बजेट अभावले रंगशाला निर्माण अलपत्र «

बजेट अभावले रंगशाला निर्माण अलपत्र

म्याग्दी-म्याग्दीको सदरमुकाम बेनीस्थित खुल्लामञ्चमा लामो समयदेखि युवाहरूले खेलकुद अभ्यास गर्न पाएका छैनन् । खुल्लामञ्चलाई स्तरोन्नति गरी मिनी रंगशाला बनाउने काम सुरु भएको वर्षौं बिते पनि बजेट अभावले अलपत्र परेको हो ।
खुल्लामञ्चमा खेल अभ्यास गर्ने खेलाडीहरू राष्ट्रिय अन्तर्राष्ट्रियस्तरसम्म पुगिसके पनि केही वर्षयता बेनीका युवाले फुटबललगायतको खेलकुद अभ्यास राम्रोसँंग गर्न पाएका छैनन् ।
मञ्चको पूर्वाधार योजना अलपत्र बनेको र निर्माण सामग्री अव्यवस्थित रूपमा राखिएका कारण विभिन्न समयमै आएका खेलकुद प्रतियोगितासमेत प्रभावित बनेका छन् । मिनी स्टेडियम बनाउने डीपीआरअनुसार बजेट अभावले खुल्लामञ्चमा पूर्वाधार निर्माणमा ढिलाइ, सवारीसाधन पार्किङ र बजारको सडक कालोपत्रे गर्ने सामान ढुंगा, गिटी र बालुवा खुल्लामञ्चमा राख्नेलगायतका गतिविधिले क्लबमा आबद्ध युवाले खेलकुद अभ्यासमा कठिनाइभएको एभग्रीन युवाक्लबका अध्यक्ष निरज राम्जालीले बताए । “खुल्लामञ्चमा पछिल्लो समय खेलकुद अभ्यास गर्न ग्राहो छ, ढुंगा, बालुवा र सडक कालोपत्रे गर्ने अलकत्रा खुल्लामञ्चमा राख्दा अभ्यास गर्ने मैदानको स्वरुप बिग्रिएको छ भने खेलकुद अभ्यासमा युवाहरू घाइते हुने अवस्था सिर्जना भएको छ,” अध्यक्ष राम्जालीले भने, “खुल्लामञ्चको पूर्वाधार निर्माणमा ढिलाइ गर्दा एभग्रीन, बौद्ध युवाक्लब, कालीपुल युनाइटेड र दोभान युवाक्लबले आयोजना गर्ने प्रतियोगिता हुनसकेको छ्रैन ।”
खुल्लामञ्चलाई मिनी रंगशाला बनाउने योजनासहित अघि बढे पनि बजेटको निरन्तरता नहँुदा पूर्वाधार निर्माण अलपत्र परेको छ । खुल्लामञ्च जिल्लाकै सबैभन्दा ठूलो खेलमैदान मात्र नभएर ब्यापारिक मेला महोत्सव, सांस्कृतिक कार्यक्रम र राजनीतिक सभा हुने स्थल पनि हो । तर, पछिल्लो समय क्लब, विभिन्न संघसंस्था, विद्यालयले आयोजना हुने खेलकुद प्रतियोगिता र मेलामहोत्सव रोकिएको छ । बजेटमा निरन्तरता नहुँदा निर्माणाधीन प्यारापिट अलपत्र छ । विभिन्न खेलकुद प्रतियोगितामा जनप्रतिनिधिले मिनी स्टेडियम बनाउने योजना भाषणमा मात्र सीमित छ । संघ, प्रदेश र स्थानीय तहले खुल्लामञ्चको पूर्वाधार निर्माणमा प्राथमिकता नदिएको युवाक्लबको गुनासो छ ।
अलपत्र अवस्थामा रहेको खुल्लामञ्चलाई पूर्णता दिने गरी बजेटका लागि नगरमा छलफल अघि बढाउने वडानम्बर ७ का वडाध्यक्ष रमेशकुमार श्रेष्ठले बताए । “तत्काल खुल्लामञ्चको सरसफाइ र सवारीसाधन लगायतको सामग्री खेलमैदान प्रवेश रोक्न गेट राख्ने काम वडाले अघि बढाएको छ,” श्रेष्ठले भने । म्याग्दी नदीको किनारतर्फ अग्लो पर्खाल निर्माण सम्पन्न भएको छ । प्यारापिट निर्माण आधार भागले पूर्णता पाएको छ भने आधा भागको प्यारापिट निर्माणमा बजेट अभावले रोकिएको छ । कालिगण्डकी किनारतर्फ खुल्लामञ्चलाई फराकिलो बनाउने किसिमले प्यारापिट निर्माण गर्न पिल्लर राख्ने काममात्र भएको छ ।
जिल्लामा फराकिलो, प्याराफिटसहितको गुणस्तर रंगशाला बनाउने योजनासहित जिल्ला खेलकुद विकास समितिले २०७४ सालमा डीपीआरसहित नौ करोडको लागतअनुमान सार्वजनिक गरेको थियो । जनप्रतिनिधि राजनीतिक रुपमा बोलेको बाचापूरा नगर्दा जिल्लामा ठूला आयोजनामध्ये खुल्लामञ्च पनि अलपत्र छ ।
हालसम्म तीन करोडभन्दा बढी लगानी भएको खुल्लामञ्चलाई ब्यवस्थित बनाउन नौ करोडभन्दा बढी बजेट आवश्यक छ । कोरोना पश्चात आर्थिक वर्ष २०७७/०७८ मा बजेट विनियोजन भएन । आव २०७८/०७९ मा पनि जनपप्रतिनिधिले विगतमा दिएको आश्वासनअनुसार बजेट विनियोजन नहुँदा खुल्लामञ्चको स्वरुप फेर्दै रंगशाला बनाउने योजना अधुरै छ ।
खुल्लामञ्चको पूर्वाधारलाई पूर्णता दिने बजेट नगरपालिकासँंग नभएको मेयर सुरत केसीले बताए । उनले नगरले प्राथमिकता राखे पनि १५/२० लाखभन्दा बढी बजेट विनियोजन गर्न नसकिने अवस्था छ । “खुल्लामञ्चको पूर्वाधार पूर्णतादिन गण्डकी प्रदेशको खेलकुद मन्त्रालयसँंग बजेटका लागि कुरा अघि बढाएका छौ, तर कति बजेट पर्छ भन्ने अन्योल छ”, उनले भने, “नगरपालिकामा आन्तरिक आय कम हुँदा र अनुदानको रकम निश्चित मापदण्डमा रहरे विनियोजन गनुपर्छ, रंगशालाको पूर्वाधार निर्माणका लागि आवश्यक बजेटको विकल्प खोजिरहेका छौं ।”

प्रतिक्रिया दिनुहोस्