बिहुँलाई ‘सुन्तला गाउँ’ घोषणा गर्ने तयारी

सुन्तलाको पकेट क्षेत्रका रूपमा रहेको बाग्लुङको काठेखोला गाउँपालिका–६ बिहुँलाई ‘सुन्तला गाउँ’ घोषणा गर्ने तयारी भएको छ । बिहुँका किम्बोट, धरमदास, चिरपानीलगायतका ठाउँलाई समेटेर सुन्तला गाउँ घोषणा गर्न लागिएको हो ।
जिल्ला कृषि विकास कार्यालय, काँठेखोला गाउँपालिका, वडा कार्यालय तथा स्थानीय कृषक समूहको पहलमा सुन्तला गाउँ घोषणा गरिने भएको हो । जिल्लाको मुख्य नगदेबालीका रूपमा रहेको सुन्तला खेतीको प्रवद्र्धन गर्न सुन्तला गाउँ घोषणाको अवधारणा ल्याइएको वरिष्ठ कृषि विकास अधिकृत दिनेश आचार्यले बताए । आवश्यक सम्पूर्ण तयारी पूरा गरिसकेपछि चालू आर्थिक वर्षभित्रै सुन्तला गाउँ घोषणा गरिनेछ । बिहुँमा मात्रै यो वर्ष २ हजार ९ सय टन सुन्तला उत्पादन भएको कृषि कार्यालयले जनाएको छ । जसबाट बिहुँमा मात्रै करिब पाँच करोड रुपैयाँ भित्रिएको स्थानीय अगुवा कृषक बालानन्द कँडेलले बताए । सबैभन्दा बढी सुन्तला बगैंचा भएको किम्बोटलाई केन्द्र मानेर सुन्तला गाउँ घोषणा गरिने कार्यालयले जनाएको छ ।
बिहुँमा अहिले १२ हजारभन्दा बढी फल दिने सुन्तलाका बिरुवा छन् । करिब तीन हजार बिरुवा हुर्किरहेको कृषकहरू बताउँछन् । गाउँपालिकाको सम्मृद्धि र विकासका लागि गाउँ र भूगोललाई उत्पादनसँग जोड्नुपर्ने काठेखोला गाउँपालिकाका अध्यक्ष अमर थापाले बताए । “बिहुँ सुन्तला उत्पादनका लागि महत्वपूर्ण क्षेत्र हो,” अध्यक्ष थापाले भने, “उत्पादनमुखी काममा गाउँपालिका हरेक वडासँग साझेदारी गरेर अगाडि बढ्नेछ ।”
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत दुईवटा ब्लक क्षेत्रसमेत काठेखोला गाउँपालिका–६ मा परेको छ । बिहुँलाई सुन्तला उत्पादनको पकेट क्षेत्र बनाउन स्थानीय कृषक टंकप्रसाद कँडेलको संयोजकत्वमा १६ सदस्यीय सुन्तला व्यवस्थापन र कार्यान्वयन समितिसमेत गठन गरिएको छ ।
सुन्तला खेतीबाट नसोचेको आम्दानी हुन थालेपछि परम्परागत खेती छोडर कृषकहरू अहिले सुन्तला खेतीमा लागेका छन् । एउटै कृषकको बगैंचामा ३ सय ५० भन्दा बढी सुन्तलाका बोट छन् । “मेरो बगैंचामा ३ सय ५० सुन्तलाका बोट छन्, नयाँ पनि लगाइरहेको छु,” अगुवा कृषक कँडेलले भने, “यो वर्ष सुन्तलाबाट मैले साढे तीन लाख जति कमाएँ ।”
यहाँका कृषकले उत्पादित सुन्तला एकमुष्ट ठेक्कामा बेच्न थालेका छन् । काठमाडौं, भैरहवा, चितवन, विराटनगर, पोखरालगायतका क्षेत्रबाट व्यापारीहरू सुन्तला खरिदका लागि आउने गरेको कृषक अगन्धर कँडेलले बताए । सुन्तला बगैंचा विस्तार गर्न कृषकहरूले यो वर्ष थप १७ सय बिरुवा कृषि विकास कार्यालयसँग माग गरेका छन् । बिहुँमा हालसम्म पाँचसय २० जना कृषकले व्यावसायिक रूपमा सुन्तला खेती गर्ने गरेको पाइएको छ ।
राम्रो आम्दानी पनि हुने र बजारको पनि समस्या नपर्ने भएपछि कृषकको सुन्तला खेतीमा आकर्षण बढेको अगुवा कृषक बालानन्द कँडेलले बताए । “एउटै बोटमा १ सय ५० केजीसम्म सुन्तला फलेको हामीले पाएका छौं,” कँडेलले भने । सुन्तला किलोको ५० देखि १ सय रुपैयाँसम्ममा बिक्री हुने गरेको छ । सुन्तला व्यवसाय प्रवद्र्धन गर्न कृषि विकास कार्यालयको सहयोगमा कृषकहरूले सुरक्षित भण्डारण केन्द्र पनि खोलेका छन् ।
जिल्ला कृषि विकास कार्यालयले बिरुवा, औषधिलगायतका प्राविधिक सहयोग र सामग्री प्रदान गर्दै आएको छ । बेलाबेलामा कृषकलाई क्षमता अभिवृद्धिसम्बन्धी तालिम पनि दिइने गरेको अधिकृत आचार्यले बताए ।
त्रिलोचन रिजाल