पाँच शैयाको अस्पताल बनाउँदै तातोपानी «

पाँच शैयाको अस्पताल बनाउँदै तातोपानी

जुम्ला-गाउँमै सुलभ र विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गर्न जुम्लाको तातोपानी गाउँपालिकाले आफ्नै पाँच शैयाको अस्पताल निर्माण गर्ने भएको छ । आगामी साउनबाट तातोपानी गाउँपालिका–६ स्थित हियाँखोलामा पालिकाले पाँच शैयाको अस्पताल निर्माण गर्ने भएको हो । अस्पताल निर्माणका लागि डीपीआरसमेत तयार भइसकेको छ ।
आगामी साउन महिनाबाट अस्पताल निर्माण प्रक्रिया अघि बढ्ने तातोपानी गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाईले बताए । उनले भने, “डीपीआर सबैको सहमतिमा पास भएको छ । अस्पताल निर्माणका लागि आवश्यक जग्गासमेत प्राप्त भइसकेको छ । गाउँमै निर्माण हुने अस्पतालले स्थानीयलाई राहत मिल्ने छ भने संस्थागत सुत्केरी वृद्धि हुने र स्वास्थ्य सेवाको पहुँच वृद्धि हुने अपेक्षा छ ।”
अस्पताल निर्माणका लागि तातोपानी–६ निवासी विष्णु रोकायाले तीन हजार ८ सय ३८ वर्गमिटर जग्गा निःशुल्क प्रदान गरेकी छन् । निःशुल्क जग्गा दिएर पालिकाको नाममा पाससमेत भइसकेको छ । अस्पताल निर्माण पश्चात पालिकाका आठवटै वडाका नागरिकले सेवा पाउने छन् ।
पालिकाको २० लाख लगानीमा डीपीआर तयार भएको हो । तातोपानी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मिलन बुढ्थापाले भने, “अस्पताल निर्माणका लागि अर्थ मन्त्रालयले बजेटको सुनिश्चितता समेत गरिसकेको छ भने आगामी साउनबाट अस्पताल निर्माण हुने पक्का भएको छ । सुविधायुक्त पूर्वाधारसहितको अस्पताल बनाउने डीपीआर तयार भएको छ ।”
गाउँमै अस्पताल निर्माण हुने भएपछि तातोपानीबासी उत्साहित भएका छन् । गाउँमै विशेषज्ञ सेवा पाइने र उपचारका लागि टाढा जानुपर्ने बाध्यताको अन्त्य हुने भन्दै पालिकाको आफ्नै अस्पताल निर्माण हुने कुराले जनता उत्साहित भएको तातोपानी–६ का वडाध्यक्ष विशाल खड्काले बताए । उनका अनुसार सहिद छक्क रोकायाकी आमा विष्णु रोकायाले निःशुल्क जग्गा दिएकी हुन् ।
प्रदेशमा १४ करोडका योजना माग
तातोपानी गाउँपालिकाले मुख्यमन्त्री रोजगारअन्तर्गत १४ करोड बराबरका योजना मागसहितको प्रस्ताव प्रदेशमा पठाएको छ । पालिकाभरिका २७ वटा योजनाको अनुमानित लागत अनुमानसहित १४ करोडको योजना माग गरिएको तातोपानी सूचना प्रविधि अधिकृत ऋषिकेश उपाध्यायले बताए । उनका अनुसार मुख्यमन्त्री रोजागर कार्यक्रमको (सीएमईपी) मा योजना अनलाइन प्रविष्टी गरिएको छ ।
पालिकाका ८ वटै वडाबाट माग भई आएका आवश्यकतामा आधारित खानेपानी, सिँचाइ, मर्मत सम्भार, बाटो निर्माण, टावर जडान, तटबन्ध निर्माण, विद्यालय भवन र सडक निर्माणलगायतका २७ वटा योजनाको अनुमानित लागत १४ करोडको योजना माग गरिएको सूचना प्रविधि अधिकृत उपाध्यायको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्