राष्ट्रिय परिचयपत्र वडा तहमै वितरण हुने «

राष्ट्रिय परिचयपत्र वडा तहमै वितरण हुने

दोलखा– राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले दोलखाका सबै नागरिकको राष्ट्रिय परिचयपत्र बनाउन वडा तहमै टोली खटाएर अभियान थाल्ने भएको छ । असार १ गतेदेखि भीमेश्वर नगरपालिकाका वडा वडामा पुगेर अभियान सुरु गरेर असोजसम्म जिल्लाका सबै नागरिकको राष्ट्रिय परिचयपत्र बनाइसक्ने लक्ष्य लिएको छ ।
चरिकोटमा दोलखाका ९ वटै स्थानीय तहका प्रमुखहरूको उपस्थितिमा यस्तो जानकारी दिएको हो भने भीमेश्वर नगरपालिकामा रुजु गर्ने कर्मचारीका लागि तालिम समेत सञ्चालन गरिसकेको छ । रुजु गर्न वडा सचिवहरूलाई नै जिम्मेवारी दिएको छ । असार पहिलो सातादेखि आवश्यक जनशक्ति परिचालन गरी दोलखाका नौवटै स्थानीय तहका ७४ वटै वडामा पुगेर सबै नागरिकको राष्ट्रिय परिचयपत्र असोजसम्म बनाइसक्ने गरी तयारी थालिएको छ ।
विभागले अहिलेसम्म अनलाइन र अफलाइनको ७३ लाख फाराम भरेको छ भने ३१ लाख काड छापिसकेको छ । ३२ जिल्लामा अभियान पूरा भएको छ भने १३ जिल्लामा अहिले अभियान सञ्चालन भइरहेको छ । छापिएको कार्ड अब चाँडै वितरण गर्ने विभागको लक्ष्य छ ।
राष्ट्रिय परिचयपत्रका लागि जिल्ला प्रशासन कार्यालयमा रातभर लाइन बस्नुपर्ने अवस्था आएपछि दुई महिनाअघि दुईवटा टेलर स्थापना गरेको थियो । नागरिकता, राहदानी, जग्गा धनीपुर्जा, मतदाता परिचयपत्र लगायतका दुई दर्जन बढी परिचयपत्रको सरकारले एकीकृत रूपमा राष्ट्रिय परिचयपत्र वितरण गर्न थालेको हो ।
जिल्ला सदरमुकाम चरिकोटमा डाटा सेन्टर स्थापना गरी हरेक वडामा विभागले आवश्यक उपकरणसहित टोली परिचालन गर्ने र तोकिएको अवधिभित्रै प्रक्रिया पुगेका सबै नागरिकलाई राष्ट्रिय परिचयपत्र उपलब्ध गराउने तयारी भएको छ ।
स्थानीय जनप्रतिनिधिहरूले पनि अभियानमा पूर्ण साथ दिने प्रतिबद्धता गरेका छन् ।
सरकारले पहिलो चरणमा राहदानी बनाउनका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेकाले जिल्ला प्रशासनमा भीड लाग्ने गरेको छ । तर आकस्मिक रूपमा परिचयपत्र चाहिनेका लागि सरकारले काठमाडौंमा पनि व्यवस्था गरेको छ । राष्ट्रिय परिचयपत्रमा नागरिकका सम्पूर्ण जैविक तथा वैयक्तिक विवरण संकलन गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्