शर्माविरुद्ध विशेष अदालतमा अख्तियारको मुद्दा

आन्तरिक राजस्व विभागका तत्कालिन महानिर्देशक चुडामणि शर्माविरुद्ध सोमबार विशेष अदालतमा मुद्दा दायर भएको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले शर्माको करिव साढे ४ करोड सम्पत्ति अवैध रहेको दाबी गर्दै रिट दायर गरेको हो ।अख्तियारले दायर गरेको आरोपपत्रमा शर्मासँग रहेको ७ करोड ९३ लाख २७ हजार ८५ खर्च गरेको देखिँदा वैध आय ३ करोड ६३ लाख ७२ हजार ९ सय ६१ मात्र रहेको जिकिर गरिएको छ । ४ करोड २९ लाख ५४ हजार १ सय २४ रूपैयाँ बराबरको सम्पत्तिको स्रोत नखुलेको दाबी गरिएको छ । शर्माको सम्पत्ति विवरण अमिल्दो र अस्वभाविक देखिन आएकाले भ्रष्टाचार भएको भन्दै स्रोत नखुलेको सम्पत्ति जफत गर्न र सोही बराबरको विगो भराउन माग गरिएको छ । साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) बमोजिम शर्माले कसुर गरेको अख्तियारको आरापे छ । सो आरोप पुष्टि भएमा अदालतले स्रोत नखुलेको सम्पत्ति जफत गरे सोही बराबरको विगो भराउन सक्ने व्यवस्था छ ।
शर्माले सो सम्पत्ति आफ्नो र श्रीमती तथा छोराहरूको नाममा विभिन्न बैंक तथा वित्तीय संस्थाहरूमा राखेकोे, विभिन्न वित्तीय संस्थाहरू तथा प्रा.लि. एवं कम्पनीहरूका सेयर खरिद तथा लगानी गरेको, सवारीसाधन खरिद एवं घर निर्माण तथा जग्गा लगायतका चल–अचल सम्पत्तिहरू खरिद गरेको देखिन आएको आरोपपत्रमा उल्लेख छ । सार्वजनिक सेवामा प्रवेश गरे पश्चात ०७३ मंसिर मसान्तसम्म शर्माले आफ्नो तथा परिवारका सदस्यहरूको नाममा खरिद एवं लगानी गरेको ३ करोड ६३ लाख ७२ हजार ९ सय ६१ रुपैयाँ भने आय आर्जन गरेको अख्तियारको अनुसन्धानले देखाएको छ । यस्तै, शर्माले स्रोत नखुलेको सम्पत्ति श्रीमती कल्पना उप्रेती शर्माको नाममा लुकाएको भन्दै उनलाई समेत मुद्दामा प्रतिवादी बनाइएको छ ।
शर्माविरुद्ध यसअघि गत साउनमा पनि अख्तियरले १० अर्ब २ करोड १९ लाख १ हजार ८ सय २४ रुपैयाँ भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर गरेको थियो । शर्माविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दयर गरेको योे दोस्रोपटक हो ।
तत्कालीन कर फछ्र्योट आयोगका सदस्य सचिवसमेत रहेका शर्मा यसअघि भ्रष्टाचार मुद्दामा पक्राउ गरेपछि गत मंसिरमा १ करोड धरौटी बुझाएर रिहा भएका थिए । उनी राजस्व विभागको महानिर्देशक रहँदै अनियमितताको प्रमाण नष्ट गर्न सक्ने भन्दै अख्तियारले पक्राउ गरेको थियो । सहसचिव शर्मा हाल निलम्बित अवस्थामा छन् ।
जगन्नाथ दुलाल