नेप्से १८ महिनायताकै न्यून बिन्दुमा «

नेप्से १८ महिनायताकै न्यून बिन्दुमा

बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य तरलताको अभाव तथा ब्याजदरमा बढोत्तरीका कारण सेयर बजार गत १८ महिनायताकै कम बिन्दुमा झरेको छ । पछिल्लो दुई साताभन्दा बढी निरन्तर रुपमा गिरावट आएको नेप्से परिसूचक मंगलबार डेढ वर्षपछि २००० बिन्दुभन्दा तल झरेको हो ।
२०७७ पुस पहिलो सातासम्म १९९८.६५ बिन्दुमा कारोबार भएको थियो । त्यसपश्चात् गत असारदेखि फराकिलो अंकले नेप्से सूचक र कारोबार रकमसमेत बढ्दै गएको थियो । गत साउन अन्तिमसम्म बजार बढेर ३२ सय अंकमाथि पुगेको थियो । तर चालू आर्थिक वर्ष लागेसँगै निरन्तर रुपमा गिरावट हँुदै आएको नेप्से मंगलवार ३६.०८ अंक घटेर १९९६.२५ बिन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ६.४८ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.२९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.८ अंकले घटेको छ ।
मंगलबार कारोबारमा आएका २३२ कम्पनीको ४१ लाख ४७ हजार कित्ता सेयर १ अर्ब १८ करोड ५५ लाख ४६ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । नेप्से ओरालो लागे पनि मंगलबार कारोबार रकम भने सामान्य बढेको छ । अघिल्लो कारोबार दिन १ अर्बभन्दा कमको कारोबार भएको थियो । कारोबारमा आएका कम्पनीमध्ये १९० कम्पनीको सेयर मूल्य घटेको छ भने पाँच कम्पनीको सेयर मूल्य बढेको छ ।
मंगलबार नेप्सेका १३ वटै उपसमूहको परिसूचकमा गिरावट आएको छ । जसमध्ये अन्य र व्यापार उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी घटेको छ । त्यस्तै विकास बैंक, वित्त, जलविद्युत र निर्जीवन बिमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढीले घटेको छ भने होटल तथा पर्यटन, लगानी, जीवन बिमा र लघुवित्तको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ ।
नेप्सेमा कारोबारमा आएको आँधीखोला लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य सबैभन्दा धेरै ८.१८ प्रतिशत बढेको छ । त्यस्तै, माउण्टेन हाइड्रोको करिव ४ प्रतिशत बढेको छ । तर यता हिमालयन पावर पार्टनर कम्पनीको सेयर मूल्य नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । बलेफी हाइड्रोपावरको मूल्य ८.१५ प्रतिशत घटेको छ । त्यस्तै, सगरमाथा इन्स्योरेन्स र गणपति लघुवित्तको सेयर मूल्य ६ प्रतिशतभन्दा बढीले गिरावट आएको छ ।
कारोबार रकमका आधारमा ४ करोड ६७ लाख रुपैयाँ बराबरको सेयर कारोबार गरेर शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ । नेपाल क्रेडिट एण्ड कमर्स, नेपाल लाइफ र नबिल बैंकको ३ करोडभन्दा बढीको सेयर खरिदबिक्री भएको छ ।

प्रतिक्रिया दिनुहोस्