रुकुमकोटबाट सदरमुकाम सारिएपछि आन्दोलन चर्कंदै

राजतन्त्रदेखि गणतान्त्रिक शासन व्यवस्थासम्म आइपुग्दा पनि रुकुम पूर्वको रुकुमकोट सरकारबाट पीडित बनेको छ । सुरुमा रुकुमको सदरमुकाम रुकुमकोट नै थियो । तर २०३० सालमा रुकुमकोटमा रहेको सदरमुकाम राजनीतिक पहुँचको आधारमा एकाएक मुसिकोटमा सारिएपछि पीडित बनेको रुकुमकोट ४४ बर्ष पछि खुसी त बन्यो तर खुसी ५ महिना पनि टिक्न पाएन । नयाँ संविधानमार्फत रुकुम जिल्ला पूर्व र पश्चिम गरी छुट्टाछुट्टै दुई जिल्ला बनेपछि रुकुमकोट पुनः सदरमुकामको रुपमा स्थापित भयो । जसका कारण साविकको ईलाका प्रशासन कार्यालय रहेको रुकुमकोटमा जिल्ला प्रशासन, जिल्ला प्रहरी, जिल्ला अदालत र जिल्ला मातपोत सहितका सदरमुकाम केन्द्रित कार्यालयहरू पनि स्थापना भए तर बिहिबार बसेको मन्त्रिपरिषद्को बैठकले रुकुम पूर्वको रुकुमकोट सदरमुकाम नभएर पुथाउत्तरगंगा गाउँपालिका–१२, को गोलखाडामा तोक्ने निर्णय गरेपछि राजतन्त्रदेखि गणतन्त्र सम्मको शासन व्यवस्थामा रुकुमकोट सरकार पटक पटक पीडित बनेको छ ।
सदरमुकाम सार्ने निर्णयले आन्दोलन चर्कियो
नयाँ जिल्ला बनेको रुकुमपूर्वको सदरमुकाम हाल रहेको रुकुमकोटबाट गोलखाडामा तोक्ने सरकारको निर्णय लगतै रुकुमेकाटबासीहरू आदोलनमा रहेका छन । रुकुमकोटबासीहरूले बिरोध स्वरुप राती मसाल जुलुस र दिउसो प्रद्धर्शन गर्ने गरेका हुन । बिरोधमा शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला समेत जलाएका छन् । रुकुमकोटबाट सदरमुकाम अनेत्र सार्न नदिन आफुहरूको आन्दोलन निरन्तर जारी रहने स्थानीय केशबचन्द्र समालले बताए । उनका अनुसार जिल्ला प्रशासन सहितका केहि सरकारी कार्यालयहरूमा स्थानीयहरूको धर्ना छ भने केही सरकारी कार्यालयहरूमा ताला लगाईएको छ । नेपाली काग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता कार्यकर्ताहरूले आफ्नै नेतृत्वको सरकारले आफ्नै नेता कार्यकर्ताहरूको हित बिपरित सदरमुकाम सार्ने निर्णय गरेको भन्दै फेसबुक मार्फत पार्टीबाट राजीनामा समेत दिएका छन । रुकुमकोटबाट बाहिरिने र भित्रिने सवारीसाधानमा रोक लगाएका छन । जसका कारण त्यसक्षेत्रको जनजीवन प्रभाबित बनेको छ ।
यसरी सारिएको थियो रुकुमकोटबाट मुसिकोटमा सदरमुकाम
पूर्वी रुकुम ७० को दशकअघि बाग्लुङ जिल्लासँग जोडिएको थियो । जसबाट त्यतिबेलाको जिल्ला सदरमुकाम रहेको रुकुमकोटबाट करिब ८० किलोमिटर बढी टाढा थियो । जसका कारण त्यस क्षेत्रलाई रुकुममै गाभ्न बेलाबेला माग समेत गरिएको थियो । केहि समयपछि उक्त क्षेत्रलाई रुकुममा गाभियो अनी रुकुमकोट नै सदरमुकाम यथावत भयो जसले गर्दा उनीहरू खुसीसमेत भए तर खुसी लामो समयसम्म रहन सकेन, त्यसको केही समयपछि राजपरिवारसँग राम्रो सम्बन्ध भएका धुब्रबिक्रम शाहको शक्तिको प्रभावले पश्चिमी रुकुमले दरवारलाई रिझाउन सफल भयो ।
राजपत्रमा १९७३ को अप्रिल अर्थात २०३० मा सूचना टास गरि रुकुमको सदरमुकाम रुकुमकोटबाट मुसिकोट सारियो । यस क्रममा पूर्वी रुकुमेली र पश्चिमी रुकुमेलीबीच झडप पनि भएको थियो । त्यस बेला देखि पूर्वी रुकुमका बासिन्दा सदरमुकाम खलंगा देखि आक्रोसित र रुष्ट भए । सदरमुकाम रुकुमकोटमै फर्काउन त्यहाँका जनताहरूले शान्तिपूर्णदेखि हिंसात्मक आन्दोलन समेत गरे । राजपरिवारको निर्णय भएका कारण हजारौंको संख्यामा र हतियारसहित पूर्वी रुकुमका जनताहरूले आन्दोलन गरेको भएपनि कफ्र्यु जारी गरेर भएपनि आन्दोलनलाई दमन गरियो । यस क्रममा एकको मृत्यु, केही घाइते भएका थिए भने केहि आन्दोलनकारीलाई सरकारले गिरफ्तारको वारेन्टी समेत जारी गरेको थियो ।
मेगराज खड्का