Logo

फोहोर व्यवस्थापनमा अवरोध कायमै

फोहोर व्यवस्थापनमा अवरोध सिर्जना हुँदा उपत्यकाका फोहोर फाल्न समस्या उत्पन्न भएको छ । काठमाडौं उपत्यकाको फोहोर नुवाकोटको बञ्चरेडाँडामा लैजाने क्रममा बुधबार पनि स्थानीयले अवरोध गरेपछि व्यवस्थापनमा समस्या भएको हो ।
स्थानीयको अवरोधका बीच मंगलबार फोहोर व्यवस्थापन गरिएको थियो । बुधबार पनि स्थानीयको अवरोधका कारण तनावको स्थिति सिर्जना भएको छ । फोहोर व्यवस्थापनका लागि एक सयको हाहाहारीमा प्रहरी परिचालन गरिएको काठमाडौं महानगरपालिकाको भनाइ छ । तर स्थानीयको अवरोध कायम रहेका कारण काठमाडौंबाट फोहोर लिएर गएका टिपरहरू फर्किएका छन् । बुधबार स्थानीयले अवरोध गरेपछि प्रहरी नै परिचालन गरी बञ्चरेडाँडामा फोहोरको टिपर लगिएको थियो । तर स्थानीयले लगातार अवरोध पु-याएपछि फोहोरको टिपर फर्किएको छ ।
संघर्ष समितिका संयोजक श्रीराम ढुंगानाले स्थानीयको अवरोध जारी रहेपछि बुधबार फोहोर बोकेको टिपरहरू फर्किएको बताएका छन् । “मंगलबारदेखि प्रहरीको सहयोगमा फोहोर व्यवस्थापन सुरु गरिएको थियो । तर बुधबार पनि स्थानीयले अवरोध गरेपछि प्रहरीले केही राउण्ड अश्रुग्याससमेत हानेको थियो,” उनले भने, “तर स्थानीयको अवरोध नहटेकाले फोहोर विसर्जन गर्न आएको ट्रक फर्किएको हो ।”
फोहोर व्यवस्थापनमा आएको अवरोधका कारण जाथाभावी रूपमा फोहोर फालिएको छ । वर्षाको समयमा आउने बाढीका कारण फोहोर बगाएको र दुर्गन्ध फैलिएको भन्दै वातावरणविद्हरूले समयमा नै फोहोर व्यवस्थापन थर्न सुझाव दिएका छन् ।
पटक पटक फोहार फाल्ने विषयमा विवाद हुँदा उपत्यकाको फोहोर व्यवस्थापनमा चुनौती थपिएको छ । मंगलबार काठमाडौंका मेयर बालेन साहले फोहोर व्यवस्थापनसम्बन्धी समस्या समाधान भएको बताए पनि बुधबार स्थानीयले गरेको अवरोधका कारण फेरि सर्वसाधारणमा निराशा छाएको छ ।
काठमाडौंको फोहोर विसर्जनस्थल नुवाकोटको सिसडोलबाट दुर्गन्ध हटाउने उपाय र फोहोरले वातावरणमा परेको असरबारे अध्ययन भने सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस्