था ओरालो लागेको थियो । दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि भने असंख्य रूपमा बुद्धिस्टहरू आउने वातावरण बन्नेछ भन्ने अपेक्षा राखिएको छ । यसले नेपालको पर्यटन विकासमा योगदान पु¥याउने र पर्यटनबाट वैदेशिक मुद्राको आर्जन गर्नमा टेवा पु¥याउँछ । पर्यटकको आगनमा वृद्धि भएसँगै रोजगारी वृद्धि हुने, आर्थिक उन्नति हुने तथा पर्यटन उद्योगको विकास हुनेछ । एकजना पर्यटक आउँदा प्रत्यक्ष÷अप्रत्यक्ष रूपमा ११ जनाले रोजगारी प्राप्त गर्ने गरेको संयुक्त राष्ट्रसंघको विश्व पर्यटन संगठनको भनाइ छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमण तथा सोही दिन (०७९ जेठ २) मा भएको गौतम बुद्ध विमानस्थलको व्यावसायिक उडान सुरु भएपछि प्रचार–प्रसार भएको छ । कुबेतको अग्रणी एयरलाइन जजिरा एयरवेजले मध्यपूर्व, एसिया र युरोपमा पनि आफ्नो उडान सेवा विस्तार गरेको छ । जजिराले भैरहवास्थित नवनिर्मित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यावसायिक उडान सुरु गरेको हो । यसबाट मध्यपूर्व र युरोप बसोबास गर्ने ठूलो समुदाय नेपालको दक्षिण–पश्चिम क्षेत्रमा प्रत्यक्ष रूपमा जोडिन सक्नेछन् ।
यो नेपालमा जजिराको दोस्रो उडान सेवा हो, जसले नेपालको तराई क्षेत्रमा बढ्दै गइरहेको यात्रुको आवश्यकतालाई सम्बोधन गरेको छ । विगतमा पनि प्रधानमन्त्री मोदीले मुक्तिनाथ, पशुपतिनाथ तथा जनकपुरको भ्रमण गरेपछि भारतीय पर्यटकको आगमनमा पनि वृद्धि भएको थियो । यसले भारतीय नागरिकमा प्रधानमन्त्री मोदीले भ्रमण गरेको स्थानमा भ्रमण गर्नु, दर्शन गर्नुपर्छ भन्ने सोचको विकास भएको छ । यसले नेपालको पर्यटन आगमनदरमा भारतीय नागरिकको संख्यामा अवश्य वृद्धि गर्ने नै छ । भारतको यूपी प्रदेशमा करिब २३ करोड जनसंख्या छ । यदि २३ करोड जनसंख्याको १० प्रतिशतमात्र नेपाल भ्रमणमा आएको खण्डमा मात्र पनि नेपालको पर्यटन क्षेत्रलाई समृद्ध बनाउने र आर्थिक वृद्धि हुने मैले देखेको छु । भोलिको दिनमा कसरी विमानस्थल अगाडि बढ्छ, सरकरले विभिन्न विमान कम्पनीहरूलाई कसरी गौतम बुद्ध विमानस्थलमा आकर्षित गर्न सक्छ, त्यो भने हेर्न बाँकी नै छ ।
कुबेतबाट जजिरा एयरले गौतम बुद्ध विमानस्थलमा उडान सुरु गरेको छ । यसमा सबै नेपाली नै रहेका थिए । उनीहरूलाई वैदेशिक यात्रामा जान–आउन सहज भएको प्रतिक्रिया दिएका छन् । हामी (संघ)ले उनीहरूलाई आगमनमा स्वागत पनि ग¥यौं । घरबाट नै उडान तथा अवतरण गर्न पएकोमा यात्रुहरू खुसी छन् ।
अबका दिनमा सरकारले बुद्धिस्ट धर्मावलम्बीहरू भएको देश श्रीलंका, म्यानमार, थाइल्याड, चीन, बर्मालगायतका देशमा व्यावसायिक उडान गर्न सकेको खण्डमा लुम्बिनी तथा भैरहवामा पर्यटक आगमनमा वृद्धि हुने र पर्यटन उद्योगको विकास हुने देखिन्छ ।
भैरहवा र लुम्बिनीमा विस्तार हुँदै गएका होटलको अवस्था कस्तो छ ?
हाल होटल एसोसिएसनअन्तर्गत भैरहवामा होटलको अवस्था बेलैयाँ, लुम्बिनी, भैरहवा गरेर १ सय ४६ वटा साना–ठूला होटल रहेका छन् । यी होटलहरूमा करिब २० अर्ब रुपैयाँको लगानी छ । सिद्धार्थ होटल संघले एक दिनमा पाँच हजार बेडको सेवा दिन सक्ने अवस्था रहेको छ । अन्तर्राष्ट्रिय विमानस्थल बन्नुअगावै व्यवसायी साथीहरूले भैरहवा, लुम्बिनीमा पाँचतारे, चारतारे, तीनतारे पर्यटकस्तरका होटलहरू निर्माणाधीन अवस्थामा थिए भने हाल सञ्चालनमा ल्याएका छन् । करिब दुई वर्षमा ती होटलमा करिब दुई हजार पाँच सय बेड वृद्धि हुन सक्ने मेरो विश्वास छ ।
आर्थिक सर्वेक्षण २०७८-०७९ अनुसार सन् २०२१ मा बाह्य तथा आन्तरिक पर्यटकमध्ये अधिकांश पर्यटकको भ्रमण गन्तव्य गौतम बुद्धको जन्मस्थल लुम्बिनी हुने गरेको तथ्यांकले देखाएको छ । सन् २०२१ मा लुम्बिनी भ्रमण गर्नेमा नेपाली ४ लाख ६३ हजार ९ सय ६३, भारतीय ४३ हजार ७ सय ३२ (स्थल मार्ग र हवाई मार्गसमेत गरी) र अन्य मुलुकका १ हजार १ सय ९७ जना रहेका छन् । सन् २०२० मा लुम्बिनी भ्रमण गर्नेमा नेपाली १ लाख ९७ हजार २ सय ५२, भारतीय ३७ हजार २ सय ६ र अन्य मुलुकका ४५ हजार ४ सय ६९ जना रहेका थिए । सन् २०२१ मा आन्तरिक पर्यटकहरूको लुम्बिनी भ्रमण उत्साहजनक रहेको र भारतीय पर्यटकको संख्या १७.५ प्रतिशतले वृद्धि भएको छ । तथापि, सन् २०२१ मा तेस्रो मुलुकबाट लुम्बिनी आउने पर्यटकको संख्या न्यून रहेको थियो । प्राप्त तथ्यांकअनुसार पनि पछिल्लो समय लुम्बिनीमा पर्यटकको आगमनदरमा वृद्धि हुँदै गएको देखाउँछ । अबका दिनमा हवाई उडान विस्तार भएपछि अझ बढी पर्यटक आगमनमा वृद्धि हुने देखिन्छ ।
पछिल्लो समय होटल तथा पर्यटक उद्योगमा लगानी थपिँदो मात्रामा नै छ, हैन ?
निश्चत रूपमा विमानस्थल बन्ने भएसँगै ठूला घरानाले पनि होटलमा लगानी विस्तार गरेका छन् । पर्यटकको पर्याप्त सम्भावना भएकाले गर्दा नै यस क्षेत्रमा होटल तथा पर्यटनजन्य उद्योगको विस्तार बढ्दो क्रममा रहेको छ । विमानस्थल बनेसँगै यो क्रम अझ थपिँदो मात्रामा रहेको छ । हाम्रो प्रमुख गन्तव्य भनेकै लुम्बिनी हो । यसका लागि भने पर्यटकलाई हामीले पर्याप्त चाहेको सेवा लिन सक्नुप¥यो भन्ने नै हो । अझ क्यासिनोको विस्तार गर्न सक्नुपर्छ । भारतीय पर्यटकको पहिलो रोजाइ नै क्यासिनो हुने गरेको छ । भैरहवा क्षेत्रमा अहिले ६ वटा क्यासिनो सञ्चालनमा रहेका छन् । सरकारले क्यासिनो सञ्चालनमा सहज बनाउन सक्नुपर्छ । यसका लागि सरकारले नीतिगत सहजीकरण गर्न आवश्यक छ । यसबाट सरकारलाई पनि राजस्व संकलनमा पर्याप्त सहयोग पुग्नेछ । हाम्रो नीति क्यासिनो नियमावलीमा बोर्डरमा खोल्न नपाउने भनेको छ । बोर्डरमा पनि सरकारले खोल्न दिनुपर्छ, अन्य देशमा बोर्डरमा क्यासिनो खोलेर राजस्व संकलनको प्रमुख माध्यम बनाएका छन् । नेपालीहरूलाई हामीले प्रवेशमा रोक लगाएका छौं, भारतीयसँग प्रशस्त पैसा छ । सरकारले बोर्डरबाट ३ किलोमिटरभित्र क्यासिनो सञ्चालनमा रोक लगाएको छ । क्यासिनोमा आकर्षण गर्नका लागि सरकारले शून्य किलोमिटरमा नै क्यासिनो सञ्चालन गर्न पाउने नीति ल्याउनुपर्छ, जसले गर्दा सरकारको राजस्व संकलनको मात्रामा वृद्धि हुनेछ ।
कोभिड–१९ पछि होटलहरू लयमा फर्कने क्रममा रहेका छन् ?
कोभिड–१९ का कारण पछिल्लो समय होटलहरू मारको अवस्थामा छन् । यहाँका होटलमा करिब २० अर्ब रुपैयाँको लगानी रहेको छ भने करिब १३ अर्ब रुपैयाँ कर्जा रहेको छ । कोभिड–१९ का कारण होटल व्यवसाय राम्रो छैन । बैंकबाट लिएको कर्जाको ब्याज पनि भुक्तानी गर्न सक्ने अवस्था छैन । सरकारले विभिन्न नीति बनाउँछ राष्ट्र बैंकमार्फत । तर, त्यो नीति राष्ट्रिय वाणिज्य बैंकहरूले पालना नगर्दा हामीजस्ता व्यवसायी मारमा छौं । सरकारले यसमा निगरानी गर्नु आवश्यक छ । वाणिज्य बैंकहरूले कार्यान्वयन गर्नका लागि निगरानी बढाउनु आवश्यक छ । व्यवसायीले कसैले कर्जा नर्तिने भन्ने हुँदैैन, कमाएर नै कर्जा तिर्ने हो । सरकारले यसमा केही वर्ष सहज वातावरण बनाउनुपर्छ । राष्ट्र बैंकले व्यवसायीमैत्री नीति बनाउनुपर्छ । यसो भएको खण्डमा मात्र व्यवसायमा नयाँ लगानी थप हुनेछ ।
पछिल्लो समय पर्यटकको आगमनदरमा सुधार हुँदै आएको हो ? सरकारले सहजीकरण गर्नका लागि के गर्नुपर्छ ।
सन् २०१९ को मार्चयता होटल तथा पर्यटन व्यवसाय एकदमै नराम्रो अवस्थामा रहेको छ । करिब दुई वर्षपछि पर्यटन व्यवसाय लयमा फिर्ता हुने क्रममा रहेको छ । सन् २०२२ को पाँच महिनामा २ लाख पर्यटक नेपाल भिœयाएका छन् । यसले पछिल्लो समय पर्यटनको आगमनदर गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल कसरी सञ्चालनमा आउने हो भन्नेबारेमा अबको पर्यटन आगमनदरमा फरक पर्छ भन्ने मलाई लाग्छ । सरकारले यसका लागि कनेक्टिभिटी बढाउनुपर्छ । पर्यटक आगमनदर वृद्धि भएपछि मात्र रोजगारी वृद्धि हुन्छ, लगानी थप हुन्छ । अर्थतन्त्रमा सुधार आउँछ ।
भारतीय प्रधानमन्त्री मोदीको लुम्बिनी भ्रमणले लुम्बिनीको पर्यटक विकासमा कस्तो भूमिका खेल्छ ?
भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणले भारतीय पर्यटक आगमनमा वृद्धि हुन्छ । जन्मभूमिका ढेड लाख पर्यटन आगमनदर रहेको छ तर भारतको बोधगयामा बुद्धिस्ट धर्मावलम्बी २० लाख पर्यटक आगमनदर रहेको छ । यसले के स्पट पारेको छ भने सरकारको नीतिले पर्यटन आगमनदरमा फरक पार्ने गरेको छ । सरकारले सबै सरोकारवाला निकायसँग छलफल गरेर पर्यटन आगमनदर वृद्धि हुने नीति ल्याउनका लागि सहजीकरण गर्नुपर्छ । गौतम बुद्ध विमानस्थल पूर्ण रूपमा सञ्चालनमा आएपछि भैरहवा तथा लुम्बिनीको पर्यटक विकास हुनेछ । यसका लागि सरकारले यहाँको विकासका लागि नयाँ नीति ल्याउनु आवश्यक रहेको छ ।
अन्त्यमा केही भन्नु छ कि ?
भारतीय प्रधानमन्त्री मोदीको बुद्धजन्मस्थल लुम्बिनी भ्रमणले धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवद्र्धन हुने नै छ । पर्यटन व्यवसायीहरू मोदीको भ्रमणपछि निकै उत्साहित भएका छौं । साथै गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि धार्मिक पर्यटनको आगमन वृद्धिका लागि सरकारले विभिन्न देशमा उडान भर्नुपर्छ । लुम्बिनीलाई पनि भारतका अन्य बौद्ध सम्पदाहरूसँग जोड्न सकेको खण्डमा धार्मिक पर्यटकमा वृद्धि हुनेछ । एकीकृत प्याकेज बनाई नेपाल र भारतको बौद्ध क्षेत्र तथा सम्पदाहरूको एकीकृत विकास, प्रवद्र्धन, प्रचारप्रसार गर्नुपर्छ ।
मोदीको लुम्बिनी भ्रमणको सकारात्मक प्रचारले भारतीयलाई नेपाल भ्रमण गर्न अभिप्रेरित गर्नेछ । धार्मिक पर्यटनको अधिक सम्भावना रहेको छ । पशुपतिनाथ, जनकपुरधाम, मुक्तिनाथ, भारतीयहरूको महŒवपूर्ण धार्मिक गन्तव्य हो ।
कोरोनाले थलिएका हामी पर्यटन व्यवसायीहरू अब भने केही आशावादी भएका छौं । हामीले यसलाई क्यास गर्न सक्नुपर्छ । मोदीको भ्रमणले र विमानस्थल सञ्चालनले लुम्बिनीमात्र नभई नेपालभरका पर्यटन क्षेत्रमा पर्यटकको आगमनदरमा वृद्धि हुनेछ ।