अवरुद्ध सडक खुला

वर्षाका कारण अवरुद्ध सडक सञ्चालनमा आएका छन् । पृथ्वी राजमार्गको नौबिसे–मुग्लिन सडक अवरुद्ध सडक खुलाइएको छ । उक्त खण्डको घोप्टेभिरमा पहिरो गएपछि सडक अवरुद्ध भएको थियो ।
पछिल्लो समय सडक अवरुद्ध हुँदा ९ स्थानमा क्षति पुगेको छ । सडक विभागका अनुसार सबै स्थानमा दुईतर्फी नै सडक खुलाइएको छ । ठोरी–भरतपुर–मुग्लिन, आँबुखैरेनी–गोरखा–घ्याम्पेसाल, आरुघाट–सिर्दिवास–रोइलो भञ्ज्याङमा सडक अवरुद्ध भएको थियो । सडक विभागका उपमहानिर्देशक भिमार्जुन अधिकारीका अनुसार बिहान केही सडक खण्डमा समस्या भएको थियो तर बिहीबार बेलुकासम्म सबै सडक खुलेको छ । उनले भने, “अवरुद्ध सडक खुलाइएको छ, तर सडक अवरुद्ध हुँदा सवारीका कारण सडकमा जाम बढेकाले सडक मार्गमा समस्या आएको छ ।” लेन मिचेर सवारीले अरुको लेन प्रयोग गर्दा पछिल्लो समय राजमार्गहरुमा समस्या आएको अधिकारीले बताए ।
वर्षासँगै खसेको पहिराका कारण नारायणगढ– मुग्लिन सडक केही समय अवरुद्ध भएको थियो । चितवनको इच्छाकामना–६ तोपेखोलास्थित नाम्सी खोलाको पुलमा पहिरो खसेका कारण बुधबार रातिदेखि सडक अवरुद्ध भएको थियो । त्यस्तै मनकामना केवलकार मार्ग नजिक पनि पहिरो खस्दा सडक अवरुद्ध भएको थियो । वर्षा याम सुरु भएसँगै मुग्लिन–नारायणगढ सडक खण्डमा पहिरो जान थालेकाले डिभिजन कार्यालयले प्राविधिक जनशक्ति राखेर अवरुद्ध सडक खुलाउने काम गरिँदै आएको सडक डिभिजन कार्यालय भरतपुरका प्रमुख बाबुराम सापकोटाले बताए । सडक अवरुद्ध हटाउनको लागि डिभिजन कार्यालयले ३ ठूला लोडर, जेसिवि, साना मेसिन सहितको जनशक्ति राखेर सो क्षेत्रको अवरोध हटाउँदै आएको जनाएको छ ।