विरोध गर्दै सरकारमै टाँसिँदै गण्डकी प्रदेशका ऊर्जामन्त्री «

विरोध गर्दै सरकारमै टाँसिँदै गण्डकी प्रदेशका ऊर्जामन्त्री

पोखरा- गण्डकी प्रदेश सरकारका उर्जा, जलस्रोत तथा खानेपानी मन्त्री हरिशरण आचार्यले सरकारकै विरोध गर्दै आफ्नो मन्त्रालयलाई पर्याप्त बजेट नदिएको गुनासो गरेका छन् । सोमबार पोखरामा पत्रकार सम्मेलन आयोजना गर्दै उनले सरकारको भद्र अवज्ञा गर्दै सरकारमा बसेर पनि सरकारकै विरोध गर्नुपर्नेको प्रष्ट्याउँदै आफ्नो मन्त्रालयलाई पर्याप्त बजेट नदिएकाले त्यसको विरोध गरेको जनाएका हुन् ।
प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम पास गर्न सोमबार सदनमा उपस्थित हुँदै उनले सरकारमा रहेको हुनाले भद्र अवज्ञा गर्दै सरकारमा सहभागी भएको जनाए । उनले भने, “मुख्यमन्त्रीको निर्देशनमा अर्थमन्त्रीले हामीलाई गत वर्षको तुलनामा यस वर्ष करिब ५० प्रतिशत कम बजेटको सिलिङ दिनुभयो, तर आगामी वर्षमा करिब ३६ अर्बको बजेट आउने कुरा छ, यो हामीलाई कसरी मान्य हुनसक्छ त्यसैले मैले सरकारको विरोध गर्नुपरेको हो ।” आगामी वर्षमा एक हजार ८ सय ६० वटा योजना माग भई आउँदा कम्तीमा प्रतियोजनामा २० लाखका दरले विनियोजन गर्दा पनि तीन अर्ब ७२ करोड आवश्यक पर्ने मन्त्री आचार्यको माग थियो । दुई अर्ब २६ करोड ८५ लाखको बजेट जनताबाट माग भई आएका प्रस्ताव पूरा गर्न कठिन हुने उनको भनाइ थियो । मन्त्री आचार्यका अनुसार उक्त बजेट जुन चालू आर्थिक वर्षभन्दा एक अर्ब ५२ करोड ५२ लाखले कम छ । चालू आर्थिक वर्षभन्दा ६१ वटा कम भएको उनको दाबी थियो ।
बजेट सिलिङ कम भयो भन्दै सरकारको विरोध गरेका मन्त्री आचार्यले पत्रकार सम्मलेनमार्फत नै गोपनीयता भंग गर्दै बजेट सिलिङ सार्वजनिक गरेका हुन । उनले सार्वजनिक गरेको बजेट सिलिङमा चालू आर्थिक वर्षमा गण्डकी सरकारको बजेट ३० अर्ब रहेको र आगामी आर्थिक वर्षमा ३६ अर्ब पुग्ने उल्लेख गरे । मन्त्री आचार्यले बढेर बजेट आएता पनि मन्त्रालयलाई भने सिलिङ कम गरिएको भन्दै असन्तुष्टि जनाए ।

प्रतिक्रिया दिनुहोस्