वर्षाले कतै खुसी कतै दुःख «

वर्षाले कतै खुसी कतै दुःख

यतिबेला मानो रोपेर मुरी उब्जाउने समय हो । किसानहरू यतिबेला खेती कर्ममा व्यस्त बनेका छन् । मनसुनअगावै अत्यधिक वर्षा हुँदा किसानलाई कतै धानबाली लगाउने चटारो छ भने कतै धानको ब्याड राख्ने समय भएको छ । वर्षा अगाडि धकेलिँदा रोपाइँको चटारो पर्दै गएको हो । प्रकृतिको भर पर्नुपर्दा मनसुन समयअगावै हुँदा पनि किसानलाई फाइदा नै भएको देखिन्छ । गत सालको धान भिœयाउने समयमा बेमौसमी वर्षाले तराईको विभिन्न जिल्लाका कृषिक्षेत्रमा निकै असर पु¥याएको थियो । विशेष गरी तराईका कृषकका धानबालीमा क्षति पु¥याएको थियो । तराईका रौतहट, विराटनगर तथा कपिलवस्तुमा ठूलो मात्रामा काटेर राखेको धान र काट्न ठिक्क पारेको धानबाली वर्षामा डुब्दा कृषक निकै चिन्तित भएका थिए । गत सालको बेमौसमी वर्षाले ८ हजार हेक्टरभन्दा बढी धानबालीमा क्षति पु¥याएको थियो । यो हाम्रो मुलुकको विडम्बना हो । आकाशे पानीमा बढी निर्भर रहनुपर्ने हुँदा कहिले त्यही वर्षाले सहजता ल्याउँछ भने कहिले विकराल अवस्थाको सामना गर्नुपरिरहेको छ ।
नेपालमा विभिन्न समयमा आइरहने प्राकृतिक विपत्तिले तर्सारहन्छ । त्यस्ता विपत्तिले आममानिसको रातमा निद त दिनको चैन नै हराएर जान्छ । वर्षाको समयमा पहाडमा जाने बाढीपहिरोको प्रकोप, त्यस्तै तराई भेगमा हुने डुबानले मानवीय क्षति बर्सेनि हुँदै आइरहेको छ । क्षति न्यूनीकरणका निमित्त सरकारका तर्फबाट पूर्वतयारीका कार्यक्रम खासै प्रभावकारी रूपमा लागू गर्न भने सकेको छैन । जब विपत्ति आइपर्छ तब सरकार र सरकारका प्रतिनिधि प्रभावितलाई राहतले नै टार्न मात्र खोजिरहेको लख काट्न आममानिसलाई गाह्रो पर्दैन । विपद् जोखिमको न्यूनीकरणका निमित्त पूर्वतयारीमा ध्यान नदिँदा हरेक विपत्तिमा अनाहक जनधनको क्षति बेहोर्नुपरेको छ । त्यसै कारण यो वर्षाले पनि निकै स्थानमा क्षति पु¥याएको छ । हरेक दिनजसो परिरहने पानी आवश्यकताभन्दा बढी भएको मौसमविद्हरूले बताएका छन् ।
निरन्तरको वर्षाले पहाडी भेगमा बाढीपहिरोले नगन्य क्षति पु¥याइरहेको अवस्था छ । अझ यो वर्षाले सडकमा ठूलो मात्रामा क्षति पु¥याएको छ । कतै राजमार्ग अवरुद्ध भएका थिए, कतै क्षति भएका थिए भने पहिरोकै कारण ज्यान गुमाउनुसमेत परेको थियो । वर्षासँगै खसेको पहिरोले अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडकखण्ड पुनःसञ्चालन आउन झन्डै दुई दिन लागेको थियो । गएको शुक्रबार राति चितवनको इच्छाकामना गाउँपालिकास्थित सडकमा माथिबाट पहिरो खसी बाटो दुईतर्फी अवरुद्ध बनेको थियो । प्रहरी प्रशासनको सहयोगमा सडक त खुल्यो तर यात्रुले अनाहकमा दुःख भोग्नुप¥यो ।
मनसुनको सिजनअगावै अत्यधिक वर्षा हुँदा हाम्रो संयन्त्र भने विपद्को पूर्वतयारीमा चासो नदेखाएको झैं लाग्छ । हामी बारम्बार पूर्वतयारीमा चुकिरहँदा निकै ठूलो क्षतिको सामना बेहोर्नुको विकल्प हुँदैन । पहिरो जाने सम्भावित क्षेत्रमा वृक्षारोपण कार्य, सडक भासिने स्थानमा ग्याबिन वाल लगाएर पहिरोलाई रोकथाम गर्न सक्छौं । तर, हामीको वर्षाको मौसमअगावै पूर्वयोजनाअनुरुप कार्य गर्ने बानी नहुँदा जब विपत् आइलाग्छ तब समाधान खोज्नु दीर्घकालीन समाधानको उपाय हुन सक्दैन ।

प्रतिक्रिया दिनुहोस्