एसियन गेम्सका लागि महिला भलिबलको प्रशिक्षण सुरु «

एसियन गेम्सका लागि महिला भलिबलको प्रशिक्षण सुरु

चीनको हाङझाउमा आयोजना हुने १९ औं एसियाली खेलकुदका लागि भलिबल संघले पहिलो चरण प्रशिक्षण सुरु गरिसकेको छ । भलिबल संघले प्रारम्भिक ३५ महिला खेलाडीको छनोट गरेपनि राष्ट्रिय खेलकुद परिषदले २५ खेलाडीलाई समेट्दै अभ्यास गराइरहेको हो ।
कोरोना भाइरसका कारण अनिश्चित कालका लागि स्थगित भएपनि नेपालले सहभागिता जनाउने २३ खेल अन्तर्गत महिला भलिबलको अभ्यास थालेको हो । नेपाली महिला टोलीले एसियन गेम्समा सहभागिता जनाउन लागेको पहिलो पटक हो । यस्तै अन्य खेलको प्रशिक्षणमा सुरु भइसकेका छन् ।
महिला भलिबल प्रशिक्षणका लागि राखेपले आफ्ना मातहतका प्रशिक्षकलाई प्रशिक्षण थाल्न निर्देशन दिएसँगै अभ्यास शुरु भएको हो । एसियन गेम्सका लागि राखेपले २५ खेलाडीलाई नियमित प्रशिक्षणमा बोलाएको हो । २५ खेलाडीमध्ये यति बेला १७ महिला खेलाडीले प्रशिक्षण सुरु गरेका छन् । अन्य केही खेलाडी परीक्षा र चोटका कारण उपस्थित छैनन् ।
राखेपले यसअघि गरेको उच्च प्रदर्शनलाई आधार मान्दै एसियन गेम्सका लागि महिला भलिबललाई पनि एसियन गेम्समा प्रतिस्पर्धाका लागि पठाउने निर्णय गरेको थियो । महासचिव चन्दको संयोजकत्वमा हिमाल दाहाल (उपनिर्देशक), तालिम तथा प्रशिक्षण विभाग प्रज्वलबहादुर सिंह (मुख्य प्रशिक्षक), जगदिश भट्ट (प्रशिक्षक) र भरत यादव (प्रशिक्षक) सहितको छनोट समितिले पहिलो चरणका लागि महिला खेलाडीलाई राखेपको कभर्डहलमा प्रशिक्षण गराइरहेका छन् ।
प्रशिक्षण एक साताबाट चलिरहेको छ । शुरुवातमा नेपाली महिला टोलीको फिटनेस सुधारका लागि प्रशिक्षक जगदिश भट्टले गृहकार्य गरिरहेका छन् । राखेपले गठन गरेको हाइ पर्फमेन्स कमिटीले एशियन गेम्सका लागि घोषणा भएका खेललाई प्रशिक्षण गर्न सिफारिस गरेको थियो । कमिटिको सिफारिस अनुसार राखेपले खेलाडीलाई प्रशिक्षणमा राखेको हो ।
नेपालले एसियन गेम्समा तेक्वान्दो, कराँते, बक्सिङ, एथलेटिक्स, साईक्लिङ, महिला फुटबल, गल्फ, कुस्ती, भारत्तोलन, जुडो, पौडी, ट्रायथलन, उसु, आर्चरी, बास्केटबल, महिला कबड्डी, फेन्सिङ, महिला ह्यान्डबल, महिला भलिबल, पुरुष भलिबल, पुरुष क्रिकेट, सुटिङ, ब्याडमिन्टन र टेबल टेनिसमा सहभागीता जनाउनेछ ।

प्रतिक्रिया दिनुहोस्