जिसस दाङको प्रमुखमा शर्मा «

जिसस दाङको प्रमुखमा शर्मा

दाङ-जिल्ला समन्वय समिति दाङमा गठबन्धनको तर्फबाट उमेद्वारहरू निर्विरोध निर्वाचित भएका छन् । यही जेठ २९ गते हुन गइरहेको निर्वाचनका लागि बुधबार मनोनयनमा गठबन्धको तर्फबाट मात्र उमेदवारी परेपछि निर्विरोध निर्वाचित भएका हुन । नेकपा एमालेले उमेदवारी दर्ता नगराए सँगै गठबन्धनका तर्फबाट उमेदवारी दर्ता गराएका उमेदवार निर्विरोध निर्वाचित भएका हुन् ।
यद्यपि मुख्य निर्वाचन अधिकृतको कार्यालयले भने औपचारी घोषणा गरेको छैन । समितिमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले संयुक्त रूपमा उमेदवारी दर्ता गराएका छन् । समितिको प्रमुखमा नेपाली कांग्रेसका नित्यानन्द शर्माको उम्मेदवारी रहेको छ । शर्मा स्थानीय तहको निर्वाचनमा राप्ती गाउँपालिका वडा नं. ७ बाट सदस्यमा निर्वाचित भएका थिए । उप प्रमुखमा नेपाली कांग्रेसका तर्फबाट चेतना चौधरीको उम्मेदवारी रहेको छ । चौधरी स्थानीय तहको निर्वाचनमा बबई गाउँपालिका वडा नं. ७ बाट सदस्यमा निर्वाचित भएकी हुन् । सदस्यमा नेपाली कांग्रेसबाट तर्फबाट कुलबहादुर बुढा खुला सदस्य, हरिदेवी पोख्रेल महिला सदस्य, सरस्वती नेपाली दलित महिला सदस्य, जुनकुमारी बुढा महिला सदस्य र कल्पना शेर्पाइली महिला सदस्य रहेका छन् । खुला सदस्य बुढाले स्थानीय तहको निर्वाचनमा लमही नगरपालिका–७ बाट सदस्यमा निर्वाचित भएका हुन् । महिला सदस्य घोराही उपमहानगरपालिका वडा नं. ९ बाट, दलित महिला सदस्य नेपाली तुलसीपुर उपमहानगरपालिका वडा नं. १४, महिला सदस्य घोराही उपमहानगरपालिका वडा नं. १४ र महिला सदस्य शेर्पाइली घोराही उपमहानगरपालिका वडा नं. १३ बाट सदस्यमा निर्वाचित भएका हुन् । त्यस्तै नेकपा माओवादी केन्द्रका तर्फबाट सदस्यमा टोपाराम चौधरी (खुला सदस्य) र द्रुपति चौधरी (खुला सदस्य) ले उम्मेदवारी दर्ता गराएका छन् । चौधरीले स्थानीय तहको निर्वाचनमा दङ्गीशरण गाउँपालिका वडा नं. ३ बाट सदस्यमा निर्वाचित भएका हुन् । द्रुपति चौधरी स्थानीय तहको निर्वाचनमा राप्ती गाउँपालिका वडा नं. ३ बाट सदस्यमा निर्वाचित भएकी हुन् । समितिमा एक प्रमुख, एक उप प्रमुख, तीन खुला सदस्य, तीन महिला सदस्य र एक दलित सदस्य रहने व्यवस्था रहेको छ । जिल्लामा १० स्थानीय तह रहेका छन् । जसमा प्रमुख र उप प्रमुख गरी २० जना मतदाता रहेका छन् । जसमध्ये नेपाली कांग्रेसको १२, नेकपा एमालेको ५ र नेकपा माओवादी केन्द्रको ३ मत रहेको छ । कांग्रेस र माओवादी केन्द्रले संयुक्त रूपमा उमेदवारी दर्ता गरेसँगै गठबन्धनको बहुमतसहित १५ मत रहेको छ । भने नेकपा एमालेको ५ मत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्