खल्ती डिजिटल वालेटलाई राष्ट्र बैंकबाट अनुमति «

खल्ती डिजिटल वालेटलाई राष्ट्र बैंकबाट अनुमति

खल्ती डिजिटल वालेटलाई नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायकको कार्य गर्ने अनुमतिपत्र प्रदान गरेको छ । राष्ट्र बैंकको ‘भुक्तानी तथा फछ्र्योट विनियमावली २०७२’ बमोजिम ‘खल्ती’ले दूरसञ्चार सञ्जाल तथा इन्टरनेटको माध्यमबाट डिजिटल भुक्तानी सेवाको कार्य गर्न अनुमतिप्राप्त गरेको हो । डिजिटल भुक्तानीका साथै अब खल्तीमार्फत आन्तरिक मनी ट्रान्सफर र अन्य विभिन्न किसिमका मोबाइल वित्तीय सेवाहरू पनि उपलब्ध हुने कम्पनीले जनाएको छ ।
नेपाली युवा उद्यमीहरूको समूहले सन् २०१७ मा स्थापना गरेको ‘खल्ती’ एउटा डिजिटल भुक्तानी सेवा प्रदान गर्ने स्टार्ट अप कम्पनी हो । सुरुवातदेखि नै खल्ती नविनतम प्रविधि तथा सेवामार्फत मानिसको जीवन सहज बनाउन केन्द्रित छ ।
राष्ट्र बैंकबाट भुक्तानी सेवा प्रदायकको आधिकारिक लाइसेन्स प्राप्त गरेपछि डिजिटल माध्यमबाट प्रदान गरिने सेवालाई अर्को तहमा पु¥याउन यस कम्पनी थप उत्प्रेरित बनेको भन्दै अब सबै प्रकारका भुक्तानी सेवाहरूलाई अनलाइन प्रविधिमा ल्याउन खल्तीको ध्यान केन्द्रित हुने कम्पनीले जनाएको छ । खल्तीले राष्ट्र बैंकबाट अनुमतिप्राप्त गरेपछि कम्पनीका प्रबन्ध निर्देशक मनीष मोदीले भने,“डिजिटल भुक्तानी नेपालमा भर्खरै सुरु भएको नयाँ प्रविधि हो । अझै पनि ग्रामीण भेगमा बिजुलीको महसुल तिर्ने जस्ता सामान्य कार्यका लागि सयौं रुपैयाँ र पूरा दिन खर्च गरेर सदरमुकाम धाउनुपर्ने बाध्यता छ ।”
नेपाल राष्ट्र बैंकबाट प्राप्त भुक्तानी सेवा प्रदायकको यस आधिकारिक लाइसेन्सले हामीलाई अझै तीव्र रफ्तारका साथ डिजिटल भुक्तानी सेवालाई देशैभर विस्तार गर्न उत्साह प्रदान गरेको छ । हामी अब देशका हरेक कुना काप्चाबाट सरकारको डिजिटल नेपालको सपनालाई साकार पार्न ‘डिजिटल नेपाल, समृद्धिको महाअभियान’ भन्ने नाराका साथ भरपूर प्रयास गर्नेछौं । बैंकिङ पहुँचमा नरहेको दूरदराजको जनसंख्यालाई समेत वित्तीय सेवा प्रदान गर्ने र उनीहरूको जीवन सरल बनाउने पनिहाम्रो उद्देश्य रहनेछ ।
नेपाल दूरसञ्चार प्राधिकरणको नयाँ तथ्यांकअनुसार नेपालमा मोबाइल सेवाको पहुँच १३२ प्रतिशतभन्दा धेरै छ र ५९ प्रतिशत जनसंख्याले तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रयोग गर्छन् । त्यस्तै, नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार करिब ६४ लाख नेपालीले मोबाइल बैंकिङ सेवा र साढे आठ लाखले इन्टरनेट बैंकिङ सेवा प्रयोग गर्छन् । तथापि, विश्व बैंकले सन् २०१७ मा प्रकाशित गरेको तथ्यांकअनुसार ४५ प्रतिशत नेपालीहरूको मात्रै बैंकमा खाता छ । यस्तो अवस्थामा खल्तीले बैंकिङ पहुँचबाहिर रहेको जनसंख्यालाई डिजिटल प्लाटफर्ममा ल्याउन र वित्तीय सेवा प्रदान गर्न महत्वपूर्ण भूमिका खेल्न सक्छ ।

प्रतिक्रिया दिनुहोस्