अमेरिका–चीन द्वन्द्वले विश्वव्यापी सैन्य खर्च ३ दसककै उच्च «

अमेरिका–चीन द्वन्द्वले विश्वव्यापी सैन्य खर्च ३ दसककै उच्च

गत वर्ष विश्वले सेनामा १८ खर्ब अमेरिकी डलर खर्च गरेका छन् । यसमा सर्वाधिक खर्च अमेरिकाले गरेको छ । मस्कोले आफ्नो सैन्य खर्चमा कम गरेपनि रुसी डरका कारण केही नेटो मुलुकहरुले पनि आफ्नो सैन्य खर्च बढाएका छन् ।
गत वर्ष युद्ध उद्योगका लागि व्यापक सफल मानिएको स्टकहोम इन्टरनेशनल पिस इन्सटिच्यूट (सिप्री)को तथ्यांकले देखाएको छ । सोमबार सार्वजनिक गरिएको नयाँ प्रतिवेदन अनुसार विश्वव्यापी सैन्य खर्चमा २.६ प्रतिशतले वृद्धि भएर १९८८ देखिकै उच्चमा पुगेको छ । उक्त वर्षदेखि अनुसन्धानकर्मीहरुले यो विषयमा तथ्यांक राख्न सुरु गरेका थिए ।
गत वर्ष अमेरिकी सैन्य खर्च ६४९ अर्ब डलर पुगेको थियो । यो विश्वको कुलको ३६ प्रतिशत हो । अमेरिकाले चीनको तुलनामा २०० प्रतिशत बढी खर्च गरेको छ । यो मुलुकले सर्वाधिक खर्च गर्ने अन्य ८ मुलुकको संयुक्त भन्दा बढी खर्च गरेको छ ।
अमेरिका र चीनबीचको प्रतिद्वन्द्वीताका कारण सैन्य खर्चमा वृद्धि भएको हो । यसैगरी एसियामा आफ्नो प्रभुत्व जमाउनका लागि भारतले पनि आफ्नो सैन्य खर्चमा ३.१ प्रतिशतले बढाएको छ भने पाकिस्तानले ११ प्रतिशतले बढाएको छ ।
“यो क्षेत्रमा लगातार सैन्य खर्चमा वृद्धि हुनुमा एसियाका मुलुकहरुबीचको तनावमा वृद्धि हुनु प्रमुख रहेको छ,” सिप्रीका वरिष्ठ अनुसन्धानकर्मी पिटर वेजम्यानले बताए ।
विश्वलाई हेर्ने हो भने वासिङटन लगातार विगतका वर्षदेखिनै पहिलो स्थानमा रहदै आएको छ । गत वर्ष यो मुलुकले सैन्य खर्चमा झनै वृद्धि गराएको छ । यो मुलुकले २०१० देखि पहिलो पटक सैन्य खर्चमा वृद्धि गराएको छ । अमेरिकी प्रंतिरक्षा खर्चमा भएको वृद्धिले ट्रम्प प्रशासनको नीति प्रतिविम्वित गरेको सिप्रीले जनाएको छ ।
“अमेरिकी खर्चमा भएको वृद्धिलाई २०१७ बाट ट्रम्प प्रशासनको मातहतमा नयाँ हतियार खरिदको कार्यक्रमको कार्यान्वयनले सघाएको छ,” सिप्रीका निर्देशक डा. अउडे फ्ल्यूरेन्टले बताए ।
चीनले आफ्नो सैन्य खर्चमा ५ प्रतिशतको वृद्धि गरेको छ । बेइजिङले कुलमा २५० अर्ब अमेरिकी डलर खर्च गरेको छ । साउदी अरेबिया ६६.५ अर्ब डलरका साथ तेस्रो स्थानमा रहेको छ । गत वर्ष फ्रान्सले ६३.८ अर्ब डलरको सैन्य खर्च गरेको छ । यद्यपि रुस भने ६१.४ अर्ब डलरका साथ छैटौ स्थानमा ओर्लिएको छ ।

प्रतिक्रिया दिनुहोस्