Logo

हामी हाम्रो वातावरणमा सुरक्षित छौं र

संयुक्त राष्ट्रसंघको महासभाले गरेको घोषणा तथा संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमबमोजिम सन् १९७४ देखि प्रत्येक वर्ष जुन ५ को दिनलाई विश्व वातावरण दिवसका रूपमा मनाउँदै आइएको छ । जसको निरन्तरता नेपालले समेत हरेक वर्षको जुन ५ का दिन विश्व वातावरण दिवस मनाउँदै आइरहेको छ । यस वर्ष ‘केवल एक पृथ्वी’ भन्ने अन्तर्राष्ट्रिय नारा र ‘प्रकृतिसँग मेलमिलापमा दिगो रूपमा बाँच्ने’ भन्ने मूल विषयका साथ यो दिवस मनाइयो । नेपालमा भने ‘पृथ्वीको संरक्षण : दिगो प्रकृतिमैत्री जीवनयापन’ भन्ने मूल नाराका साथ विभिन्न कार्यक्रम गरी विश्व वातावरण दिवस मनाइयो । विश्व वातावरण दिवसका दिन सरकारका तर्फबाट राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीलगायतले वातावरण संरक्षणसम्बन्धी आम नागरिकलाई शुभकामना सन्देशसमेत दिनुभएको थियो ।
हामीले एक दिन वातावरण दिवस मनाइरहँदा हाम्रो वातावरण कत्तिको सुरक्षित छ भन्ने विषयमा पनि जोड दिनुपर्ने देखिन्छ । वातावरण दिवसका नाममा केही थान बिरुवा वृक्षारोपण गरिरहँदा हाम्रो वनविनाशका कार्य रोकिएका छन् कि छैनन्, त्यतातर्फ पनि ध्यान दिनु आवश्यक छ । वन कत्तिको सुरक्षित छ र त्यहाँ आश्रितको अवस्थामा जोड दिनुपर्नेछ । मानव जातिलगायत अन्य प्राणी सुरक्षित रूपमा बाँच्न पाउने अधिकारबाट वञ्चित भएका छन् कि छैनन्, बुझ्न जरुरी छ । वातावरणका विषयमा जानकारी र त्यसको आवश्यकताबिनै एक दिनका लागि वातावरण दिवस मनाएर प्रचारप्रसार गर्नुले मात्र वातावरण संरक्षण हुन कठिन पर्ने देखिन्छ ।
जलवायु परिवर्तनको प्रभावले गर्दा हाम्रो वातावरणमा नकारात्मक असरहरू बढ्दै गएका छन् । वातावरण प्रदूषणका कारण पृथ्वीको तापक्रम बढ्दै जानाले जलवायु परिवर्तन हुँदा पछिल्लो समय नेपालमा आकस्मिक बाढी, हिमनदी विस्फोट तथा हिमपहिरो, खडेरी, तातो र चिसो लहर र अप्रत्याशित वर्षा, अतिवृष्टि, अनावृष्ट्रि, खण्डवृष्टिका कारण मानव जनजीवनमा प्रत्यक्ष रूपमा असर पु-याउँदै आएको छ, जसअन्तर्गत समाजका सबै क्षेत्रमा असर परेको छ र विशेष गरी महिला र सीमान्तकृत समुदायको जीवन र जीवनयापन नै संकटमा परेको छ । नेपालमा पनि जलवायु परिवर्तनले कृषि उत्पादनमा ह्रास आउने र समयमा वर्षा नहुने, बमौसमी वर्षाले प्रतिकूल असर पार्दै गइरहेको सर्वविदितै छ ।
जलवायु परिवर्तनले दिनानुदिन वातावरण प्रदूषित हुँदै गइरहेको छ । बढ्दो सहरीकरण तथा जनघनत्वका कारण सहरी क्षेत्रभित्र डिजेल, पेट्रोलबाट चल्ने सवारी साधनको उपयोग बढ्दै जाँदा र कोइलाको अधिक प्रयोगबाट निस्कने धूवाँले वायुप्रदूषण हुँदा मानव शरीरमा प्रत्यक्ष रूपमा असर भोग्दै जानुपरेको छ । महिनौंसम्म सहरका फोहोर उठ्न नसक्दा सहर प्रदूषित बनेको छ, जसको प्रत्यक्ष असर वातावरणमा पर्न जान्छ । डढेलो तथा आगलागीका घटना बढ्दै जाँदा वातावरण प्रदूषित बन्दै गएको छ । यतातर्फ ध्यान नदिने र एक दिनका लागि दिवस मनाउने परिपाटीले गर्दा त्यसको असर आममानिसले भोग्न बाध्य हुनुपरेको छ । वातावरण दिवसका दिन एउटा बिरुवा रोपेर अर्को दिनदेखि त्यो बिरुवालाई बेवास्ता गर्ने परिपाटी बन्दा नाममात्रको दिवस मनाइरहेझैं लाग्छ । बर्सेनि यस्ता दिवस मनाइरहँदा त्यस्ता दिवसले सार्थकता पाउने खालको निरन्तरता हुनुपर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्