Logo

पुँजीगत खर्च

लक्ष्य पूरा गर्न दैनिक ६ अर्ब ४४ करोड खर्चिनुपर्ने

चालू आर्थिक वर्ष २०७८/०७९ को बाँकी ३८ दिनमा ६५ प्रतिशत पुँजीगत बजेट खर्च गर्नुपर्ने भएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार सरकारले शतप्रतिशत पुँजीगत खर्च गर्न हरेक दिन ६ अर्ब ४४ करोड रुपैयाँ खर्च गर्नुपर्ने हुन्छ ।
सरकारले चालू आर्थिक वर्षमा ३ खर्ब ७८ अर्ब रुपैयाँ बराबरको पुँजीगत खर्च गर्ने लक्ष्य लिएको थियो । तर, बुधबारसम्म अर्थात् ३ सय २७ दिनमा सरकारले १ खर्ब ३३ अर्ब रुपैयाँ मात्र खर्च गरेको छ भने बाँकी रहेको ३८ दिनमा २ खर्ब ४४ अर्ब रुपैयाँ खर्च गर्न बाँकी रहेको छ । हरेक दिन औसत ४१ करोडको हाराहारीमा खर्च गरिरहेको सरकारलाई दैनिक साढे ६ अर्ब रुपैयाँ बजेट खर्च गर्न चुनौती हुने देखिएको छ ।
हुन त यसअघि नै सरकारले चालू आर्थिक वर्षमा झण्डै ९० प्रतिशत मात्र खर्च हुने बताएको थियो । तर, ६० प्रतिशत खर्च गर्न समेत चुनौती हुने तथ्यांकले देखाएको छ ।
सरकारले चालू आर्थिक वर्षमा गरेको पुँजीगत खर्च गत वर्षको तुलनामा कम रहेको महालेखाले जनाएको छ । गत आर्थिक वर्ष २०७७/०७८ को सोही अवधिमा सरकारले १ खर्ब ३७ अर्ब रुपैयाँ खर्च गरेको थियो, जुन लक्ष्यको ३९ प्रतिशत रहेको महालेखाले जनाएको छ ।
पूर्व तयारीबिना आयोजनाहरु बजेटमा समावेश गरिँदा एकै पटक असारमा खर्च हुने गरेकोे पूूर्व अर्थसचिव युवराज भुषाल बताउँछन् । “सयौँ आयोजनाहरु रातारात बन्छन् । त्यस्ता आयोजनाहरुमा मन्त्रालयगत बजेट बाडफाँड हुँदा दशै तिहार लाग्छ । त्यसको डिजाइन तयार गर्दा मंसिर पुग्छ । ठेक्कापट्टाको काम सकेर आयोजना सुरु गर्दा फागुन लाग्छ । कुनै अयोजना पुनः ठेक्का लगाउनुप-यो भने अर्को दुई महिना पनि जान्छ । त्यसपछि बल्ल काम सुरु हुने हो,” उनले भने ।
कतिपय ठेकेदारले भने काम गर्नुपूर्व परिचालन खर्च लिएर काम गर्ने र काम सकेपछि सबै भुक्तानी असारमा लिने गर्दा कतिपय खर्च महालेखाको तथ्यांकमा नदेखिने गरेको उनको तर्क छ । “धेरैजसो ठेकेदारले पेश्की लिएर काम गर्छन् अनि काम सकेर असारमा मात्र भुक्तानी लिन्छन् । त्यसले गर्दा महालेखाको तथ्यांकमा जेठसम्म खर्च नदेखिने र एकैपटक असारमा देखिन्छ,” उनले भने । तर, कतिपय ठेकेदारले भने असारमा नै काम सकेको भनेर भुक्तानी लिने र भदौ–असोजसम्म काम गरेको समेत पाइने गरेको उनको तर्क छ ।
चालू खर्चतर्फ भने सरकारले बुधबारसम्ममा ७ खर्ब ८३ अर्ब अर्थात् ७३.५१ प्रतिशत खर्च गरेको छ । वित्तीय व्यवस्थातर्फ ४३.५४ प्रतिशत अर्थात् ८२ अर्ब रुपैयाँ मात्र खर्च गरेको महालेखाको तथ्यांकमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्