अलैंची खेतीमा किसान आकर्षित «

अलैंची खेतीमा किसान आकर्षित

मूल्यमा गिरावट आएको भन्दै पूर्वी नेपालका अलैंची कृषकले गुनासो गरिरहेका बेला चैनपुर नगरपालिका–२ मैयुमका सन्जय शेर्पा भने अलैंची खेती विस्तार गर्न व्यस्त छन् । ४ वर्षअघि परिक्षणका लागि धान खेती घटाएर अलैंची खेती गर्न थालेका उनले तीन वर्षभित्रै ७ मन अलैंची फलाए । प्रतिमन ४० हजारका दरले २ लाख ८० हजार आम्दानी भएपछि हौसिएका उनले यसपाली थप एक सय रोपनीमा अलैंची खेती गरेका छन् ।
हिमाली हिल एग्रिकल्चर फर्म प्रालि दर्ता गरेर अलैंची खेती सुरु गरेको ३ बर्ष नबित्दै उनलाई श्रम तथा रोजगार मन्त्रालयले सफल उद्यमी राष्ट्रिय पुरस्कारबाट सम्मानसमेत गरिसकेको छ ।
रोजगारीका सिलसिलामा विदेशमा रहँदा आर्जन गरेको ज्ञान, सीप, अनुभव र पुँजीलाई स्वदेशमा उपयोग गर्दै उद्यमशीलताको विकास, उत्पादकत्वमा वृद्धि तथा आन्तरिक रोजगारीको अवसर सिर्जनामा योगदान पु¥याएको भन्दै तत्कालीन मन्त्री फरमुल्लाह मन्सुरले ५० हजार रुपैयाँ राशिको पुरस्कार तथा सम्मानपत्रसमेत प्रदान गरेपछि अलैंची खेतीप्रतिको मोह थप बढेर गएको उनले बताए । शेर्पाले २०० रोपनी खाली जग्गामध्ये १५० रोपनीमा अलैंची खेती सुरु गरिसकेका छन् । “१५० रोपनी जग्गामा ५० हजार बिरुवा रोपिसकेको छु,” शेर्पाले भने । अलैंची विकास केन्द्र इलामबाट प्रतिविरुवा १२ रुपैयाँका दरले ५० हजार विरुवा लगाएका उनले स्थानीय मुहानबाट नै हालसम्म सिँचाइको व्यवस्था गरेका छन् ।
शेर्पा जस्तै वर्षौंदेखि धान खेती गर्दै आएका अर्का किसान हुन् संखुवासभा पाँचखपन नगरपालिका–१ का बलबहादुर राई । उनले ६ वर्षदेखि अलैंची खेती गर्दै आएका छन् । राईले २० मुरी धान उत्पादन हुने खेतमा चार वर्षअघि अलैंचीका बिरुवा लगाएका थिए । हाल उनको २० मुरी धान उत्पादन हुने जग्गामा १५ मन अलैंची उत्पादन हुन्छ । “अहिलेको बजार मूल्यअनुसार नै १५ मन अलैंचीको ६ लाख पर्छ,” उनले भने, “धानको खेती गर्दा अनावश्यक दुःख र झन्झट हुनुका साथै परिवार धान्न नै धौ–धौ हुन्थ्यो ।” अहिले त्यही अलैंचीको आम्दानीले परिवारको आर्थिक स्थितिमा सुधार आएको उनले बताए । अलैंचीमा प्रकोप नदेखिए वार्षिक ५० लाख रुपैयाँ आम्दानी हुने अनुमान उनको छ ।
कृषि विकास कार्यालयको तथ्यांकअनुसार जिल्लाका ३ हजार २ सय ५९ हेक्टरमा अलैंचीको खेती हुने गरेको छ । तर, केही वर्षदेखि अलैंची खेतीमा कृषकको आकर्षण बढेसँगै यो तथ्यांक अझै बढ्न सक्ने जिल्ला कृषि प्रसार अधिकृत रामबहादुर ठाकुरले बताए ।

कृष्णराज शाक्य

प्रतिक्रिया दिनुहोस्