हेलिकप्टर चार्टर गरेर उम्मेदवारी दर्ता «

हेलिकप्टर चार्टर गरेर उम्मेदवारी दर्ता

भोजपुर: निर्वाचनमा मनोनयन दर्ता गर्न नेपाली कांग्रेसका नेताहरू हेलिकप्टर चार्टर गरी भोजपुर गएका छन् । मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारहरू हेलिकप्टर चार्टर गरी मनोनयन दर्ता गर्न आइतबार भोजपुर पुगेका हुन् । 

भोजपुर विमानस्थलमा लगातार दुई दिनसम्म उडान रद्द भएपछि कांग्रेस नेताहरू हेलिकप्टर चार्टर गरी मनोनयन दर्ता गर्न भोजपुर पुगेका हुन् ।  कांग्रेसको संसदीय समितिले शुक्रबार मात्रै भोजपुरका उम्मेदवारहरूको टुंगो लगाएको थियो । समितिले प्रतिनिधि सभामा १ निर्वाचन क्षेत्र रहेको भोजपुरमा उमेशजंग रायमाझीलाई उम्मेदवार बनाउने निर्णय ग¥यो । प्रदेशसभा (क) मा संघीय समाजवादी फोरमका नेता अजम्बर काङमाङलाई समर्थन गर्ने निर्णय गरेको कांग्रेसले प्रदेशसभा (ख) मा गोविन्द कार्कीलाई टिकट दियो ।

प्रदेशसभा (क) मा समाजवादी फोरमलाई समर्थन गर्ने निर्णयले मन खिन्न बनाएका कांग्रेस नेताहरू निर्वाचन आयोगले तोकेको निर्वाचन कार्यतालिकाअनुसार आइतबार मनोनयन गर्न  शनिवार जहाजमार्फत भोजपुर जान नेताहरू एअरपोर्ट पुगे । घण्टौं पर्खिए, तर नेपाल एयरलाइन्सको ट्वीनअटर जहाज उडेन ।

भोजपुर विमानस्थलमा नेपाल एयरलाइन्सको ट्वीनअटर जहाजले मात्रै उडान भर्ने गरेको छ । शनिबार रद्द भएको फ्लाइट आइतबारलाई राखियो । आइतबार पनि भोजपुरको मौसम खराब भएको भन्दै उडान रद्द भयो जसका कारण मनोनयन दर्ताका लागि भोजपुर पुग्न हेलिकप्टर चार्टर गर्नुको विकल्प उनीहरूसँग थिएन । 

सडक यातायात पनि सहज नभएकाले उनीहरू हेलिकप्टर चार्टर गर्न बाध्य भएका हुन् । कांग्रेसले ढिलो गरी उम्मेदवारको टुंगो लगाएको साथै सडक यातायात र हवाई यातायात समेत भरपर्दो नहुँदा मनोनयन दर्ता गर्न जाँदा हेलिकप्टर चार्टर गर्नुपरेको नेताहरूले बताए । “शनिवार र आइतबार उडान रद्द भएपछि मनोनयनका लागि भोजपुर पुग्न हेलिकप्टर चार्टर बाहेकको विकल्प हामीसँग थिएन । त्यसैले हेलिकप्टर चार्टर गरी गएका हौं,” तरुण दलका उपाध्यक्ष तथा महासमिति सदस्य उत्तमकुमार चापागाईँले भने । 

चार्टर गरिएको हेलिकप्टरमा उम्मेदवारद्वय रायामाझी, कार्की, सभापति नन्दमणि राई, तरुण दलका केन्द्रीय उपाध्यक्ष तथा महासमिति सदस्य उत्तमकुमार चापागाईँ, महासमिति सदस्य विनोद वान्तवा, महासमिति सदस्य तथा पूर्व सचिव हेमन्त मुकारुङ लगायतका नेताहरू भोजपुर पुगेका हुन् । कांग्रेस संघीय गठबन्धनको तर्फबाट रायामाझी र वबाम गठबन्धनको तर्फबाट सुदन किराती र मंगोल नेसनल अर्गनाइजेशनको तर्फबाट चन्द्र प्रसाद राईले प्रतिनिधिसभामा उम्मेदवारी दर्ता गराएका छन् । भोजपुरमा प्रतिनिधिसभामा १ निर्वाचन क्षेत्र रहेको छ ।

प्रदेशसभा (क) मा कांग्रेस संघीय गठबन्धनबाट संघीय समाजवादी फोरमका अजम्बर काङमाङ, वाम गठबन्धनको तर्फबाट राजेन्द्र राई, मंगोल नेसनल अर्गनाइजेसनको तर्फबाट भोजेस राई र स्वतन्त्रबाट खुसीराज गुरुङले उम्मेदवारी दर्ता गराएका छन् । प्रदेशसभा (ख) मा कांग्रेस संघीय गठबन्धनबाट कांग्रेसका गोविन्दबहादुर कार्की र बाम गठबन्धनबाट एमालेका शेरधन राईको उम्मेदवारी परेकोे मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्