Logo

नेवार समुदायमा जन्मदिन

नेवार समुदायमा जन्म दिन मनाउने मौलिक परम्परा छ । जन्म दिन नजिकिँदै गर्दा सबैभन्दा पहिले उसको चिना ज्योतिषीलाई देखाउने गरिन्छ । ज्योतिषले ग्रहदशा हेरेर दिएको सल्लाहअनुसार विभिन्न देवीदेवताको पूजाआजा गरेर ज्येष्ठ महिलाले सगुण दिने गरिन्छ । नेवार समुदायमा जन्मेको दुई वर्ष लागेको दिन पहिलो जन्म दिन मनाउँछन् । जन्म दिन मनाउने दिनमा घर सरसफाइ, नुहाइधुवाइ गरेर जन्म दिन मनाउने गरिएको छ । बच्चालाई नयाँ लुगा किनेर गणेश, कुमार, भैरव, महालक्ष्मी, कुलदेवता आदिको पूजा गरिन्छ । सबै देवीदेवताको प्रसाद साथै घरमा सुकुन्दा बालेर गणेशलाई साक्षी राखी ज्येष्ठ महिला वा आमाले बच्चालाई पूजा गर्दै बच्चालाई पनि पूजा गर्न सिकाएर अन्डा, माछा सगुन खुवाउने र दहीको सगुन कञ्चटमा लगाइदिने तथा योमरी आकारको चामलको पीठोको रोटीभित्र अक्षेता (चामल) पाँचवटा राखेर पकाएको रोटीको माला लगाइदिने चलन छ । त्यही मालामा भएको रोटी गनेर जोकोही नचिनेको मानिसले पनि त्यसरी माला लगाएको बच्चालाई देख्यो भने त्यो बच्चाको उमेर भन्न सक्थ्यो । पहिलो जन्म दिन मनाएका बच्चालाई मामाघरवाट सगुनमा लुगा दिनुपर्छ । यसरी जन्म दिनको दिनमा आफ्नो घरको पूजाकोठामा दियोमा बत्ती बाल्ने गर्छन् । तेल थपी–थपी रातभरि पनि बाल्ने गर्थे, अनि कुनै मन्दिर (घरनजिकको वा कुलदेवताकोमा) चारैतिर बत्ती बालेर जीवनमा राम्रो होस्, बत्तीको उज्यालोजस्तै जीवनमा पनि शान्ति, खुसीयाली छाओस्, राम्ररी पढेर ज्ञानी मानिस बन्न सकोस् भनेर आशीर्वाद लिन सकोस् भनेर कामना गर्ने गर्छन् । तर, अहिले जन्म दिनको नाममा मैनवत्ती बालेर फू गरेर निभाइन्छ ।
यसरी जन्म दिनको दिनमा योमरी आकारको रोटीको माला १२ वर्षसम्म वा छोराको भए व्रतबन्ध नगरेसम्म र छोरीको गुफा नराखेसम्म लगाएर मनाउने चलन छ । त्यही रोटी एकछिनपछि बालसखाहरूलाई बाँडेर पनि खुवाउने गरिथ्यो । सबै देवीदेवताको पूजा सकिएपछि आफ्नो घरबाहिर आँगनमा, चोकमा कालो तील, दही र चिउरा मिसाएको, समयबजी, शाकाहारीले माछा, मासु, अण्डा नराखीकन बनाएको हुन्छ । मांसाहारीले (आलु, भटमास, बोडी, छोयला, टुक्रा–टुक्रा पारेको अदुवासमेतको चिउरा आदि) र समयअनुसारको फलफूल अनि अहिले आएर एक–एक वा पाँच रुपैयाँसमेत आफ्नो घरबाहिर वा चोकमा दान दिने चलन छ । अहिले दहीचिउराभन्दा समयबजी, समयअनुसारको फलफूल बाँड्ने चलन छ । त्यसैगरी जन्म दिनको दिनमा आफ्नो टोलमा भजनकीर्तन गर्ने चलन छ । बिहानको समय हो भने चिया, बिस्कुट, मालपुवा आदि बेलुकी भए समयबजी खुवाउने गर्थे र गर्छन्, कसैकसैले बालगृह, ज्येष्ठ नागरिकहरूको दिवा सेवा केन्द्र, विहारमा भोजन गराएर पनि जन्म दिन मनाउने गर्छन् । जन्म दिनको संस्कार यस्तो रहेकोमा अहिले आएर पाश्चात्य संस्कृतिको प्रभाव परेजस्तै बच्चाको एकवर्षे जन्म दिनदेखि जन्म दिनको केक काटेर बिहान पूजाआजा गरेर मनाउने सट्टा बेलुकी रमाइलो गर्ने/गराउने चलन आएको छ । यसले गर्दा सानैमा चक्कु समात्न र चलाउन सिकाएजस्तै मानिन्छ ।
चाहे बच्चाबच्चीको होस् वा बूढाबूढीको, जन्म दिनको केक काट्नैपर्ने जमाना आएको छ । हुन त जन्म दिनको केक स्वास्थ्यकर्मीहरूको भनाइअनुसार खान योग्य छैन, तर हामी त्यसैमा रमाइरहेका छौं । सगुन दिने बेलामा केटा, छोरा मान्छेको हो भने अनिवार्य रूपमा नेपाली टोपी लगाउनुपर्नेमा अहिले आएर बच्चाबच्चीले त जन्म दिनको टोपी भनेर कागजले बनाएको टोपी लगाउँछन् तर ठूलै मानिसले सधैं नेपाली टोपी लगाउने गरेकाले पनि आफ्नो टोपी खोलेर कागजको टोपीमा बच्चाबच्ची रमाएजस्तै रमाउने गर्छन् । यसरी जन्म दिन मनाएर रमाउनाले गर्दा आफ्नो परम्परा र संस्कृति विस्थापित हुन लागेको छ । संस्कार र संस्कृतिले सभ्यता झल्काउँछ, आफ्नो परम्परा र मौलिकतालाई नभुलौं ।

प्रतिक्रिया दिनुहोस्