एनआईबीएल क्यापिटलले ५० करोडको खुलामुखी योजना ल्याउने

एनआईबीएल एस क्यापिटलले सामूहिक लगानी कोषको खुलामुखी योजना सञ्चालन गर्ने अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले क्यापिटललाई ५० करोड रूपैयाँ बरावरको खुलामुखी योजना सञ्चालन गर्ने अनुमति दिएको हो ।
सेयर बजारका औजाहरूमा विविधीकरण गर्दै परीक्षणको रूपमा खुलामुखी योजना सञ्चालन गर्न एनआईबीएल एस क्यापिटललाई अनुमति दिइएको बोर्डले जनाएको छ । एनआईबीएल एस क्यापिटलका प्रबन्धक मेखबहादुर थापाले नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको बताए । एनआईबीएल सहभागिता फन्ड नामक योजनाको योजना व्यवस्थापकको रूपमा एनआईबीएल एस क्यापिटल रहेको छ ।
आगामी जेठ १५ गतेभित्र सर्वसाधारणमा बिक्री गरिसक्ने एनआईबीएल एस क्यापिटलले जनाएको छ । “आगामी जेठ १५ गतेभित्रमा निस्कासन गरी सक्ने योजना छ,” थापाले भने, “हामीले २० करोड रूपैयाँ बरावरको खुलामुखी योजना ल्याउने, आवेदन बढी आएको खण्डमा त्यसलाई बढाएर ५० करोडसम्मको हुन्छ ।” तर, नेपाल धितोपत्र बोर्डले माग गरेभन्दा धेरै आवेदन आएको खण्डमा ५० करोडसम्म बिक्री गर्न अनुमति दिएको छ । सो योजनामा साढे सात करोड रूपैयाँ बीउ पुँजीको रूपमा प्रवद्र्धक कम्पनी नेपाल इन्भेस्टमेन्ट बैंकले लगानी गर्नेछ । योजना २० करोडको भएको खण्डमा साढे १२ करोड र ५० करोडको भए साढे ४२ करोड रूपैयाँ सर्वसाधारणको रहनेछ ।
हालसम्म करिव १६ अर्ब रूपैयाँ बराबरको १७ वटा बन्दमुखी योजना सञ्चालनमा आइसकेका छन् । ती मध्ये केही परिपक्व पनि भैसकेका छन् । यसअघि एनआइडीसी क्यापिटल मार्केटले खुलामुखी योजना सुरु गरेको भए पनि बजारले सकारात्मक प्रतिक्रिया नदिएपछि बन्द भएको थियो । खुलामुखी योजनाले बचतलाई परिचालन गराउने भएकाले पनि प्रभावकारी मानिन्छ । खुलामुखी योजना सञ्चालन गर्न सकेमा कर्मचारीको बचतलाई पनि सामूहिक लगानी कोषमार्फत परिचालन गर्न सकिन्छ ।
समूहिक लगानी कोषको खुलामूखी योजनाको अवधि र आकार निश्चित हुँदैन । योजना सञ्चालनको पहिलो चरणमा इकाइ बिक्री गर्न सार्वजनिक निष्कासन गरिने भए पनि त्यसपछिको खरिद बिक्री प्रक्रिया योजना व्यवस्थापकले गर्नुपर्ने हुन्छ । यो योजनाका इकाइ नेप्सेमा सूचीकृत हुँदैन । यसको बजार सञ्चालन योजना व्यवस्थापकले नै गर्नुपर्नेछ ।
खुलामुखी योजनाको इकाइ किन्न आएको खण्डमा योजनाको आकार आफैं बढ्दै जान्छ । आइपीओपछिको इकाइ खरिद बिक्री योजनाको खुद सम्पत्ति मूल्यांकनका आधारमा हुन्छ । यो कारोबार गरेवापत योजना व्यवस्थापकले निश्चित शुल्क लिन्छ ।
योजना व्यवस्थापकले तोकेको संस्थावाट किनबेच गर्न सकिन्छ । बिक्री गर्न आएको इकाइ धनीले योजना व्यवस्थापक खरिद गर्नैपर्छ । खुलामुखी योजनामा तरलता सहज हुन्छ । किन्न मन लागेको खण्डमा पैसा हाल्छु भनेपछि जति पनि इकाइ उपलब्ध गराउनु पर्छ । किन्न आएको खण्डमा दिनु प¥यो र बिक्री गर्न आएको खण्डमा खरिद गरी दिनुप¥यो । यो योजनामा हाल सञ्चय कोषमा जम्मा कर्मचारीको बचतलाई सिधै परिचालन गर्ने संयन्त्र बनाइ लगानी गर्न पनि सकिन्छ ।